२०८२, फाल्गुण १० गते

Feb 22 2026 | २०८२, फाल्गुण १० गते

साई ग्लोबल कप : शान्ति नमूना र नेपथ्य विजयी

आइतवार , फाल्गुण १०, २०८२

  • 160
    Shares
  • 160
    Shares
  • भैरहवा, १० फागुन ।  ११ औं संस्करणको जिल्लास्तरीय अन्तरकलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगितामा आइतबार भएका दुई खेलमा शान्ति नमूना सेकेण्डरी स्कूल र नेपथ्य कलेज विजयी भएका छन् । शान्ति नमूनाले साई ग्लोबल कलेजलाई ६ विकेट र नेपथ्यले रुपन्देही लीलाराम न्यौपानेलाई २२ रनले पराजित गर्दै जीत निकालेका हुन् ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको साई ग्लोबलले ८ विकेट गुमाएर ८२ रन बनायो । उसका लागि जयप्रताप यादवले २६ र एजाजुल हकले २३ रन बनाए । बलिङमा शान्ति नमूनाका रोहित भुसाल, सुजन रानाभाट र रौनक श्रीवास्तवले २–२ तथा नितिश ठाकुरले १ विकेट हात पारे ।

    प्रतिउत्तरमा शान्ति नमूनाले १५ ओभर १ बलमा ४ विकेट गुमाएर ८५ रन बनाउँदै जीत हात पार्यो । उसको जीतमा रौनक श्रीवास्तवले २८, नविन भण्डारीले १८ तथा रुद्रांन्स भण्डारी र सुजन रानाभाटले समान १४–१४ रनको योगदान गरे । बलिङमा साई ग्लोबलका लेख क्षेत्रीले २ तथा ड्रस सोनार र जयप्रताप यादवले १–१ विकेट लिए । खेलमा सुजन रानाभाट प्लेयर अफ द म्याच भइ एक हजार रुपैयाँ प्राप्त गरे ।

    त्यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको नेपथ्य कलेजले ७ विकेट गुमाएर १ सय २२ रन बनायो । उसका लागि सन्दीप यादवले ५१, जसिम खानले २८ र प्रतीक भट्टराईले १० रन बनाए । बलिङमा लीलारामका कलम मुसलमान र करण यादवले २–२ तथा इजामुन अहम्मद मुसलमानले १ विकेट लिए ।

    जवाफमा रुपन्देही लीलाराम १७ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय रनमै समेटियो । उसलाई सस्तैमा रोक्न बलिङमा नेपथ्यका आरिफ खान र सन्दीप यादवले ३–३ तथा गणेश धितालले १ विकेट लिए । लीलारामका हरिकेश मौर्यले ३१ र कलम मुसलमानले २५ रन बनाए । खेलमा सन्दीप यादव प्लेयर अफ द म्याच घोषित भई एक हजार रुपैयाँ पाए ।

    फागुन १४ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न २० वटा कलेजहरुको सहभागिता रहेको खेल संयोजक निरजप्रताप खाँणले बताए । प्रतियोगिताको विजेता टीमले ५५ हजार ५ सय ५५ रुपैयाँ, उपविजेता टीमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

    त्यस्तै म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बलरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार रुपैयाँ पाउनेछन् । त्यसै गरी प्रतियोगिताको अनुशासित टीमलाई पनि सम्मानित गरिने आयोजकले जनाएका छन् ।