शुक्रवार , फाल्गुण १५, २०८२
भैरहवा, १५ फागुन । चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूको भीडमा यतिबेला रुपन्देही–३ मा एउटा यस्तो पात्र चर्चामा हुनुहुन्छ, जो नागरिकका घरदैलोमा पुग्दा केवल भोट माग्नुहुन्न, बरु उनीहरूका दुःख सुन्दा आँसु पुछ्छन् र समस्या सुन्दासुन्दै भावुक बन्नुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाका लागि यो चुनावी अभियान केवल सत्ताको यात्रा नभइ समाजको पीडा बुझ्ने एउटा संवेनदशील ‘पाठशाला’ बनेको छ ।
क्षेत्रका ३६ वटै वडाका टोल र बस्ती पुग्दा डा. थापालाई कहिले उम्मेदवारको रूपमा त कहिले एउटा अभिभावकको रूपमा स्वागत गरिन्छ । डा. थापाको यो अभियानमा जनस्तरबाट कस्तो समर्थन छ भन्ने कुरा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का मनिष श्रेष्ठको भनाइले प्रष्ट पार्छ । डाक्टर साबको भिजन र व्यक्तित्वबाट प्रभावित मनिष भन्नुहुन्छ–‘हामीले वर्षौँदेखि नेता चुन्यौं । तर, यसपटक एउटा अभिभावक पाउँदैछौं । डाक्टर साबको उपस्थितिले नै हामीमा अब केही परिवर्तन हुन्छ भन्ने ठूलो आशा जगाएको छ ।’
भरोसाको यो कडी सियारीसम्म पुग्दा अझ भावुक बन्छ । सियारी गाउँपालिका वडा नम्बर २ का समरेश कहारले डाक्टर साबलाई आफ्नो आँगनमा देख्नेबित्तिकै एउटा यस्तो अभिव्यक्ति दिनुभयो, जसले त्यहाँ उपस्थित सबैलाई स्तब्ध बनायो । उहाँले डा. थापाको निस्वार्थ सेवाभाव र इमान्दारिताप्रति अटुट विश्वास पोख्दै भन्नुभयो–‘डाक्टर साब जस्तो मान्छे हाम्रो क्षेत्रमा आउनु हाम्रो अहोभाग्य हो ।’
यस्ता मनछुने कुरा र नागरिकको अगाध प्रेमले डा. थापाको गला कयौँ पटक अवरुद्ध भएको छ । राजनीतिमा दाउपेच र चर्का भाषण सुनिने बेला यहाँ भने एउटा अनौठो आत्मियता छाउँछ । समर्थकहरूले ‘समय ढिलो भयो, अर्को टोल जानु छ’ भन्दै इसारा गर्छन् । तर, डाक्टर साबको मनले मान्दैन । उहाँ चुनावी हतारो बिर्सिएर त्यहीँ आँगनको डिलमा बस्नुहुन्छ र नागरिकका सानाभन्दा साना कुरा सुन्न थाल्नुहुन्छ । कहिले बिरामीको नाडी छाम्नुहुन्छ त कहिले औषधि खाने तरिका सिकाउनुहुन्छ ।
क्षेत्रका वडा–वडा चाहार्दा उहाँले केवल स्वास्थ्यको समस्या मात्र भेट्नुभएन समाजले भोगेको गरिबी, लालपूर्जाबिहीनको छटपटी र बेरोजगारीको पीडा पनि देख्नुभयो । नागरिकका यस्ता मर्मस्पर्शी समस्या सुनेपछि डा. थापा आफै भावुक बन्नुहुन्छ । आफ्नो यो अनुभवबारे उहाँ भन्नुहुन्छ–‘मैले अस्पतालको कार्यकक्षमा बसेर बिरामीको दुःख त बुझेकै थिएँ, तर यो घरदैलोले मलाई समाजको वास्तविक पीडासँग साक्षात्कार गरायो । यसरी नागरिकका समस्या प्रत्यक्ष बुझ्दा मलाई संसदमा पुगेर नीति बनाउने बेला ठूलो सहयोग पुग्नेछ । पहिले त जनताको मर्म बुझ्नुपर्यो, अनि मात्र उनीहरूको हकमा आवाज उठाउन सकिन्छ ।’
उहाँको झोलामा रहेको ‘लग बुक’ मा अहिले औषधिको नाम होइन, नागरिकका सपना र सास्तीका बुँदाहरू टिपिएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शून्य आकाश देख्दा होस् वा गरिबको रित्तो चुल्हो, डा. थापाको मनमा एउटा स्पष्ट ‘ब्लुप्रिन्ट’ कोरिएको छ । मनिष र समरेश जस्ता हजारौं नागरिकको यो निस्वार्थ भरोसा र डा. थापाको संकल्पले यतिबेला रुपन्देही–३ मा नयाँ उत्साह थपेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij