२०८२, फाल्गुण १० गते

Feb 22 2026 | २०८२, फाल्गुण १० गते

हजार पटक सोचेर मात्र भोट दिनुस् : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

आइतवार , फाल्गुण १०, २०८२

  • 268
    Shares
  • 268
    Shares
  • रुपन्देही, १० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको भविष्य निर्धारण गर्ने पार्टीलाई मात्र मतदान गर्न आग्रह गर्नु भएको छ । उहाँले मतदान नागरिक अधिकार भएकाले मत खेर नफाल्न आम मतदातासंग अपिल गर्नु भएको छ । 

    रूपन्देही–१ का राप्रपा उम्मेदवार प्रज्वल बोहराको प्रचारप्रसारका लागि देवदह र धकधईमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष लिङ्देनले मुलुकको भविष्य निर्धारण गर्ने पार्टीलाई विवेकपूर्वक मतदान गर्न आग्रह गर्नुभयो । 
    उहाँले लामो समयदेखि भविष्यमा विद्रोह गर्न नपर्ने गरी दल र राजाबीच राष्ट्रिय समझदारी गर्न आग्रह गरे पनि बेवास्ता गरिएकाले जनताले नै राप्रपालाई मत दिएर दबाब सिर्जना गर्नुपर्ने बताउनु भयो । 

    r2.jpg
    undefinedरुपन्देही–१ मा राप्रपाका उम्मेदवार प्रज्जवल बोहरा, समानुपातिक उम्मेदवार ताहिर अलिसहित नेता तथा कार्यकर्ता

    अध्यक्ष लिङ्देनले मुलुकमा राष्ट्रिय समझदारी कायम गर्नका लागि दबाब पुग्ने किसिमले मतदान गर्न आग्रह गर्नुभयो । उम्मेदवारले घरदैलोमा आएर नमस्कार गर्ने दिन फागुन २१ सम्म भएकाले सोचेर मात्र आफ्नो मत सदुपयोग गर्न पनि उहाँको जोड छ । 

    उहाँले नयाँ समझ्दारी नगरेको खण्डमा मुलुक दुर्घटनामा पर्ने र नेताहरू भाग्नु पर्ने चेतावनी दिए पनि नसुनेको बताउनु भयो । २०८४ सालमा गर्नुपर्ने आवधिक निर्वाचन ०८२ मा गर्दैमा समस्या हल नहुने उल्लेख गर्दै जतिसक्दो छिटो राजा र दलबीच नमिलेका कुरा मिलाउनु पर्नेमा उहाँले जोड दिनुभयो । 

    r1.jpg
    रुपन्देही–१ मा राप्रपाका उम्मेदवार प्रज्जवल बोहरासहित नेता तथा कार्यकर्ता

    ‘मुलुक निर्वाचनमय भइसकेको छ,’ उनले भने, ‘त्यसैले राजा र दलबीच सहकार्यका लागि शक्ति आर्जन गर्ने गरी हामीलाई भोट दिनूस् ।’ मतदान नगर्दा नागरिकको अधिकार खेर जाने भएकाले विवेक पुर्‍याएर मतदान गर्न उहाँले आग्रह गर्नुभयो । 

    मुलुकमा २०४६ सालपछि दलले अभ्यास गरेको प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक शासन भोगिसकेको जनाउँदै अब पनि पुरानै दललाई मतदान गर्नुअघि हजार पटक विचार गरेर मतदान गर्न उहाँले आग्रह गर्नुभयो । ‘३० वर्षसम्म मुख्य नेताका हातमा मुलुक थियो,’ उहाँले भन्नुभयो, ‘शासनको जे नाम दिए पनि देश सुधार हुन सकेन ।’ 
    रुपन्देही–१ बाट राप्रपाका दिवंगत नेता दीपक बोहराका छोरा प्रज्जवल बोहरा चुनावी प्रतिस्पर्धामा रहनु भएको छ ।