२०८२, माघ २३ गते

Feb 06 2026 | २०८२, माघ २३ गते

‘समयमै पहिचान भए क्यान्सरको उपचार सम्भव’

शुक्रवार , माघ २३, २०८२

  • 193
    Shares
  • 193
    Shares
  • तिलोत्तमा, २३ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा नेपाल अद्भुत रोग निवारण संस्था जिल्ला शाखा बुटवल, रुपन्देहीको सह–आयोजनामा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न भएको छ । २६ औं विश्व क्यान्सर दिवसको अवसरमा बिहीबार तिलोत्तमा नगरपालिकाको सभा हलमा आयोजना गरिएको हो ।

    कार्यक्रमका अध्यक्ष तथा तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले क्यान्सर जस्तो गम्भीर रोगको रोकथाम, पहिचान र उपचारका लागि जनचेतना अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले समयमै स्वास्थ्य परीक्षण गर्ने बानी बसाल्न सके धेरै क्यान्सर रोगको जोखिम कम गर्न सकिने उल्लेख गर्नुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय सदस्य मधुसुदन गैरेले क्यान्सरबारे समाजमा अझै पनि धेरै भ्रम र डर रहेको भन्दै यस्ता कार्यक्रमले सही जानकारी फैलाउन ठूलो भूमिका खेल्ने बताउनुभयो । उहाँले क्यान्सर लागे पछि मात्र होइन, क्यान्सर नलाग्नु अघि नै सचेत हुनु आवश्यक रहेको बताउनुभयो । त्यसै गरी रुपन्देही जिल्ला शाखा अध्यक्ष खेम हमालले संस्थाले जिल्लाभर क्यान्सरसम्बन्धी सचेतना, निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । उहाँले विशेष गरी महिलामा देखिने स्तन क्यान्सर र पाठेघर (सर्भाइकल) क्यान्सरबारे नियमित जाँच र खोप अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।

    कार्यक्रममा वरिष्ठ डाक्टर नारायण जिसीले पाठेघर (सर्भाइकल) क्यान्सरबारे जानकारी दिनुहुँदै यो क्यान्सर महिलामा सबैभन्दा धेरै देखिने क्यान्सरमध्ये एक भएको बताउनुभयो । उहाँका अनुसार सर्भाइकल क्यान्सर मुख्यतया ह्युमन प्यापिलोमा भाइरसको संक्रमणका कारण हुने गर्दछ । प्रारम्भिक चरणमा यस रोगका लक्षण खासै नदेखिने भएकाले नियमित ‘प्याप स्मियर’ वा ‘एचपीभी टेस्ट’ गराउनु आवश्यक हुन्छ । समयमै पहिचान भएमा यस क्यान्सरको उपचार सम्भव र सजिलो हुने उहाँले बताउनुभयो ।

    त्यसै गरी वरिष्ठ स्तन क्यान्सर विशेषज्ञ डाक्टर संजय पाण्डेले स्तन क्यान्सर महिलामा धेरै देखिने अर्को गम्भीर समस्या भएको जानकारी दिनुभयो । उहाँले स्तनमा गाठो देखिनु, आकार परिवर्तन हुनु, निपलबाट असामान्य तरल पदार्थ निस्कनु जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउन आग्रह गर्नुभयो । कार्यक्रममा क्यान्सर र भ्याक्सिनबारे पनि जानकारी दिइएको थियो । डाक्टरहरूले सर्भाइकल क्यान्सर रोकथामका लागि एचपीभी भ्याक्सिन अत्यन्त प्रभावकारी रहेको बताउनुभयो । 

    यो भ्याक्सिन मुख्यतया कक्षा ६ मा अध्ययन गरिरहेका र पहिले भ्याक्सिन नलगाएका ७ देखि कक्षा १० सम्म अध्ययन गरेका र पढ्न नपाएकाहरुका लागि १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लगाउन उपयुक्त मानिन्छ । तर, आवश्यकता अनुसार ठूला उमेर समूहका महिलाले पनि चिकित्सकको सल्लाहअनुसार लगाउन सक्ने जानकारी दिइयो ।

    भ्याक्सिनले एचपीभी भाइरसको संक्रमणबाट जोगाएर भविष्यमा सर्भाइकल क्यान्सरको जोखिम धेरै हदसम्म घटाउने चिकित्सकहरूको भनाइ छ । कार्यक्रममा सहभागीहरूले क्यान्सरसम्बन्धी जिज्ञासा राख्दै विशेषज्ञ डाक्टरहरूसँग प्रत्यक्ष परामर्श पनि गरेका थिए ।