२०८२, माघ २४ गते

Feb 07 2026 | २०८२, माघ २४ गते

एमाले रुपन्देहीका उम्मेदवारहरु चुनावी अभियानमा, सबै क्षेत्र जित्ने दावी

शनिवार , माघ २४, २०८२

  • 454
    Shares
  • 454
    Shares
  • रुपन्देही, २४ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई तीव्र बनाएको छ । सो पार्टीका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पौडेल क्षेत्र नम्बर २, केन्द्रीय सदस्यहरु दधिराम न्यौपाने क्षेत्र नम्बर १, खिमलाल भट्टराई क्षेत्र नम्बर ५, प्रभावशाली नेताहरु बासुदेव घिमिरे क्षेत्र नम्बर ३ र प्रमोद कुमार यादव क्षेत्र नम्बर ४ बाट चुनावी मैदानमा पार्टी र आफ्ना योजनासहित पुग्नुभएको छ ।

    हरेक क्षेत्रमा अधिकांश वडा तहका निर्वाचन कार्यालय सञ्चालन, विभिन्न भातृ संगठनको भेला, विभिन्न जिल्लामा रहेका सम्पर्क कमिटीहरुको भेला सकेर उनीहरु आन्तरिक तयारीमा लागेका हुन् । सबै क्षेत्रहरुमा निर्वाचन परिचालन कमिटी बनाएर काममा खटाइएको र  दैनिक ती कमिटीको योजनामै अब निर्वाचनको पूर्ण तयारीमा लागेको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे बताउनहुन्छ ।

    क्षेत्र नम्बर ३ मा युवा तथा विद्यार्थी भेला 

    नेकपा (एमाले) ले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित गर्दै रुपन्देही क्षेत्र नम्बर ३ मा चुनावी अभियानलाई तीव्र बनाएको छ । सोही क्रममा शनिबार भैरहवामा युवा तथा विद्यार्थी भेलाको आयोजना गरिएको राष्ट्रिय युवा संघ, नेपालका पूर्व जिल्ला सचिवालय सदस्य विशाल श्रेष्ठले बताउनुभयो ।

    भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा युवा नेतृ शिव कुमारी चौधरीले मुलुकको समृद्धि र स्थायीत्वका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताउनुभयो । उनले युवाहरु परिवर्तनका संवाहक भएकाले सही नेतृत्व चयनमा युवाको भूमिका निर्णायक हुने धारणा राख्दै एमालेले अघि सारेका विकास र सुशासनका एजेण्डाले मात्र देशलाई सही दिशामा लैजान सक्ने बताउनुभयो । 

    कार्यक्रममा एमालेका रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार बासुदेव घिमिरेले आफूले विगतमा निर्वाह गरेको जिम्मेवारी र अनुभवका आधारमा क्षेत्र नम्बर ३ को समग्र विकासलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्दै रुपन्देही–३ लाई शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका क्षेत्रमा नमूना क्षेत्र बनाउने विषयमा आफ्नो प्राथमिकता रहेको उल्लेख गर्नुभयो । नेता घिमिरेले युवाको क्षमता र उर्जा राष्ट्र निर्माणको प्रमुख आधार भएको स्पष्ट पार्नुभयो । वक्ताहरुले बासुदेव घिमिरे अनुभवी, काम गर्न सक्ने र जनताको बीचमा स्थापित नेता भएकाले उहाँलाई विजयी गराउन युवाहरु अग्रसर हुनुपर्ने धारणा राख्दै विकास, रोजगारी र गुणस्तरीय शिक्षाका मुद्दालाई पार्टीले प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका थिए । उहाँले आफूले स्थानीय तहको नेतृत्व गरिसकेको र प्रतिनिधि सभाको समेत जिम्मेवारी सम्हालेर अनुभव संगालिसकेको बताउनुभयो । 
    कार्यक्रममा एमाले जिल्ला सदस्य तथा युवा नेता कृष्ण मल्ल ठकुरीले सामाजिक सञ्जालमा लेखिएका कुराहरु हेरेर मात्र जेनजी पुस्ता बहकिन नहुने बताउनुभयो । उहाँले वास्तविक कुरा बुझेर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले एमालेलाई जिताए मात्र देश र जनताको पक्षमा काम हुने बताउनुभयो । 

    कार्यक्रममा एमाले जिल्ला सदस्य लक्ष्मी के.सी.ले बासुदेव घिमिरेले स्थानीय तहको नेतृत्व गर्दा तिलोत्तमा नगरपालिकालाई विश्वमै चिनाउनुभएको बताउनुभयो । उहाँले यस क्षेत्रको विकासका लागि घिमिरेलाई जिताउनुपर्नेमा जोड दिनुभयो ।

    पार्टीको सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले हरेक देशमा युवाहरुको नेतृत्वमा क्रान्ति सफल भएको बताउनुभयो । उहाँले रुपन्देही–३ का उम्मेदवार बासुदेव घिमिरेलाई अत्याधिक मतले जिताउन आग्रह गर्नुभयो ।

    कृष्ण मल्ल ठकुरीको अध्यक्षतामा भएको भेलामा राष्ट्रिय युवा संघ, नेपालका केन्द्रीय सदस्य विजय अधिकारी, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य सागर न्यौपाने लगायतले बोल्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा बहुमतका साथ जिताउनुपर्नेमा जोड दिनुभयो ।

    त्यस्तै सबैभन्दा धेरै पार्टी सदस्यहरु र नेताहरु रहेको रुपन्देही–२ मा पूर्व उपप्रधान एवं अर्थमन्त्री रहनुभएका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले प्रचार अभियानलाई तीव्र बनाउनुभएको छ ।
    शनिबार मात्रै यो क्षेत्रमा पर्ने सैनामैना नगरपालिकाका वडा नम्बर १,२, ३ र ४ को प्रचार कार्यालय उद्घाटन गरेर सो क्षेत्रमा आफ्नो प्रचार अभियानलाई तीव्र बनाउनुभएको हो । सो अवसरमा बोल्दै पौडेलले अल्पकालीन र दीर्घकालीन विकासका बृहत योजनाका साथ मैदानमा आएको बताउनुभयो । उहाँले अब भौतिक विकाससँगै मानवीय विकास गर्ने र रोजगारीका योजना अघि सार्ने मुख्य लक्ष्य रहेको बताउनुभयो । उहाँले विकासको नमुना बनाउने केही योजना पूरा भएको, केही कार्यान्वयनको चरणमा रहेको र केही नयाँ योजना अघि बढेको भन्दै पार्टीका एजेण्डालाई अघि सारेर जान कार्यकर्तालाई अनुरोध गर्नुभयो । नेता पौडेलले कोही कसैले छरेका भ्रमहरु चिर्न कार्यकर्ताले आफ्नो टोलबाटै जिम्मेवारी लिएर प्रष्ट पार्नुपर्ने जनतार्लाइ वास्तविक कुराहरु राख्नुपर्ने जनाउनुभयो । शनिबारै उहाँले बौद्ध धर्मावलम्बीहरुको कार्यक्रममा सरिक भएका विभिन्न क्षेत्रमा रहेका पार्टी कार्यकर्तासँग भेटघाट गर्नुभएको थियो ।

    रुपन्देहीको क्षेत्र नम्बर १ मा पनि उसैगरी चुनावी अभियान तीव्र बनाइएको छ । एमालेले चुनावी अभियान अन्तर्गत तिलोत्तमा नगरपालिका–१२ मा निर्वाचन परिचालन सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । सम्पर्क कार्यालयको उद्घाटन गर्दै रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दधिराम न्यौपानेले देशको समग्र विकास र जनताको आवश्यकताहरू पूरा गर्न सक्ने पार्टी एमाले मात्रै भएको बताउनुभयो । उहाँले सुकुम्बासी समस्या समाधानका लागि देवदह नगरपालिकाबाट लालपूर्जा वितरणको सुरुवात गरिएको र बाँकी कामहरू पनि एमालेकै नेतृत्वमा सम्पन्न हुने बताए । 

    कार्यक्रममा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री छबिलाल विश्वकर्माले आफू संसदमा रहँदा रुपन्देही क्षेत्र नम्बर १ मा विकासका कामहरू तीव्र रूपमा अघि बढेको स्मरण गर्नुभयो । उहाँले सरकार परिवर्तनका कारण केही योजनाहरू अधुरा रहे पनि एमाले पुनः सरकारमा आए ती सबै काम पूरा गरिने बताउनुभयो । उहाँले एमालेको नेतृत्वमा विकास र स्थायीत्व सुनिश्चित हुने दाबी गरे।

    कार्यक्रममा एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले नयाँ भनिएका दलहरूसँग जनताको पक्षमा ठोस योजना नभएको आरोप लगाउनुभयो । त्यसै गरी एमाले तिलोत्तमा–१२ निर्वाचन परिचालन समितिका संयोजक यादव अर्यालले बजारमा जति नै हल्ला भए पनि अन्ततः जित एमालेकै हुने दावी गर्नुभयो ।

    एमाले तिलोत्तमा–१२ का पूर्वअध्यक्ष डिबी भण्डारीको स्वागतमा आयोजित कार्यक्रमको सञ्चालन कार्यवाहक सचिव नागेश्वर यादवले गर्नुभएको थियो । त्यसै गरी क्षेत्र नम्बर ५ मा केन्द्रीय सदस्य खिमलाल भट्टराई र ४ मा नेता प्रमोद कुमार यादवले आफ्नो अभियानलाई तीव्र बनाउनुभएको छ । विभिन्न वडामा प्रचार कार्यालय उद्घाटनसँगै प्रचार अभियानमा लागेका छन् ।