२०८२, फाल्गुण १५ गते

Feb 27 2026 | २०८२, फाल्गुण १५ गते

रास्वपा–नेकपा छाडेका साढे तीनसय जना एमालेमा प्रवेश

शुक्रवार , फाल्गुण १५, २०८२

  • 214
    Shares
  • 214
    Shares
  • बुटवल, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहित विभिन्न पार्टीमा रहेका सैनामैना र बुटवलको वडा नम्बर १२ र १३ बाट साढे तीनसय जनालाई नेकपा (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलले पार्टीमा प्रवेश गराउनुभएको छ । शुक्रबार बुटवल उपमहानगरपालिकाको वडा नम्बर १२ र १३ बाट र दिउँसो सैनामैनाको विभिन्न वडाबाट साढे तीनसय जनालाई पार्टी प्रवेश गराइएको एमाले रुपन्देही जिल्ला उपसचिव बाबुराम पन्थीले जानकारी दिनुभयो ।

    सैनामैना क्षेत्रबाट प्रवेश गर्ने ३ सयजनाको संयोजन वडा नम्बर १ शाखा कमिटीका उपाध्यक्ष चक्र शाहीले गर्नुभएको थियो । आफ्नो क्षेत्रमा रहेका रास्वपा, नेकपासहितका विभिन्न दलमा आस्थावानहरुले एमालेप्रति भरोसा गरेर प्रवेश गर्न चाहेकाले संयोजन गरेर पार्टी कार्यालयमा ल्याएको र उपाध्यक्ष विष्णु पौडेलमार्फत पार्टीमा स्वागत गराएको उहाँको भनाइ छ । ‘भूमिहीन, लालपूर्जाबिहीनहरुको भरोसाको पार्टी बनेको छ, नयाँ जेनजीहरु जो भ्रममा परेर बसेका थिए उनीहरु पनि आजको प्रवेशमा सहभागी छन्, पार्टी नेतृत्वले यी कार्यकर्ताको मनोभावना बुझेर अघि बढोस्, आज प्रवेश गरेकाहरुलाई पार्टीमा उचित जिम्मेवारी दिएर काममा खटाउन सकोस्’ उहाँले भन्नुभयो ।

    उनीहरुलाई पार्टीमा स्वागत गर्दै उपाध्यक्ष पौडेलले विभिन्न हल्लाका कारण एमालेको जिम्मेवारीमा नरहेकाहरुले आफैले नै पार्टी प्रवेश गरेर बलियो एमाले बनाउन चाहेकोमा निकै खुसी लागेको बताउनभयो । अब त्यो क्षेत्रको भरोसा गर्नेखालको काम गरेर देखाउने उहाँले बताउनुभयो । ‘मैले यहाँ आएका जेनजी उमेरका, पाकापुस्ता सबैलाई देखेको छु, सबैले एमाले र मेरो आधार मानेर विश्वास गर्नुभएको छ, हामी तपाईहरुको भावनाअनुसार अघि बढ्नेछौं’ उहाँले भन्नुभयो ।

    पार्टी प्रवेश कार्यक्रममा एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष तथा रुपन्देही २ निर्वाचन परिचालन कमिटीका संयोजक भोज प्रसाद श्रेष्ठले सबै क्षेत्रबाट आएका सुझावका आधारमा पार्टीले काम गर्ने र आफ्नो क्षेत्रमा आएका समस्याहरु तत्कालै दिन सबैलाई आग्रह गर्नुभयो ।

    शुक्रबार नै बुटवल उपमहानगरपालिका– १२ मा दर्जनौं युवाहरु पार्टीमा प्रवेश गरेको एमाले बुटवलका अध्यक्ष शोभाखर पोखरेलले जानकारी दिनुभयो । उनीहरुलाई पनि एमाले उपाध्यक्ष पौडेलले पार्टी प्रवेश गराउँदै युवाहरुको योजनाअनुसार अघि बढ्ने बताउनुभयो ।