२०८२, चैत्र १० गते

Mar 24 2026 | २०८२, चैत्र १० गते

प्रथम बटौली कप : बुद्ध स्पोर्टिङ र प्रोफेसनललाई सफलता

मंगलवार , चैत्र १०, २०८२

  • 685
    Shares
  • 685
    Shares
  • भैरहवा, १० चैत । प्रथम बटौली कप–२०८२ टी–२० क्रिकेट प्रतियोगिता मंगलबारका दुई खेलमा बुद्ध स्पोर्टिङ क्लब र प्रोफेसनल मास्टर्स–११ ले सफलता हात पारेका छन् । बुद्ध स्पोर्टिङले बुटवल–११ लाई ५२ रन र प्रोफेसनलले जेएन स्पोर्टस गोरखपुरलाई ४६ रनले पराजित गर्दै जीत हात पारेका हुन् ।

    पृथ्वीनारायण शाह स्पोर्टस प्रतिष्ठानको आयोजना, रुपन्देही क्रिकेट संघको व्यवस्थापन र बुटवल उपमहानगरपालिकाको सहयोगमा भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको बुद्ध स्पोर्टिङले ६ विकेट गुमाएर १ सय ८१ रन बनायो । उसका लागि अजित यादवले अविजित ६०, अमित अग्रहरीले ३३, सुभाष यादवले नटआउट २२, सुरज पौडेलले १३ र अनिल यादवले १० रन बनाए । बलिङमा बुटवल–११ का विभेष खातीले २ तथा सुदन श्रेष्ठ, सन्देश ज्ञवाली र आश्विन भट्टराईले १–१ विकेट हात पारे ।

    जवाफमा बुटवल–११ ले ६ विकेट गुमाएर १ सय २९ रन मात्रै बनायो । उसका लागि प्रवेश सारुले २७, रोहितकुमार पासवानले २५, युवराज सेन र शिवकुमार मौर्यले समान १६–१६ तथा आकाश अर्यालले १२ रन जोडे पनि जितका लागि पर्याप्त भएन । बलिङमा बुद्ध स्पोर्टिङका सुरज गुरुङ र अजय त्रिपाठीले २–२ तथा प्रवेज अन्सारी र अमित अग्रहरीले १–१ विकेट लिए । खेलमा अजित यादव प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

    त्यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले ९ विकेट गुमाएर १ सय १० रन बनायो । उसका लागि मनन खानले २७, कृष्ण कार्कीले २५, आरिफ अहमदले अविजित १७ र विष्णु कटरियाले १० रन बनाए । बलिङमा जेएनका विशाल त्रिपाठीले ३ तथा प्रशान्त, विवेक, जावेद आलम र आयुष पाण्डेले १–१ विकेट लिए । 

    प्रतिउत्तरमा जेएन १२ ओभर ४ बलमा अलआउट हुँदै ६४ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न बलिङमा प्रोफेसनलका विष्णु कटरियाले ३, कृष्ण पराजुलीले २ तथा निरज मौर्य, कृष्ण कार्की, करण यादव र जयप्रताप यादवले १–१ विकेट लिए । जेएनका विवेकले २२, विशाल त्रिपाठीले १५ र जावेद आलमले १० रन बनाए । खेलमा विष्णु कटरिया प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

    चैत १५ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरी १६ टीम सहभागी छन् । आयोजकका अनुसार प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले नगद २५ हजारसहित मेडल, म्यान अफ द सिरिजले ट्रफी र १० हजार, बेष्ट बलर र ब्याटरले ट्रफी र जनही ५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।