२०८२, फाल्गुण ३ गते

Feb 15 2026 | २०८२, फाल्गुण ३ गते

नेपाल नालन्दामा फूड फेस्टिभल

शनिवार , फाल्गुण २, २०८२

  • 241
    Shares
  • 241
    Shares
  • भैरहवा, २ फागुन । विद्यालय परिसर एक दिनका लागि सानो फूड बजारमा परिणत भयो । कतै तातो मःमको बाफ उठिरहेको थियो, कतै चाउमिनको सुवास फैलिरहेको थियो । उत्साहले भरिएका विद्यार्थीहरू आफैं शेफ, व्यवस्थापक र विक्रेता बनेका थिए । 

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ स्थित नेपाल नालन्दा आवासीय माध्यमिक विद्यालयले आफ्नो ३० औं वार्षिक उत्सवको पूर्वसन्ध्यामा आयोजना गरेको फुड फेस्टिभलले सिकाइ र स्वादलाई एकै थलोमा जोडिदियो ।

    विद्यालयका प्राचार्य युवराज पोखरेलका अनुसार कार्यक्रमको उद्देश्य विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक सीपमा दक्ष बनाउनु हो । ‘विद्यार्थीले आफैं पकाउने, योजना बनाउने र विक्री गर्ने प्रक्रियाबाट मिहिनेत, जिम्मेवारी र सहकार्य सिक्छन्, ’उहाँले भन्नुभयो । गत वर्षदेखि सुरु गरिएको यस्तो अभ्यासले विशेष गरी माथिल्ला कक्षाका विद्यार्थीहरूलाई जीवनउपयोगी अनुभव प्रदान गरिरहेको उहाँको भनाइ छ।

    फेस्टिभलमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूले पकौडा, मःम, चाउमिन, थुप्पा, बिरयानी, चिकेन चिल्ली, चिया र अन्य परिकार तयार गरी विक्री गरेका थिए । प्रत्येक स्टलमा विद्यार्थीहरूको उत्साह र सिर्जनशीलता झल्किन्थ्यो ।

    WhatsApp Image 2026-02-12 at 6.43.03 PM.jpeg

    कक्षा ९ का विद्यार्थी फरान रजक खानले कार्यक्रमले आफूलाई आत्मविश्वासी बनाएको बताउनुभयो । ‘आफ्नै हातले बनाएको परिकार बेच्दा जिम्मेवारी र मिहिनेतको महत्व बुझियो,’ उहाँले भन्नुभयो ।

    कार्यक्रममा सहभागी एक अभिभावकले विद्यालयको प्रयासको प्रशंसा गर्दै भन्नुभयो–‘यस्ता गतिविधिले बच्चाहरूलाई जीवनका वास्तविक सीप सिकाउँछ । पढाइसँगै व्यवहारिक ज्ञान पनि उत्तिकै आवश्यक छ ।’

    विद्यालयले फागुन ७ गते तिसौँ वार्षिक उत्सव मनाउने तयारी गरिरहेको जनाएको छ। फुड फेस्टिभलले त्यस उत्सवको माहोललाई झनै उत्साहित बनाएको सहभागीहरूले बताएका छन्।