बिहिवार , फाल्गुण ७, २०८२
भैरहवा, ७ फागुन । रुपन्देहीको भैरहवामा जारी ११ औं संस्करणको जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल टी–२० क्रिकेट प्रतियोगितामा रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय भैरहवा र न्यू होराइजन मावि बुटवल विजयी भएका छन् ।
बुधबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएका दुई खेलमा लीलारामले साई ग्लोबल कलेज ‘बी’ लाई २८ रन र होराइजनले मुनलाइटलाई ६३ रनले पराजित गर्दै जीत निकालेका हुन् ।
टस जितेर ब्याटिङ गरेको रुपन्देही लीलारामले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनायो । उसका लागि रमेश कुर्मीले अविजित २३, फैजन मुसलमानले २२, अजय केवटले १६, करण यादवले १२ र हरिकेश मुराउले नटआउट १० रन जोडे । बलिङमा साई ग्लोबल ‘बी’ का विष्णु कटरिया र अमनसिंह घर्तीले समान २–२ तथा विराज यादव र आरभसिंह पौडेलले १–१ विकेट लिए ।
जवाफमा साई ग्लोबल ‘बी’ ले १८ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ३ रन बनायो । उसका लागि विकाश यादवले ४५, विष्णु कटरियाले २१ र अभिशेक सुनारले १६ रन बनाए । बलिङमा लीलारामका करण यादवले ४, प्रेमसागर यादवले २ तथा हरिकेष मुराउ, रमेश कुर्मी र कलम मुसलमानले १–१ विकेट लिए । खेलमा करण यादव प्लेयर अफ द म्याच भइ एक हजार रुपैयाँ प्राप्त गरे ।
त्यस्तै अर्को खेलमा टस जितेर ब्याटिङ गरेको न्यू होराइजनले ६ विकेटको क्षतिमा २ सय ३ रन बनायो । उसका लागि आरिफ खानले ६२, विप्रसन केसीले २९, संगम पाण्डेले २८, अमर मिश्रले २५ र सिद्धार्थ ढकालले २१ रन जोडे । बलिङमा मुनलाइटका निश्चल ज्ञवाली, निरज मल्ल र दिलसाद अलीलले समान २–२ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको मुनलाइटले ८ विकेट गुमाएर १ सय ४० रन बनायो । उसका लागि निश्चल ज्ञवालीले ५९ र दिलसाद अलीले ५८ रन जोडे पनि जीतका लागि पर्याप्त भएन । बलिङमा न्यू होराइजनका शुभम खनाल, विप्रसन केसी र शुभम पाण्डेले समान २–२ विकेट लिए । खेलमा आरिफ खान प्लेयर अफ द म्याच भइ १ हजार रुपैयाँ प्राप्त गरे ।
फागुन १४ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न २० वटा कलेजहरुको सहभागीता रहेको खेल संयोजक निरज प्रताप खाँणले बताए । प्रतियोगिताको विजेता टीमले ५५ हजार ५ सय ५५ रुपैयाँ, उपविजेता टीमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बलरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै प्रतियोगिताको अनुशासित टीमलाई पनि सम्मानित गरिने आयोजकले जनाएका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij