बुधवार , फाल्गुण २०, २०८२
काठमाडौं, २० फागुन । काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।
बिहानैदेखि सवारीसाधन कुर्दा पनि टिकट नपाएको र ‘रिजर्भ’ गाडीले सर्वसाधारण नबोकेको उनीहरुले गुनासो गरेका हुन् । ओखलढुंगाका कुलबहादुर थापाले विद्यालयमा कार्यरत रहेकाले ढिलो बिदा पाएको र व्यक्तिगत सवारी साधन नभएकाले सार्वजनिक यातायातकै भर पर्नुपरेको बताउनु भयो । उहाँले बुधवार बिहानैबाट ओखलढुंगा जान गाडी कुरेपनि नपाएको बताउनु भयो ।
उहाँकाअनुसार अधिकांश गाडीमा ‘रिजर्भ’ लेखिएको छ र ती गाडीले सर्वसाधारण बोक्न मानेका छैनन् । बस काउन्टरमा जाँदा दल र उनीहरुका नेतासँग सम्पर्क गर्नुस्, टिकट पाइँदैन भनेर आफूलाई पठाएको र अब भोट हाल्न जान नपाइने अवस्था आएको थापाले गुनासो गर्नुभयो ।
सर्वसाधरण थापाले भन्नुभयो– ‘म एउटा स्कुलमा जागिर गर्छु । त्यो स्कुलले हिजोसम्म पनि बिदा दिएन । मेरो व्यक्तिगत साधन छैन । ओखलढुंगाका लागि आज २० गतेसम्म गाडीहरु पाइन्छन् भने सार्वजनिक यातायात चढेर भोट हाल्न घर जान खोजेको गाडी नै पाइएन । बिहान ४ बजेदेखि गाडी कुरेको अहिलेसम्मपनि गाडी पाइन । गाडीहरु रिजर्भ बाहेक केही लेखेको छैन । रिजर्भ गाडीहरुले हामीहरुलाई लगेनन् । बस काउन्टरमा जाँदा दल र उनीहरुका नेताहरु सम्पर्क गर्नुस् टिकट पाइँदैन भने । अब भोट हाल्न जान नपाइने भयो ।’
कास्कीका दिलिप महतले पनि राजनीतिक दलहरूले आफ्ना समर्थकलाई प्राथमिकता दिएर गाडी रिजर्भ गरेर लैजाँदा समस्या भइरहेको बताउनु भयो । उहाँकाअनुसार त्यसरी भोट हाल्न जानेहरुले पनि धेरै दुःख पाइरहेका छन् । दलहरुले सबैजसो गाडी रिजर्भ गर्दा भोटलिस्टमा नाम भएका आफ्ना पार्टीका मान्छेलाई मात्रै गाडी पठाएर लगिरहेको उहाँले बताउनु भयो । उहाँकाअनुसार सर्वसाधारणले सवारी नपाउँदा कतिपय मतदाता मतदानबाट वञ्चित हुने अवस्था देखिएको छ ।
महतले भन्नुभयो–‘हिजोआज उपात्यका छाड्नेहरु धेरै दुःखले भोट हाल्न गएका छन् । भोटलिस्टमा नाम भएका आफ्ना पार्टीका मान्छेहरुलाई मात्रै दलहरुले लिएर गएका छन् । आफ्ना पार्टीका मान्छेलाई मात्रै दलहरुले गाडी पठाएर लगिरहेका छन् । धेरै सर्वसाधरणले भोट हाल्न जान सबारी नै पाएका छैनन् । जसकारण कतिपय भोट हाल्न जान नपाउने अवस्था छ ।’
रामेछापका कुमार बस्नेतले भने सिट नपाएपनि गाडी भने पाइएको बताउनु भयो । राजनीतिक दलका नेताहरुले रिजर्भका गाडीमा जानुपर्छ भने पनि आफूले अस्वीकार गरेको बताउनु भयो । बिना टिकट पनि गाडी पाइएको र आफू भोट हाल्न गाउँ जान लागेको उहाँले सुनाउनु भयो ।
बस्नेतले भन्नुभयो–‘मैले भोट हाल्न घर जानका लागि टिकट काटेको थिइन । पार्टीहरुले हाम्रा गाडीहरुमा जानुपर्छ भनेका थिए तर म गइन । तर बिना टिकट पनि गाडी पाएँ । भोट हाल्न घर जाँदैछु ।’
सरोकारवालाहरुकाअनुसार निर्वाचनको मुखैमा सार्वजनिक यातायात व्यवस्थापन र दलहरूको संलग्नताबारे उठेका यी गुनासोप्रति सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिएको छ । सर्वसाधारण मतदाताले सहज रूपमा मतदान केन्द्रसम्म पुग्न पाउने अधिकार सुनिश्चित गर्न यातायात व्यवस्थापन पारदर्शी हुन जरुरी छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij