२०८२, फाल्गुण १२ गते

Feb 24 2026 | २०८२, फाल्गुण १२ गते

रास्वपाका उम्मेदवारहरूप्रति जनताको ठूलो आशा र भरोसा छ : डा. लेखजंग थापा

सोमवार , फाल्गुण ११, २०८२

  • 253
    Shares
  • 253
    Shares
  • भैरहवा, ११ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. लेखजंग थापाले जनताले ठूला सपना भन्दा पनि आधारभूत आवश्यकताको सम्बोधन र सुशासन चाहेको बताउनुभएको छ । आइतबार बुटवल उपमहानगरपालिका वडा नम्बर १७, १८ र १९ को घरदैलो गर्ने क्रममा डा. थापाले जनताका मुख्य समस्या र रास्वपाको प्रतिबद्धताका विषयमा आफ्ना अनुभव सुनाउनुभएको हो ।

    डा. थापाका अनुसार गाउँ–बस्तीमा पुग्दा जनताले कुनै ठूलो राजनीतिक परिवर्तन भन्दा पनि दैनिक जीवनसँग जोडिएका सामान्य कुराहरू मागेका छन् । जनताको मुख्य चाहना बाटोघाटो निर्माण, कृषिमा सुधार, समयमा मलखादको उपलब्धता, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा नै रहेको उहाँको अनुभव छ । विशेष गरी देशमै रोजगारी सिर्जना गरी सबै नेपालमै कसरी खुसी भएर बस्न सकिन्छ भन्नेमा नै आम नागरिकको चासो केन्द्रित रहेको उहाँले उल्लेख गर्नुभयो ।

    डा. थापाले सबैभन्दा मर्मस्पर्शी पक्ष युवा पलायनलाई देख्नुभएको छ । बालबालिकाहरू देश छोडेर बाहिर जाँदा अभिभावकहरू एक्लो भएको र उनीहरूलाई कसरी स्वदेशमै फर्काएर बसाल्ने भन्ने चिन्ताले धेरैको मन रोएको उहाँले बताउनुभयो । विगतका काम र उपलब्धीप्रति जनता सन्तुष्ट हुन नसकेका कारण अहिले रास्वपाका उम्मेदवारहरूप्रति ठूलो भरोसा र आशा पलाएको डा. थापाको दावी छ ।

    आफ्नो मुख्य एजेण्डा देशको समृद्धि र सुशासन रहेको बताउँदै उहाँले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । भ्रष्टाचारलाई कुनै पनि हालतमा स्वीकार नगर्ने र यसको निर्मूलीकरण गर्ने नै आफ्नो मुख्य लक्ष्य रहेको उहाँको भनाइ छ । जनताको यो अपार माया र आशालाई आत्मसात् गर्दै आफू र आफ्नो पार्टी देशको समग्र विकासका लागि लागिपर्ने उम्मेदवार डा. थापाले बताउनुभएको छ ।

    घरदैलो अभियानमा डा. थापासँगै रहनुभएकी समानुपातिक उम्मेदवार ज्ञानु पौड्यालले पनि अहिलेको जनलहरले पार्टीलाई ठूलो उर्जा दिएको बताउनुभयो । नागरिकको अवस्था परिवर्तन नभएकाले अहिले आम मतदाताले रास्वपासँग आशा र भरोसा राखेको उहाँको दावी छ । पौड्यालले बुटवलका सुकुम्बासी बस्तीको व्यवस्थापन, अधुरा पर्यटकीय आयोजनाको पूर्णता र महिलाहरूलाई आत्मनिर्भर बनाउने योजनामा जोड दिनुभयो । रास्वपाले आइतबारसम्म रुपन्देही क्षेत्र नम्बर ३ मा रहेका ३६ वटा वडामध्ये २६ वटा वडामा घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको छ ।