२०८२, फाल्गुण १६ गते

Feb 28 2026 | २०८२, फाल्गुण १६ गते

जनसमर्थनले जीत नजिक छौं : विश्वदीप पाण्डे

शनिवार , फाल्गुण १६, २०८२

  • 208
    Shares
  • 208
    Shares
  • बुटवल, १६ फागुन । रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विश्वदीप पाण्डे ‘सुवास’ ले शनिबार बुटवल उपमहानगरपालिका वडा नम्बर १२ र १३ का विभिन्न वस्तीमा आफ्नो पक्षमा मत माग्दै घरदैलो गर्नुभएको छ ।

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता पाण्डेले सयौं नेता–कार्यकर्तासँगै घरदैलोमा पुग्दा आफूहरुले पाएको जनसमर्थन, माया र उत्साहले आफूहरु जीत नजिक पुगेको बताउनुभयो ।
    अबका सीमित दिनहरु विजयका लागि निकै महत्वपूर्ण रहेको भन्दै उहाँले मतदान सम्पन्न नहुँदासम्म मतदाता अत्यन्तै चनाखो रहनुपर्ने उल्लेख गर्नुभयो । घरदैलोका क्रममा बुटवलका वडा नम्बर १२ र १३ का विभिन्न टोल र वस्तीमा पुगेका उम्मेदवार पाण्डेले मतदातालाई आफ्नो भोट सुरक्षित गर्दै मतदान गरेर अग्रगामी परिवर्तनको पक्षमा उभिन आग्रह समेत गर्नुभयो ।

    रुपन्देही–२ निर्माणका लागि आफूलाई मतदान गरेर नेतृत्वको जिम्मेवारी दिने बेला नजिक आइपुगेको भन्दै उहाँले दीर्घकालीन हितका लागि सचेत र विवेकपूर्ण निर्णय लिन अपील गर्नुभयो ।
    उम्मेदवार विश्वदीपले घरदैलोका क्रममा विकास र सुशासनका विषयमा स्पष्ट धारणा राख्दै जनताका समस्या सुन्नुभएको छ  । यसपटकको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ का जनताले नेतृत्व परिवर्तनको पक्षमा स्पष्ट रुपमा अभिमत प्रकट गर्न चाहेको उल्लेख गर्दै उहाँले परिवर्तनलाई संस्थागत गर्ने ऐतिहासिक दिन फागुन २१ गते विवेकपूर्ण निर्णय गर्न आग्रह गर्नुभयो ।
    उम्मेदवार पाण्डेले घरदैलो अभियान अन्तिम चरणमा पुगे पनि जनताका दुःख–सुखमा साथमा रहने दिनहरु भने अब सुरु भएको धारणा राख्नुभयो ।

    घरदैलोको क्रममा नागरिकले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारजस्ता आधारभूत क्षेत्रमा ठोस परिवर्तनको अपेक्षा राखेको पाइएको निर्वाचन परिचालन समितिका संयोजक नारायण जी.सी. निर्मलले बताउनुभयो । निरन्तर घरदैलोमा रहेका नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले आज शनिबार बुटवल क्षेत्रका वडा नम्बर १२ र १३ का टोल–टोल र वस्तीमा पुग्दै मत मागेका छन् । उम्मेदवार घरदैलोमा पुग्न नसकेका ठाँउमा स्थानीय कार्यकर्ताले मतदाताको घरमा पुगेर आफ्ना उम्मेदवारको पक्षमा सहयोग मागेका हुन् ।

    झण्डा, माईक, ब्यानर र प्रतिवद्धतापत्रसहित मतदाताका टोल–टोल र घर–घरमा पुगेर चुनावी एजेण्डा प्रस्तुत गर्ने गरिएको संयोजक जी.सी.ले बताउनुभयो । प्रत्येक दिन हरेक वडा र टोलमा उम्मेदवार नपुगे पनि घरदैलो अभियान जारी रहेको उहाँले उल्लेख गर्नुभयो ।