आइतवार , फाल्गुण १७, २०८२
भैरहवा, १७ फागुन । रोटरी क्लब अफ भैरहवा र लुम्बिनी म्याक्स हस्पिटल प्रा.लि. को संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ओमसतिया गाउँपालिका–४ मा अवस्थित लुम्बिनी म्याक्स हस्पिटल प्रा.लि.को प्रांगणमा ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।
रोटरी क्लव अफ भैरहवाका अध्यक्ष कमल कोइराला तथा लुम्बिनी म्याक्स हस्पिटलको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति रामचन्द्र उपाध्यायको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि उपाध्यायले सामाजिक कार्यमा लागेको रोटरी क्लबले रक्तदान जस्तो पुनित कार्य गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । रगतले कसैको जीवन बचाउने भन्दै एक आर्थिक वर्षमा १ सय पिन्टसम्म रक्त संकलन गर्ने क्लब वा संघ–संस्थाहरुलाई रेडक्रस सोसाईटीले सम्मान समेत गर्ने उहाँले जानकारी गराउनुभयो ।

कार्यक्रममा रोटरी क्लबका ए.जी. जितेन्द्रनाथ शर्मा, निवर्तमान अध्यक्ष राम प्रसाद पन्थी, पवन पौडेल, उमेशचन्द्र आचार्य, रोट्रयाक्ट क्लब अफ भैरहवाका अध्यक्ष आकृति पाण्डे, मञ्जु शर्मा, हस्पिटलका अध्यक्ष डा. प्रविन जोशी, रोटरीयनका साथै रक्तदाताहरुको सहभागीता थियो । कार्यक्रममा ३१ पिन्ट रगत संकलन गरिएको कार्यक्रम संयोजक पवन पौडेलले जानकारी दिनुभयो ।
लुम्बिनी म्याक्स हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक डा. राम प्रसाद बस्यालको स्वागत तथा रोटरी क्लब अफ भैरहवाका सचिव सुमन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij