सोमवार , फाल्गुण ११, २०८२
बुटवल, ११ फागुन । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार चुन्न प्रसाद शर्माले घरदैलो अभियानको छैठौं दिन पनि मतदातासँग प्रत्यक्ष संवादलाई निरन्तरता दिनुभएको छ । छैठौं दिनको अभियान बिहान बुटवल उपमहानगरपालिका–९ अन्तर्गत नेपालगंज रोडको कालिका मन्दिरबाट सुरु भएको थियो । त्यहाँबाट कालिकापथका विभिन्न टोल, मिलनचोक, तिनकुने चोक हुँदै कालिकापथ शिवालयसम्म पुगेर उहाँले मतदातासँग भेटघाट गर्नुभयो ।
स्थानीयले विशेष गरी कालिकापथ क्षेत्रमा रात्रीकालीन बजार व्यवस्थित गर्नुपर्ने, खानेपानीको समस्या समाधान गर्नुपर्ने तथा सुरक्षित र सहज व्यापारिक वातावरण बनाउनुपर्ने माग अघि सारेका थिए ।
व्यवसायीहरूले बजार व्यवस्थापन, सडक बत्ती र सुरक्षामा ध्यान दिन आग्रह गरेका थिए । उम्मेदवार शर्माले कालिकापथलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता दोहोर्याउँदै आवश्यक पूर्वाधार सुधारमा पहल गर्ने बताउनुभयो । ‘छैठौं दिनसम्म आइपुग्दा जनताको उत्साहले अझ जिम्मेवारी बढाएको छ’उहाँले भन्नुभयो । अभियानमा नेपाली काँग्रेसकी समानुपातिक उम्मेदवार रीता सेन ओलीले जनताको घरदैलोमा पुगेर सुझाव लिनु नै लोकतन्त्रको सुन्दर अभ्यास भएको बताउनुभयो ।
‘समानुपातिक प्रणालीमार्फत समावेशी आवाज संसदमा पुर्याउने हाम्रो दायित्व हो, ’ओलीले भन्नुभयो । त्यसै गरी दिउँसो १ बजेपछि अभियान बुटवल उपमहानगरपालिका–११ तर्फ मोडिएको थियो ।
कालिकानगर सर्भिस लेनबाट सुरु भएको घरदैलो होराइजन चोक, योगीकुटी, माझगाउँ, देवीनगर हुँदै तल्लो देवीनगरसम्म पुगेको थियो । वडा नम्बर ११ का बासिन्दाले सडक स्तरोन्नति, ढल निकास, खानेपानी र सहरी पूर्वाधार सुधारको माग राख्नुभएको थियो । उम्मेदवारहरूले स्थानीय तहसँग समन्वय गरी चरणबद्ध रूपमा समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा स्थानीय नेता, कार्यकर्ताहरुको सहभागीता थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij