२०८२, फाल्गुण ११ गते

Feb 23 2026 | २०८२, फाल्गुण ११ गते

उपेन्द्र यादवको प्रश्न : मधेशी जनताको अधिकारको लडाई हुँदा बालेन कहाँ हुनुहुन्थ्यो ?

सोमवार , फाल्गुण ११, २०८२

  • 190
    Shares
  • 190
    Shares
  • भैरहवा, ११ फागुन । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकारको लडाई हुँदा बालेन्द्र शाह (बालेन)  कहाँ हुनुहुन्यो भन्दै प्रश्न गर्नुभएको छ । उहाँले मधेशको मुद्दामा बालेनको कुनै धारणा नरहेको बताउनुभयो ।

    जसपा नेपाल रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले यस्तो बताउनुभएको हो । ‘राष्ट्रिय राजनीतिमा पनि बालेनको कुनै धारणा सुनिदैन । वैचारिक स्पष्टता छैन, दर्शन के हो थाहा छैन, मुद्दा के हो थाहा छैन, ’उहाँले भन्नुभयो ।

    मधेशको मुद्दा बोक्ने, आदिवासी जनजाति, महिला, उत्पीडित वर्ग, महिला र राष्ट्रिय समस्यालाई बोक्ने पार्टी जसपा नेपाल नै उहाँले दावी गर्नुभयो । ‘मधेशका जनताले तीनलाई राम्रोसँग बुझेका छन् । त्यसैले घण्टी हल्लाउँदैमा हल्लिनेवाला छैन । अलिकति सोसल मिडियाहरुमा अलि बढी घण्टी बज्या जस्तो छ । तर, यथार्थ ग्राउण्ड रियालिटी त्यस्तो देखिदैन, ’अध्यक्ष यादवले भन्नुभयो ।

    मधेशको समस्या, आदिवासी जनजाति, दलित, अल्पसंख्यको मुस्लिम, दलित, थारु, पिछडा वर्गको समस्या आज राष्ट्रिय समस्याहरु भएको उहाँले बताउनुभयो । यसलाई समाधान गरे मात्र राष्ट्रिय एकता र विकासको गति अगाडि बढ्छ भन्ने आफूहरुको मान्यता रहेको उहाँले बताउनुभयो ।

    पूर्वउपप्रधानमनी समेत रहनुभएका अध्यक्ष यादवले विगत ३५ वर्ष काँग्रेस–कम्युनिष्टको नेतृत्वमा बनेका सरकारले सरकारले कृषि, शिक्षा, स्वास्थ्य, उद्योग लगायतमा कुनै सुधार गर्न नसकेको बताउनुभयो । उहाँले यी पार्टीले अर्काको पार्टी फुटाउने काम गरेको आरोप लगाउनुभयो । उहाँले संविधान त्रुटीपूर्ण भएको समयक्रमसँगै प्रमाणित भएकोले संविधान संशोधन अपरिहार्य रहेको बताउनुभयो ।

    त्यस्तै पार्टीका वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले मधेश आन्दोलनको बेला राज्यले निर्दोश नागरिकको हत्या गर्दा आफूहरु संयमित भएर आन्दोलन अगाडि बढाएको बताउनुभयो । ‘राज्यको अर्थतन्त्रलाई बचाएनौं भने भोली त्यसको भोगाइमा हामी पनि पर्छौं भन्ने कुरामा जहिले पनि सर्तक छौं, ’उहाँले भन्नुभयो ।
    रुपन्देही क्षेत्र नम्बर ४ अन्तर्गत कोटहीमाई गाउँपालिका–७ स्थित परसहवामा मंगलबार आयोजित आमसभालाई सम्बोधन गर्न जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव रुपन्देही आउनुभएको युवा नेता रवि कुमार रौनियारले बताउनुभयो ।