सोमवार , फाल्गुण १८, २०८२
भैरहवा, १६ फागुन । आम जनता पार्टी (आजपा) का नेता तथा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राधेश्याम गुप्ताले रुपन्देहीसहित समग्र लुम्बिनीको विकासको जिम्मेवारी अब आजपाले लिने बताउनुभएको छ ।
भैरहवामा घरदैलो तथा भेटघाटका क्रममा गुप्ताले समग्र लुम्बिनीको विकासका लागि आम जनताले आजपालाई मतदान गर्न तयार रहेको बताउनुभयो । ‘स्थिर, सुशासन र विकासका लागि अबकी बार आजपा सरकार । जनउतरदायी लोकतान्त्रिक अभ्यास र सिस्टम सुधार एवं सुशासनका आधार नै मोबाइल छाप हो । दलतन्त्रविरुद्ध आम जनताको सरकार अहिलेको आवश्यकता हो,’ गुप्ताले भन्नुभयो ।
अहिलेको सिस्टम सुधार, भ्रष्टाचार, कुशासन, सरकारपिच्छेको मनोमानी कर आतंक, अनियमितताको अन्त्यका साथै गुणस्तरीय शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी, खानेपानी लगायतको विकास एवं निःशुल्क सेवा लागि सबै पार्टीमा भएका राम्रा मान्छेहरु एकजुट भएर आजपाका उम्मेदवारलाई जिताउनुपर्ने उहाँको भनाइ छ । रुपन्देहीको पाँचवटै क्षेत्रमा रहेका उम्मेदवारहरुले चुनावी गतिविधिलाई तीव्रता दिदै घरदैलो अभियानमा जुटेको आजपाले जनाएको छ ।
रुपन्देही–१ बाट बदरु दोजा फकिर, ३ बाट राधेश्याम गुप्ता, ४ बाट ज्योति थापा र रुपन्देही–५ बाट खेमप्रसाद गुरुङले मतदाता भेटघाट एवं छलफललाई तीव्रता दिनुभएको हो ।
रुपन्देहीको समग्र विकासका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउने, बेलहिया नाका व्यवस्थित बनाउने, उद्योग व्यवसायलाई चलायमान बनाउँदै
स्वदेशमै रोजगारीको सिर्जना गर्ने लगायतका विषय आजपाका उम्मेदवारले एजेण्डाको रुपमा अगाडी सारेका छन् । आजपाका उम्मेदवार विजयी भए र पार्टीको सरकार बनेपछि शिक्षा, स्वास्थ्य, बिजुलीबती, खानेपानी लगायतका सम्पूर्ण सेवाहरु निशुल्क उपलब्ध गराउने प्रतिबद्धता आजपाले घोषणापत्रमा उल्लेख गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij