आइतवार , फाल्गुण १७, २०८२
मर्चवार, १७ फागुन । रुपन्देही क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी उत्कर्षमा पुगेका बेला जनमत पार्टीले आमसभा सम्पन्न गरेको छ । मर्चवारको मुख्य केन्द्र मझगावामा आयोजित सभामा हजारौंको संख्यामा उपस्थित युवा समर्थक, किसान तथा स्थानीय सर्वसाधारणले जनमत पार्टी र उम्मेदवार भोपेन्द्र प्रसाद यादवको पक्षमा ऐक्यबद्धता जनाएका छन् ।
रुपन्देही क्षेत्र नम्बर ४ मा जनमत पार्टीको राम्रो सांगठनिक पकड समेत रहेको नेता-कार्यकर्ता बताउँछन् । जनमत पार्टीबाट रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार भोपेन्द्र प्रसाद यादवले सभालाई सम्बोधन गर्दै भन्नुभयो–‘हामीले शान्तिपूर्ण रूपमा आफ्ना एजेण्डा राख्न खोज्दा प्रशासन प्रयोग गरेर रोक्न खोजियो । तर, मर्चवारका जनताले आज प्रमाणित गरिदिए कि अब परिवर्तनको लहर कसैले रोकेर रोकिँदैन ।’
यादवले आफूहरु गफ नगर्ने तर, किसानले खेती गर्ने बेला सास्ती खेप्नुपर्ने अवस्थाको अन्त्य गर्न वडामै मल भण्डारण केन्द्र बनाउने, सिमानामा किसानले भोग्नुपर्ने सुरक्षाकर्मीको दुव्र्यवहार र सास्ती अन्त्य गर्ने बताउनुभयो । उहाँले मर्चवार लिफ्ट सिंचाइलाई पूर्ण क्षमतामा चलाउने र किसानलाई विद्युतको महसुलमा छुट दिने योजना लगायतका विषयलाई प्राथमिकता दिने बताउनुभयो ।
मर्चवारी–१ का स्थानीय श्रीराम यादवका अनुसार शनिबार सभामा देखिएको जनसहभागिताले रुपन्देही–४ मा परम्परागत शक्तिहरूलाई ठूलो चुनौती दिएको छ । विशेष गरी युवा र किसानहरू ‘हर्न’ (लाउड स्पिकर) छाप लिएर मैदानमा उत्रिएका भोपेन्द्र यादवको पक्षमा गोलबन्द देखिएको उहाँको भनाइ छ । यसअघि नेपाली कांग्रेसका आशुतोष मिश्र र जसपाका सर्वेन्द्रनाथ शुक्लाबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि आजको सभाले भोपेन्द्र प्रसाद यादवलाई मुख्य प्रतिष्पर्धीको रूपमा बलियोसँग उभ्याएको जनमत पार्टीको दावी छ ।
तुलनात्मक रूपमा यो निर्वाचन क्षेत्र रुपन्देहीको कम विकसित क्षेत्र मानिन्छ । यहाँ २०७९ सालमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट सर्वेन्द्रनाथ शुक्ला निर्वाचित हुनुभएको थियो । त्यतिबेला नेपाली कांग्रेसका प्रमोद कुमार यादव दोस्रो र जनमत पार्टीका भोपेन्द्र प्रसाद यादव तेस्रो स्थानमा रहनुभएको थियो ।
उक्त निर्वाचनमा नेकपा (एमाले) ले आफ्नो उम्मेदवार नउठाएर जसपा नेपाललाई सघाएको थियो । समानुपातिक मततर्फ लोकतान्त्रिक समाजवादी पार्टीले त्यतिबेला २२ हजार ३७ मत प्राप्त गरेको थियो । त्यस्तै नेपाली कांग्रेसले १८ हजार ८३२, जनमत पार्टीले १६ हजार ४५८, एमालेले २ हजार ८२३ र रास्वपाले एक हजार ६५७ मत प्राप्त गरेका थिए । त्यो बेला लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रदेश सभातर्फ निर्वाचित कन्हैया बनियाँ प्रदेश सभाबाट राजीनामा दिएर अहिले रास्वपाबाट उम्मेदवार बन्नुभएको थियो ।
विगतका निर्वाचन परिणामलाई हेर्ने हो भने यहाँ एमालेको खासै संगठन देखिँदैन । यो निर्वाचनका लागि एमालेले उम्मेदवारी मनोनयन दर्ताको केही अघिमात्र कांग्रेसका नेता प्रमोद यादवलाई पार्टी प्रवेश गराएर उम्मेदवार बनाएको हो । रास्वपाका उम्मेदवार बनिया र एमालेका उम्मेदवार यादव अन्तिम समयमा आफ्नो साविकको पार्टी त्यागेर उम्मेदवार बन्नुभएको हो।
जनमत पार्टीका राष्ट्रिय सचिव समेत रहनुभएका भोपेन्द्र प्रसाद यादवले अघिल्लो निर्वाचनमा आफू तेस्रो भए पनि अहिले पहिलो बन्ने आधार रहेको बताउनुुन्छ । आफू वर्षौंदेखि निरन्तर निर्वाचन क्षेत्रमा खटिरहेको उल्लेख गर्दै उहाँले मतदाताको विश्वास पाइरहेको दावी गर्नुभयो । २०४८ सालदेखि निरन्तर उम्मेदवार बन्दै आउनुभएका पूर्वमन्त्री शुक्ला आठौंपटक चुनावी मैदानमा हुनुहुन्छ । मर्चवारको विकासमा आफूले गरेको योगदान नै जीतको आधार रहेको उहाँको दावी छ ।
अघिल्लो निर्वाचनमा निर्वाचित शुक्लाको मत अहिले उहाँकै पार्टी छाडेर रास्वपामा जानुभएका बनियाले काट्दा त्यसको लाभ आफूलाई हुने यादवको भनाइ छ । पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी) अहिले जनमत पार्टीमा आएपछि आफूलाई थप सहज भएको उहाँले बताउनुभयो ।
२२ जना उम्मेदवार प्रतिष्पर्धामा रहेको यस क्षेत्र मधेशी समुदायको बाहुल्यता छ । यो निर्वाचन क्षेत्रको अधिकांश भूभाग भारतको सीमासँग जोडिएको छ । मर्चवारीमाई, कोटहीमाई, सम्मरीमाई पूरै र मायादेवी गाउँपालिकाका अधिकांश वडा र लुम्बिनी साँस्कृतिक नगरपालिकाका केही वडा यस क्षेत्रमा पर्छन् । यहाँ १ लाख १६ हजार १ सय ७२ मतदाता छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij