शनिवार , माघ २४, २०८२
नुवाकोट, २४ माघ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढंगमा देशैभर तोकिएकै मितिमा सम्पन्न हुने बताउनुभएको छ । शनिबार निर्वाचनको तयारी सम्बन्धी विषयमा नुवाकोट र धादिङ जिल्लाको स्थलगत निरीक्षण अनुगमनको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयहरू पुग्नुभएका उहाँले सो धारणा राख्नुभएको हो । निरीक्षण अनुगमनको टोलीमा गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र गृहमन्त्री अर्यालको सचिवालय सदस्यहरू सहभागी हुनुहुन्छ ।
सो क्रममा मन्त्री अर्याले भन्नुभयो–‘चुनाव स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढंगमा गराउन हामी पूर्ण रूपमा प्रतिबद्ध छौं र त्यो कुरा तपाईँहरूले हाम्रो आचरण र व्यवहारबाट पनि महसुस गरिसक्नु भएको छ र गर्दै पनि जानुहुनेछ ।’ उहाँले चुनावमा अहिले चलिरहेको मिथ्या र भ्रामक सूचनाहरूबाट सचेत भइ आ–आफ्नो निर्वाचन तयारीमा लाग्न सम्बद्ध सबै पक्षसँग आग्रहसमेत गर्नुभयो ।
नुवाकोटको मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यले प्रस्तुत गर्नुभएको निर्वाचन तयारी बारेको एक प्रस्तुतीकरण हेरिसक्नु भएपछि गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाएर जिल्लामा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभएको निरीक्षण टोलीमा रहनुभएका गृह मन्त्रालयका प्रवक्ता एवं सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्लेले जानकारी दिनुभयो ।
निरीक्षणका क्रममा मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यले कार्यालयले हालसम्म गरिएका तयारीबारे टोलीलाई जानकारी गराउनु भएको थियो । बैठकमा जिल्लाको दुईवटै निर्वाचन क्षेत्रका जिल्ला निर्वाचन अधिकृतहरू, जिल्लास्थित सबै सुरक्षा निकायका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो । निरीक्षण भ्रमणपछि जानकारी दिनुहुँदै मन्त्रालयका प्रवक्ता काफ्लेले नुवाकोट र धादिङ जिल्लामा हालसम्म जिल्ला निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतहरूको राम्रो समन्वयमा जिल्लाको निर्वाचनको तयारी प्रभावकारी रूपमा अघि बढेको बताउनुभयो ।
त्यस्तै आजै गृहमन्त्री अर्यालसहितको सोही टोली नुवाकोटबाट धादिङ पुगी त्यहाँको जिल्लाको समग्र सुरक्षा अवस्था र निर्वाचनको तयारीबारे जिल्ला सुरक्षा समितिका पदाधिकारी र मुख्य निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकृतहरूसँग जानकारी लिनुभएको छ । सो क्रममा गृहमन्त्री अर्याल र गृह सचिवको टोलीले जिल्लामा आइपुगेका निर्वाचनसम्बन्धि बन्दोबस्तका सामग्रीहरूको समेत अवलोकन गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
