२०८२, फाल्गुण १५ गते

Feb 27 2026 | २०८२, फाल्गुण १५ गते

झुटा आश्वासन बाँडेका छैनौं : काँग्रेस उम्मेदवार मिश्र

शुक्रवार , फाल्गुण १५, २०८२

  • 472
    Shares
  • 472
    Shares
  • भैरहवा, १५ फागुन । नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार आशुतोष मिश्रले मत पाउनैका लागि जनतामा झुटो आश्वासन नबाँडेको स्पष्ट पार्नुभएको छ । उहाँले काँग्रेसले गर्न सक्ने कुरा मात्रै जनतामाझ प्रतिवद्धता जनाएको बताउनुभयो ।

    सियारी र मायादेवी गाउँपालिकाकाका विभिन्न स्थानमा घरदैलोका क्रममा उम्मेदवार मिश्रले जनतामा काँग्रेसप्रति उत्साह पाएको बताउनुभयो । ‘घरदैलोका क्रममा मतदातामा उत्साह पाएका छौं । मतदाताबाट पाइरहेको राम्रो रेस्पोन्सले काँग्रेस रुपन्देही क्षेत्र नम्बर ४ बाट अत्यधिक मतले जित्ने आत्मविश्वास बढेको छ, ’उहाँले भन्नुभयो ।

    मतदाताले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, मलखाद्य, सडक पूर्वाधार लगायत विकाससँग जोडिएका आधारभूत आवश्यकताहरुको नै अपेक्षा राख्नुभएको मिश्रले बताउनुभयो । सिंचाई, समयमै मल खाद्य नपाएको, विद्यालयमा शिक्षकको अभाव, विद्यालयको भौतिक अवस्था राम्रो नभएको, अस्पतालको अभाव लगायत यस क्षेत्रको मुख्य समस्या रहेको उहाँको भनाइ छ ।
    ‘काँग्रेस नेतृत्वको सरकार बनेपछि प्रतिज्ञापत्रमा उल्लेख गरिएका कुराहरु पूरा हुन्छ । सबै कुरा तुरुन्तै सम्बोधन हुन सक्दैन । समय लाग्छ । केही काम भने तुरुन्तै हुन सक्छ, ’उहाँले भन्नुभयो ।

    मुलुकको मुख्य समस्या रोजगारी भएको उहाँले बताउनुभयो । शिक्षित युवा राम्रो रोजगारीको खोजीमा रहेको र यहाँ रोजगारी सिर्जनाका लागि औद्योगिक क्षेत्रको विकास अपरिहार्य रहेको उहाँले बताउनुभयो ।

    मुलुकमा काँग्रेसको विकल्प नभएको र यो कुरा मतदाताले राम्रोसँग बुझ्नुभएको उहाँले दावी गर्नुभयो । काँग्रेसको नेतृत्व गगन थापाले गरिसकेपछि उहाँप्रति नेपाली जनताले धेरै आशा गर्नुभएको मिश्रको भनाइ छ । मुलुकको समस्याको निकास दिन सक्ने व्यक्ति गगन थापा नै हुनुभएको उहाँले बताउनुभयो ।

    त्यस्तै काँग्रेसका  नेता तथा लुम्बिनी प्रदेश सरकारका पूर्व शिक्षामन्त्री वसिउद्दीन खाँले रुपन्देही क्षेत्र नम्बर ४ मा काँग्रेसप्रति जनताको आकर्षण बढ्दै गएको दावी गर्नुभयो छ । काँग्रेसले जनतासमक्ष योग्य उम्मेदवार पठाएको उहाँको भनाइ छ । ‘विगतमा काँग्रेसको नेतृत्व र आफ्नो पहलमा संघ र प्रदेश सरकारबाट यो क्षेत्रमा विकास निर्माणका कार्यहरु अघि बढेका छन् । मेरो पहलमा पक्की पुल, सडक र विद्यालयमा भवनहरु बनेका छन्, । उहाँले भन्नुभयो–‘बाँकी रहेका विकास निर्माणका कार्य अघि बढाउन काँग्रेसको उम्मेदवारलाई नै जिताउनुपर्छ ।’
    चारलेन सडक सीमासम्म विस्तार गर्ने, मर्चवार रिंगरोड बनाउने, स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालको निर्माण र छोटी भन्सार कार्यालय सुचारु गराउने कार्य अहिलेको मुख्य आवश्यकता रहेको र काँग्रेसका उम्मेदवारले जिते मात्र यो सम्भव रहेको उहाँले बताउनुभयो ।

    किसानले समयमै मलखाद नपाउने समस्या समाधानका लागि नेपाली काँग्रेसले प्रतिज्ञापत्रमै उल्लेख गरेकाले काँग्रेसको नेतृत्वमा बन्ने सरकारले किसानका समस्या समाधान गर्ने नेता खाँले बताउनुभयो ।