२०८२, चैत्र ८ गते

Mar 22 2026 | २०८२, चैत्र ८ गते

सिद्धार्थनगरले वर्गीकरण नभएको फोहोर संकलन नगर्ने

आइतवार , चैत्र ८, २०८२

  • 256
    Shares
  • 256
    Shares
  • भैरहवा, ८ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले दीर्घकालीन फोहोरमैला व्यवस्थापनका लागि फोहोरमैला वर्गीकरण भएपश्चात मात्र फोहोर उठाउने भएको छ । नगरपालिकाले सम्पूर्ण नगरबासीलाई २०८२ चैत १७ गतेसम्म आफ्नो पसल, होटल, निजी घर, संघ–संस्था र विद्यालय लगायतबाट उत्पादन हुने फोहोरहरु वर्गीकरण गर्न अनुरोध गरेको छ ।

    सो मितिसम्म फोहोर वर्गीकरण नगर्ने जुनसुकै निकायको फोहोर २०८२ चैत १८ गतेदेखि सिद्धार्थनगर नगरपालिकाले नउठाउने नगर कार्यपालिकाको निर्णय रहेको प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिनुभयो ।

    नगरपालिकाले कुहिने जैविक फोहोर : घरेलु फोहोरमैला (खाना पकाउँदा बाँकी रहेका अवशेष, भात, दाल, तरकारी तथा फलफूलका बोक्रा, सागसब्जी, पातिङ्गर, घाँस, चिया तथा कफीका अवशेष आदि कुहिने फोहोर) जस्ता सडिगली जाने प्रकृतिका घरायसी वस्तुहरु, नकुहिने (अजैविक) फोहोर ः प्लाष्टिक, पोलिथिन, रबर, कपडा, जुत्ता, ब्याट्री, विद्युतीय सामानहरुका अवशेष जस्ता सडिगली नजाने प्रकृतिका फोहोरहरु तथा नकुहिने (अजैविक) फोहोर ः सिसा, काँच, धातु, टिन लगायत सडिगली नजाने प्रकृतिका कवाडहरु वर्गीकरण गर्न अनुरोध गरेको छ ।

    उल्लेखित प्रकृतिका फोहोरहरु वर्गीकरण नगरिएमा नगरपालिकाले फोहोरमैला नउठाउने र सोको व्यवस्थापन स्वयं आफैले गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिनुभयो । फोहोरमैला जथाभावी सडकपेटी तथा सार्वजनिक स्थलमा फालेको पाइएमा कानून बमोजिम न्यूनतम रु. ५ हजारदेखि फोहोरको प्रकृतिअनुसार जरिवाना लाग्ने नगरपालिकाले जनाएको छ ।

    २०८२ चैत १८ गतेदेखि वर्गीकरण नभएको फोहोर संकलन नहुने हुँदा सम्पूर्ण नगरबासी, होटल÷पसल व्यवसायीहरु, विद्यालय र विभिन्न संघ–संस्थाहरुले फोहोर वर्गीकरण गर्ने कार्यमा सहयोग गर्नुहुन सिद्धार्थनगर नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकामा फोहोरमैला प्रशोधन केन्द्र निर्माण हुन सकेको छैन । नगरमा संकलित फोहोर अहिले सिद्धार्थनगर नगरपालिका–१ स्थित डण्डा खोला पुलको छेउमा फालिदै आइएको छ ।