२०८२, फाल्गुण २५ गते

Mar 09 2026 | २०८२, फाल्गुण २५ गते

रुपन्देही ४ मा कांग्रेस उम्मेदवार आशुतोष मिश्रको कृषि र सिँचाइमा यस्ता छन् प्राथमिकतामा

बिहिवार , फाल्गुण ७, २०८२

  • 739
    Shares
  • 739
    Shares
  • भैरहवा । नेपाली कांग्रेसका युवा नेता तथा रुपन्देही क्षेत्र नम्बर ४ का उम्मेदवार आशुतोष मिश्रले कृषि र सिँचाइ क्षेत्रको बिकासमा बिशेष जोड दिनु पर्ने बताउनु भएको छ । कृषि र सिँचाइ क्षेत्रलाई मुख्य एजेण्डा बनाउनु भएका उम्मेदवार मिश्रले आफुले निर्वाचन जितेपछि किसानको हितमा काम गर्ने बताउनु भयो ।

    किसानको उत्पादन वृद्धि, लागत घटाउने तथा कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउने लक्ष्यसहित उहाँले विभिन्न प्रतिबद्धता सार्वजनिक गर्नु भएको छ । मिश्रले मर्चवार क्षेत्रको बहुप्रतीक्षित लिफ्ट सिँचाइ आयोजना पूर्णरूपमा व्यवस्थित गरी खेतखेतमा सिँचाइ सुविधा पुर्याउने बताउनु भयो । त्यसैगरी डिप ट्युबवेल र सोलार लिफ्ट सिँचाइ प्रणाली विस्तार गरी वर्षभरि खेतीयोग्य जमिनमा पानीको सुनिश्चितता गरिने उहाँको भनाइ छ ।

    उत्पादित अन्नको उचित मूल्य सुनिश्चित गर्न मर्चवार क्षेत्रमा धान, गहुँ, तरकारी तथा फलफूलमा न्यूनतम समर्थन मूल्य लागू गर्न पहल गरिने बताउदै उहाले अलपत्र अबस्थामा रहेको चिस्यान केन्द्रलाइ पुर्ण रुपमा सञ्चालनका लागि बिशेष पहल गर्ने बताउनु भयो ।

    छिपियाको माछालाई बजारीकरणमा जोड दिँदै कृषि क्षेत्रलाई उद्योगसरह मान्यता दिलाएर किसानको आय बढाउने उहाँको अर्को महत्वपुर्ण योजना रहेको बताउनु भयो । किसान कार्ड र कृषि बीमा कार्यक्रम लागू गर्दै जोखिम न्यूनीकरण गरिने, दुग्ध व्यवसायीलाई अनुदानको व्यवस्था गरिने तथा चिस्यान केन्द्र र सङ्कलन केन्द्र स्थापना गरी उत्पादनको भण्डारण तथा वितरण प्रणालीलाई व्यवस्थित बनाइने मिश्रको प्रतिबद्धता रहेको छ ।

    युवा नेतृत्वमार्फत कृषि क्षेत्रमा देखिएका संरचनात्मक समस्या समाधान गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान गर्ने उहाँको दाबी छ ।