सोमवार , फाल्गुण १८, २०८२
काठमाडौं, १८ फागुन । बिहीवार हुने प्रतिनिधि सभा निर्वाचनका लागि सोमबार अर्थात् आज राती १२ बजेपछि निर्वाचन प्रचारप्रसार निषेध अर्थात मौन अवधि शुरु हुँदैछ ।
मतदान अघिको ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जलेसम्म आयोगले प्रचारप्रसार निषेध अवधि तोकेको छ । निर्वाचन व्यवस्थापनका क्रममा यो अवधिको विशेष अर्थ र महत्व रहन्छ ।
यो अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदाता लगायत सरोकारवाला सबै पक्षले पालना गर्नुपर्ने विशेष आचरण तोकिएको छ । कुनैपनि निर्वाचनमा उम्मेदवारी मनोनयन पछि औपचारिक रूपमा प्रचारप्रसार अवधि तोक्ने गरिन्छ ।
आयोगले ४ गतेदेखि १८ गते सम्मका लागि निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको थियो । न्युज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले दल तथा उम्मेदवारको दबाबबाट मुक्त भई मतदाताले आफ्नो विवेकको निर्णय आफ्नै अन्तरआत्माले स्वतन्त्रतापूर्वक गर्ने अवसरको निम्ति प्रचारप्रसार निषेध वा मौन अवधि तोकिने र यसले स्वच्छ प्रतिष्पर्धालाई प्रवद्र्धन गर्ने बताउनु भयो ।
निर्वाचन प्रचार अभियानलाई केवल विजयी हुने साधनका रूपमा मात्र नलिई आम मतदाताको मन जित्ने संस्कारयुक्त प्रक्रियामा परिणत गर्नुपर्ने मान्यताअनुसार मतदाताहरूले शान्त वातावरणमा बसेर उपयुक्त उम्मेदवार चयन गरुन् भन्ने मनशायमा विश्वव्यापी रुपमा नै मतदान अघिको केही समयलाई प्रचारप्रसार निषेध गर्ने प्रचलन रहेको उहाँले बताउनु भयो ।
मौन अवधिका लागि तोकिएका आचरण अक्षरशः पालना गर्दा त्यसबाट राजनीतिक दल, उम्मेदवार एवं सरोकारवाला सबैबाट निर्वाचनको स्वच्छता र निष्ठा प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास आयोगले लिएको उहाँले स्पष्ट पार्नुभयो । प्रचारप्रसार निषेध अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन ।
मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउन पनि सम्बन्धीत दललाई निर्देश गरेको छ । यो अवधिमा राजनीतिक दल तथा उम्मेदवार, दलका भ्रातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरेका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्छ ।
कार्यवहाक प्रमुख आयुक्त भण्डारीले प्रचार प्रशार निषेध अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनैपनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार सामग्री पोष्ट गरेको पाइए कारवाही हुने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो ‘फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि निर्वाचनको व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न भइसकेको छन् । मतदान अधिकृतहरु पनि मतदान केन्द्र र स्थलमा गइसक्नुभएको छ । मतदानको प्रक्रियाका लागी आवश्यक सामग्रीहरु पनि सबै पुगिसकेका छन् ।
हरेक निर्वाचनको अगाडी संसारमा नै एउटा सैद्धान्तिक रुपमा के स्वीकार गरिएको छ भने निश्चित केही समय मौन रहनुपर्छ । निर्वाचन ऐन नियमले मौन भन्ने शब्द प्रयोग नगरेको हुनाले मैले शुन्य समय भनेर शब्द चयन गर्ने गरेको छु । मतदान शुरु हुनुभन्दा ४८ घण्टा अगाडीलाई हाम्रो मुलुकको कानुनले मौन अवधी तोकेको छ ।
त्यो समयमा चाँही शान्त, स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नको लागि मतदानको प्रक्रिया शुरु हुनुभन्दा अगाडी शान्ति छाओस् । त्यो शान्तिले मतदान प्रक्रियामा सहज बनाओस्, भनेर शान्तिको कामना गरिएको हुन्छ । आज १८ गते राती १२ बजेबाट मौन अवधि शुरु हुन्छ ।
यो मतदानको प्रक्रिया शुरु भएर सम्पन्न नभएसम्म कायम रहन्छ । मौन अवधि राख्नुपर्ने कारण के हो भने निर्वाचनमा दल, दलका उम्मेद्वार, कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तक जतिले प्रचारप्रसार गर्ने लगायतका काम जिम्मा लिनुभएको छ । त्यो सबै काम छोड्नुपर्छ र मौन धारण गरेर बस्नुपर्छ ।
उहाँहरुले कुनैपनि निर्वाचन प्रचारप्रसारको सामाग्रीहरु तुल, पोष्टरहरु राखेको छ भने त्यो पनि हटाईदिनुपर्छ । सामाजिक सञ्जालमा कुनै उम्मेद्वारलाई सर्मथन गर्ने, कुनै उम्मेद्वारलाई मत माग्ने, कुनै उम्मेद्वार चाहीँ ठीक छैन भनेर उसलाई तिरस्कार गर्ने लगायतका विषयवस्तु प्रकाशित गरिएको छ भने त्यो सबै हटाउनुपर्छ । अझ दल र दलका उम्मेद्वारले आफ्ना मतदान स्थलको ३ सय मिटर वरिपरि निर्वाचन प्रसारप्रसारका सामग्री राख्नुभएको छ भने त्यसलाई हटाएर एकदम स्वच्छ र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न हुन्छ भन्ने सोच राखेर आफूले राखेका सामाग्री हटाउनुपर्ने हुन्छ ।
मौन अवधिमा झ्याल अथवा जस्केलाबाट हुने काम अझ बढी हुन्छ भन्ने कुरो विभिन्न ठाउँमा चर्चा परिचर्चा छ । त्यस्ता अनियमित काम गर्न जो उद्धत हुन्छन्, ती व्यक्तिहरु पहिचान गरेर यदी त्यस्तो काम भएको छ भने हामीलाई जानकारी दिनुस् भने आयोगले पटकपटक सरोकारवाला सबैमा आग्रह गर्दै आएको छ ।
यदी आयोगले त्यस्तो जानकारी पायो, कुनै कानूनले निषेध गरेको कुरा भयो र वस्तुगत प्रमाणले ठहर ग¥यो भने उहाँको मनोनयनपत्र खारेज गर्छौं, विजयी, पराजयी जे भएपनि उहाँको उम्मेद्वारी खारेज गर्छौं र त्यो भन्दा पछाडी ६ वर्ष कुनैपनि चुनिने प्रक्रियामा उहाँ सहभागी हुन नपाउनेगरि हामी व्यवस्था गर्छौं । त्यसैले सबै सरोकारवालाहरु जो उम्मेद्वारहरु मनोनयन दाखिल गरेर निर्वाचन प्रचारप्रसार गरेर मतदान प्रक्रियामा सहभागी हुनुहुन्छ, उहाँहरुले यस्तो काम गर्ने प्रयास गर्दै गर्नुहुन्न ।
गर्नुहुन्न भन्ने नै आयोग विश्वास गर्दछ । यदी त्यस्तो भयो भने त्यसमा शुन्य शहनशिलता हुन्छ । सबै सरोकारवालाहरुले जहाँ, जस्तो जे पाउनुहुन्छ, सुचना निर्वाचन आयोगलाई दिनुस् । त्यस्ता विषयमा कारबाही गर्न निर्वाचन आयोग पछि हट्दैन । अब जहाँसम्म सामाजिक सञ्जालका पेचिला सवालहरु आए, हामी शुरुदेखि नै यसमा सचेत छोँ ।
कसैले समाजिक सञ्जाललाई गलत ढंगले परिचालन गरेर आफ्नो निश्चित उदेश्य पूरा गर्नको लागी सामाजिक सञ्जालमा प्रचारप्रसार गर्नुभएको छ भने त्यो हटाईदिनुस् भनेर हामीले पटकपटक आग्रह गरेका छौँ । मौन अवधीको समयमा झन त्यस्ता सामाग्रीहरु प्रकाशन भयो भने त्यो स्रोतको खोजी गरेर,कहाँबाट त्यो प्रवाह भएको छ, त्यो स्रोतलाई नै कारबाही गर्ने हाम्रो लक्ष्य रहेको छ ।
कुनैपनि क्षेत्रबाट मौन अवधिमा सामाजिक सञ्जालमार्फत गलत क्रियाकलाप हुन्छ भन्नेकुरा आयोगले विश्वास गर्दैन । सबै सरोकारवालाहरु सचेत भएर पहिला सामाजिक सञ्जालमा संप्रेषण भएको समाचार सही हो की गलत हो त्यो छुट्याईदिनुुस् । गलत रहेछ भने त्यसको विश्वास नगर्नुस् ।
अन्तिममा उम्मेद्वाहरुले विभिन्न हल्लाहरु पनि चलाउन सक्छन्, शुभेच्छुक र शुभचिन्तकहरुले त्यस्ता सामग्रीहरुको दुरुपायेग पनि गर्न सक्छन् । यदी त्यस्तो दुरुपयोग भएको छ भने उम्मेद्वार र सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पनि सजायको भागिदार हुनुपर्छ । सबैले अनुशासनको लयमा बसेर कार्यसम्पादन गरिदिनुस्, मौन अवधिलाई मौन नै बसेर स्वीकार गरिदिनुस् ।
स्वच्छ भएर, सोचेर मतदान कार्यमा सहभागी हुनुस् । मतदानको कार्य सम्पन्न भएपनि आयोगले जतिसक्दो छिटो मतपेटिका संकलन गरेर मतगणणा गरी नतिजा प्रकाशन गर्नेछ । मैले त मतदान सम्पन्न भएको २४ घण्टामा नतिजा प्रकाशन भइसक्छ भन्ने गरेको छु ।’
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मतदान केन्द्र रहेको स्थान वरिपरि शान्ति भंग गर्ने वा निर्वाचन वातावरण बिथोल्ने गतिविधि गरे प्रचलित कानूनअनुसार कारबाही गरिने जानकारी दिनुभयो ।
यस अवधिमा कुनै सार्वजनिक प्रचारप्रसार, राजनीतिक विज्ञापन, सामाजिक सञ्जालमा प्रचार, कुनै किसिमको सन्देश संप्रेषण लगायत निर्वाचन प्रचारसँग सम्बन्धित कार्य गर्न निषेध गरिएको छ । सार्वजनिक भोज भतेर गर्न, नाचगान, जुलुस प्रदर्शन, सभा, समारोह गर्न तथा होहल्ला गर्न पाइनेछैन । भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने गरि शान्ति भंग गर्ने कुनैपनि गतिविधि भए संलग्नमाथि कारवाही हुने आयोगले जनाएको छ ।
यो अवधिमा मतदान केन्द्र निर्माण लगायत अन्य बाँकी व्यवस्थापकीय कार्य गर्ने समय प्राप्त हुने भएकाले आयोगका लागि पनि यो अवधिको महत्व रहन्छ । आयोगले मौन अवधिको आचारसंहिता अक्षरशः पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ । साथै यो अवधिलाई मतदाताले शान्त भएर आफ्नो निर्णय गर्ने अवसरका रुप लिई सहज वातावरण निर्माणमा सहयोग गर्न सबैलाई अपिल गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij