२०८२, माघ २३ गते

Feb 06 2026 | २०८२, माघ २३ गते

पीएम कप लुम्बिनी प्रदेशस्तरीय छनोट : रूपन्देही फाइनलमा

शुक्रवार , माघ २३, २०८२

  • 193
    Shares
  • 193
    Shares
  • भैरहवा, २२ माघ । रुपन्देही र पश्चिम नवलपरासी रुपन्देहीमा जारी प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एकदिवसीय क्रिकेट छनोट प्रतियोगितामा विजयी भएका छन् । आजको जीतसँगै रुपन्देही भने फाइनल प्रवेश गरेको छ ।

    लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा रुपन्देहीले दाङलाई १ सय २ रन र तिलोत्तमाको एक्स्ट्राटेक ओभलमा भएको अर्को खेलमा नवलपरासीले पाल्पालाई १ सय ५ रनले हराउँदै जित निकालेका हुन् ।

    बिहीबार सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको रुपन्देहीले मौसमका कारण २७ ओभरमा झारिएको खेलमा ७ विकेट गुमाएर १ सय ९१ रनको बलियो योगफल बनायो । उसका लागि आकाश त्रिपाठीले ४३, दीपेश रोक्काले ४०, देव खनालले ३३, कृष्ण कार्कीले २८ र सन्तोष यादवले १८ रन जोडे । बलिङमा दाङका वीरबहादुर घर्ती, दिनेश बोहरा र किसान भारतीले २–२ तथा शुभम खनालले १ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको दाङ २४ ओभर २ बलमा अलआउट हुँदै ८९ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न बलिङमा रुपन्देहीका मौसम ढकालले ३, अजय चौहानले २ तथा सन्देश थापा, कृष्ण कार्की र देव खनालले समान १–१ विकेट लिए । दाङका दिनेश बोहराले सर्वाधिक २९ रन बनाए ।

    त्यस्तै एक्स्ट्राटेकमा भएको खेलमा नवलपरासीले सुरुमा ब्याटिङ गरी निर्धारित २५ ओभरमा ७ विकेट गुमाएर २ सय १५ रन बनायो । जवाफमा पाल्पा १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय १० रनमै समेटियो र हार व्यहोर्यो ।
    माघ २४ गतेसम्म चल्ने प्रतियोगितामा लुम्बिनी प्रदेशका सात जिल्लाका टीम सहभागी छन् । छनोट खेलको विजेता र उपविजेता टीमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्लेयर अफ द म्याचले ११ हजार १ सय ११ र प्रत्येक दिनको म्यान अफ द म्याचले १ हजार १ सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जनाए ।

    प्रतियोगिताको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक उत्पादक कम्पनी एग्रो थाई फूड्स छ भने प्रायोजकमा एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिस, बुटवल, ग्रुप ४ प्रोडक्ट प्रालि, काठमाडौं र ग्रुप ४ सेक्युरिटी सर्भिस प्रालि, काठमाडौं छन् । यस वर्षको प्रधानमन्त्री कप चैत्रमा आयोजना गर्ने गरी क्यानले तयारी गरिरहेको छ ।