२०८२, माघ १५ गते

Jan 29 2026 | २०८२, माघ १५ गते

एमाले नेतृत्वको सरकारले मात्रै जनताको समस्या समाधान गर्न सक्छ : न्यौपाने

बिहिवार , माघ १५, २०८२

  • 175
    Shares
  • 175
    Shares
  • भैरहवा, १५ माघ । नेकपा (एमाले) का केन्द्रीय सदस्य दधिराम न्यौपानेले देश र राष्ट्रियता बचाउनको लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभएको छ । उहाँले देशको समृद्धि, सुशासन र अग्रगमनको लागि एमालेका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिनुभयो । एमाले देवदह नगरपालिका वडा नम्बर ५, ७, ८ र ९ को विस्तारित भेलालाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । 

    एमालेकोतर्फबाट रुपन्देहीको क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहनुभएका नेता न्योपानेले एमाले नेतृत्वको सरकारले मात्र सुकुम्बासी समस्या समाधान गर्ने बताउनुभयो । उहाँले फागुन २१ गते हुने निर्वाचनमा रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारले जीत हासिल गर्ने दावी गर्नुभयो । उहाँले गत भदौ २३ र २४ गते आन्दोलन नभई बिध्वंश भएको बताउँदै देशलाई विखण्डन गर्न देशी–विदेशी शक्ति लागिरहेको बताउनुभयो । 

    लुम्बिनी प्रदेशको पूर्व प्रदेश सभा सदस्यय समेत रहनुभएका नेता न्यौपानेले उमेर समूहले मात्र परिवर्तन हुन नसक्ने बताउदै त्यसको लागि विचार आवश्यक रहेको औंल्याउनुभयो । उहाँले एमालेको उम्मेदवारलाई जिताउनको लागि पार्टीका कार्यकर्ताहरु एकताबद्ध भएर लाग्न आग्रह गर्नु भयो । 

    शाखा कमिटीको विस्तारित भेलाले निर्वाचन परिचालनसँगै विभिन्न जिम्मेवारी समेत बाँडफाँड गरिएको सो पार्टीले जानकारी दिएको छ । विस्तारित भेलाले निर्वाचन परिचालन, युवा परिचालन, विद्यार्थी परिचालन, महिला परिचालन, कार्यालय व्यवस्थापन, जनप्रतिनिधि समन्वय लगायतका विभिन्न उपसमिति गठन गरिएको पार्टीका नगर सचिव गणेश डुम्रेले जानकारी दिनुभयो । 

    बैठकमा एमालेको केन्द्रीय अनुशासन आयोगका सदस्य डा. कृष्ण प्रसाद न्यौपाने, क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजक प्रकाश अर्याल, हरि पाण्डे, खेमप्रसाद पाण्डे, दिलबहादुर सिंजाली, रेनुका पाण्डे, गीता सापकोटा लगायतले बोल्नुभएको थियो ।

    देवदह–५ को शाखा कमिटी अध्यक्ष चक्रपानी न्यौपानेको अध्यक्षता, ७ को अध्यक्ष रीता थापा र ८ को अध्यक्ष लेखनाथ भट्टराईको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।