
मंगलवार , बैशाख २१, २०७८
भैरहवा, २१ वैशाख ।
सिद्धार्थनगर नगरपालिका र होटल व्यवसायीबीच होटललाई क्वारेन्टिन तथा आइसोलेसनका रुपमा प्रयोग गर्न सहमति भएको छ । कोरोना भाइरसको नयां भेरियन्ट व्यापक रुपमा फैलिएकाले सो को रोकथाम, उपचार तथा नियन्त्रणका लागि होटल व्यवसायीले आवश्यक सहयोग गर्न नगरपालिका संग सहमति जनाएका हुन् ।
नगरप्रमुख हरि प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले होटलहरु क्वारेन्टिन तथा आइसोलेसनका रुपमा प्रयोग गर्न व्यवसायी सहमत भइ कार्यान्वयनका लागि प्रतिबद्धता जनाएका छन् ।
कोरोना संक्रमितलाई आइसोलेसनमा राख्दाको दररेट पनि उनीहरुले तोकेका छन । सिद्धार्थ होटल एशोसियसनतर्फ पर्यटकस्तरको होटलमा डिलक्स सिंगल बेडरुम र दैनिक चार पटक खानाको ३ हजार लाग्नेछ । डबल बेडरुम र दैनिक ४ पटक खानाप्रति बेड २ हजार लाग्न छ । रुममा एसीप्रयोग गरेमा थप ४ सय लाग्ने बैठकमा सहमति भएको छ ।
त्यसै गरी होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनले सिगंल बेडरुम र दैनिक चारपटक खाना नास्ता १ हजार ५ सय तथा डबल बेडरुम र दैनिक चारपटक खाना नास्ता २ हजार ५ सय लाग्ने बताइएको छ । एसी प्रयोग गरेमा भने ४ सय थप लाग्नेछ ।
स्वास्थ्यको समन्वय र व्यवस्थापन नगरपालिकाले गर्ने निर्णय भएको छ । सिद्धार्थनगर क्षेत्रभित्र विपद् व्यवस्थापनका लागि २ हजार बेड उपलब्ध गराउन सकिने पनि बैठकपछि प्रतिवद्धता जनाइएको छ ।
सबै कार्य व्यवस्था समन्वय गर्नका लागि ३ जनालाई जिम्मेवारी तोकिएको नगरपालिकाले जनाएको छ । जसमा नगरपालिकाबाट थानेश्वर पौडेल, सिद्धार्थ होटल एशोसियसनबाट रविन्द्र शर्मा घिमिरे र होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनबाट राजेश महोत्रालाई जिम्मेवारी दिइएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख यादव प्रसाद सापकोटाले बताए ।
बैठकमा नगर उपप्रमुख उमा काफ्ले, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष गणेश प्रसाद बेल्बासे, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पिताम्बार पाठक लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले कोरोना महामारीको बढ्दो अवस्थामा सर्तक रहन सबै नगरवासीमा अपिल गरेका छन् । उनले भीम अस्पतालमा थप बेडका लागि गरेको पहल तथा सिद्धार्थनगर सिटी अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) मा समेत बेड, अक्सिजन र उपचारमा सहज भूमिकाका लागि पहल गरिरहेको पनि बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij