बुधवार , फाल्गुण ६, २०८२
भैरहवा, ६ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ मा एउटै वडाबाट ६ जना उम्मेदवार बन्नुभएको छ । रुपन्देही–३ मा १७ जना स्वतन्त्रसहित १९ वटा राजनीतिक दलका उम्मेदवारहरू हुनुहुन्छ । यहाँबाट ३६ जनाले उम्मेदवारी दर्ता गराउनुभएकोमा ६ जना उम्मेदवार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का बासिन्दा हुनुहुन्छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का फैज अहमद खाँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. लेखजंग थापा, आम जनता पार्टीका राधेश्याम तेली गुप्ता, राष्ट्रिय जनमोर्चाका बद्रे आलम मुसलमान, राष्ट्रिय जनमुक्ति पार्टीका मोजीब अलि मुसलमान र स्वतन्त्र उम्मेदवार करम हुसेन खाँ एउटै वडाको हुनुहुन्छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दिनुभएका फैज अहमद खाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट सिद्धार्थनगर नगरपालिकामा नगरप्रमुखको उम्मेदवार बन्नुभएको थियो ।
रास्वपाले उम्मेदवार बनाएका डा. लेखजंग थापा वरिष्ठ न्यूरोलोजिस्ट हुनुहुन्छ । २०७९ सालमा भएको निर्वाचनमा रूपन्देही–३ बाट निर्वाचित दीपक बोहराको निधन भएपछि रिक्त भएको पदमा २०८२ कात्तिक १७ गते निर्वाचन आयोगले निर्वाचन गर्ने तयारी गरेको थियो । उपनिर्वाचनका लागि थापालाई नै पार्टीले उम्मेदवार बनाएको थियो । आगामी फागुन २१ गते नयाँ प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा भएपछि उपनिर्वाचनसम्बन्धी बाँकी कार्यक्रमहरू रद्द गरिएको थियो ।
राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार मोजीब अली मुसलमान भैरहवा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का पूर्व सभापति हुनुहुन्छ । उहाँ पार्टीको केन्द्रीय सचिव समेत हुनुहुन्छ ।
रुपन्देही–३ मा नेपाली काँग्रेसबाट सुशील गुरुङ्ग, नेकपा (एमाले) बाट बासुदेव घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट क्याप्टेन गौरव बोहरा, जनता समाजवादी पार्टी (जसपा), नेपालबाट श्रीनिवास यादव र जनमत पार्टीबाट विशाल गुप्ता उम्मेदवार हुनुहन्छ ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीले सुग्रिम चाई, प्रगतिशील लोकतान्त्रिक पार्टीले गोविन्द प्रसाद काराखेती, मंगोल नेसनल अर्गनाइजेसनले कुलवीर घर्ती मगर, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले राजु गौडेल, नेसनल रिपब्लिक नेपालले मोहन थापा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले शंकर प्रसाद ज्ञवालीलाई उम्मेदवार बनाएको छ । त्यसै गरी उज्यालो नेपाल पार्टीबाट सरोज सिंह चौधरी, गान्धीवादी पार्टी नेपालबाट लालबहादुर राना र नागरिक उन्मुक्ति पार्टी, नेपालबाट नन्दकुमारी थापाले उम्मेदवारी दिनुभएको छ ।
स्वतन्त्रतर्फ अन्जना चौधरी थापा, ख्यामानन्द भुसाल, गोपाल भण्डारी, जीत बहादुर गुप्ता, जुमराती धुनिया मुसलमान, ठाकुर अधिकारी, तेजिन्द्र मल्ल, दीपक बहादुर दर्जी, दुर्गालाल शर्मा, धनबहादुर बस्नेत, नबाब मुसलमान, महेन्द्र यादव, मोहम्मद मुर्तजा साह, विष्णु बहादुर राना, सचिन राना र ज्ञान प्रसाद भुर्तेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
विसं २०७९ सालको निर्वाचनमा यो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । बोहराले नेपाली कांग्रेसका उम्मेदवार तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्नुभएको थियो ।
वि.सं. २०७४ मा यहाँबाट नेकपा (एमाले) का घनश्याम भुसाल, २०७० मा राप्रपाका दीपक बोहरा र २०६४ सालमा मधेसी जनअधिकार फोरमका उम्मेदवार ओमप्रकाश यादव (गुल्जारी) निर्वाचित हुनुभएको थियो ।
क्षेत्र नम्बर ३ मा ७१ हजार २५८ पुरुष, ६८ हजार ७७५ महिला र दुई अन्य गरी एक लाख ४० हजार ३५ जना मतदाता छन् । रूपन्देहीमा प्रतिनिधि सभातर्फ पाँचवटा निर्वाचन क्षेत्र छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij