
सोमवार , बैशाख २०, २०७८
काठमाडौं, २० वैशाख ।
रामेछाप जिल्लाको उमाकुन्ड गाउँपालिका वडा नम्बर २ बाम्तीलहरे टोलको एक घरमा आइतबार मध्यरातमा आगलागि हुँदा एकै परिवारका दुई जनाको ज्यान भएको छ ।
आगलागिमा परि मृत्यु हुनेमा ७८ वर्षिय धनबहादुर कार्की र उनकी श्रीमती ६८ वर्षिय सीता कार्की रहेको रामेछाप प्रहरीले जनाएको छ । आइतबार राति स्थानीय मनोहर कार्कीको घरमा अचानक आगलागि हुँदा उनका बुबा र आमाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख नवराज ढुंगानाले बताए ।
घरभित्रै सुतिरहेका बेला मध्य रातमा घरमा लागेको आगोका कारण वृद्ध बुवा र आमाको मृत्यु भएको र मनोहर कार्की र उनकी श्रीमती कल्पना कार्की तथा ३ वर्षिय छोरी स्मारिका भने झ्यालबाट हाम फालेर बचेको प्रहरीले जानकारी दिएको छ । आगलागिबाट क्षतिको पूर्ण विवरण भने आइसकेको छैन् ।
घट्नाको जानकारी पाए लगत्तै राति नै बाम्ती प्रहरी चौकीबाट प्रहरी टोली गएको भए पनि प्रहरी घटनास्थलमा पुग्नु अगाडि नै वृद्ध दम्पत्तिको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकहरुको शव जलेको घरबाट खनेर निकालिएको थियो ।
आगलागि नियन्त्रणका लागि स्थानीय र प्रहरीले प्रयास गरेको भए पनि सम्भव भएको थिएन । घटनाको सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय रामेछापबाट थप प्रहरी पठाइएको रामेछापका प्रहरी प्रमुख ढुंगानाले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij