बुधवार , पौष ३०, २०८२
भैरहवा, ३० पुष । रुपन्देहीको सबैभन्दा पुरानो अस्पतालको रुपमा रहेको भीम अस्पतालले न्युनतम सेवा मापदण्डमा सुधार गरेको छ ।
लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदन्डको लागि गठित समितिको एक वर्षको अवधिमा विभिन्न सूचकाङ्कको आधारमा गरिएको मूल्यांकनबाट अस्पतालको सेवा प्रवाहको गुणस्तरीयतामा उल्लेखनीय सुधार देखिएको हो । लुम्बिनी प्रदेश मातहत आएपछि अस्पतालले सेवा प्रवाह र शुसासनमा उल्लेख्य सुधार गरेको छ ।
न्यूनतम सेवा मापदण्ड (एमएसएस) कार्यान्वयन मूल्यांकनमा गत बर्ष ९४ प्रतिशत अंक प्राप्त गरेको भीम अस्पतालले यस पटक एक प्रतिशत माथि उक्लिदै ९५ प्रतिशत ल्याएको छ ।
सरकारले लागु गरेको न्युनतम सेवा मापदण्ड कार्यक्रम कार्यन्वयनमा हाल सम्म अनुगमन गरिएका मध्ये भीम अस्पताल दोश्रोमा रहेको छ । पहिलो बनेको बर्दियाको बर्दिया जिल्ला अस्पतालले ९६ प्रतिशत ल्याएको न्युनतम सेवा मापदण्ड अनुगमन समितिले जनाएको छ ।
भीम अस्पतालमा आयोजित कार्यक्रममा मूल्यांकन तथा अनुगमन समितिले तथ्यांक सार्वजनिक गर्दै भीम अस्पतालले ९५ प्रतिशत अंक ल्याएको बताएको हो ।
अस्पतालले प्रदान गर्नुपर्ने न्यूनतम सेवाको अवस्था, पारदर्शिता, फोहोर व्यवस्थापन, फार्मेसीबाट हुने सेवा प्रवाह लगायत दर्जन बढी मापदण्ड राखेर मूल्यांकन गरिएको थियो ।
अनुगमन समितिले अस्पताल प्रशासन, व्यवस्थापन, बजेट खर्चको अवस्था, विशेषज्ञ सेवा, निःशुल्क उपचार सेवा, सरसफाई लगायतका सूचकलाई मुख्य आधार मानेर मूल्यांकन गरिएको अनुगमन समितिले जनाएको छ ।
न्यूनतम सेवा मापदण्ड (एमएसएस) कार्यन्वयन कार्यक्रम अन्तरगतको अस्पताल अनुगमन, मूल्यांकन तथा समीक्षा कार्यक्रममा भीम अस्पतालको सेवा प्रवाहमा लगातार रुपमा सुधार हुदै गएको बताईएको छ ।
कपिलवस्तु अस्पतालका प्रमुख तथा अनुगमन समितिका संयोजक डा. किशोर बन्जाडेले अस्पतालको सेवा प्रवाहलाई दिर्घकालिनन बनाउने बिषयमा गंभिर बन्नु पर्ने बताउनु भयो । उहाँले अस्पतालको भौतिक पूर्वाधार सहित उपचारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिदै अस्पतालले दिने सेवालाई चुस्त बनाउनु पर्नेमा जोड दिनुभयो ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले अस्पताललाई सरसफाई र सुन्दरीकरणमा बिशेष जोड दिनु पर्ने बताउनु भयो । अस्पतालको महिला तथा प्रसूति वार्ड बिशेष रुपमा सफा हुनुपर्नेमा जोड दिँदै अस्पताल परिसरभित्र सुन्दरीकरण हुन जरुरी रहेको बताउनु भयो ।
भीम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.वर्षा थापाले सिमित जनशक्तिका वीच अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्नमा लागि परेको बताउनु भयो । उहाँले अस्पतालमा अपुग जनशक्ति व्यवस्थापन गर्दै सेवालाई अझै प्रभावकारी बनाउदै लैजाने बताउनु भयो ।
अस्पतालले दक्ष जनशक्तिबाट उत्कृष्ट सेवा दिन थालेपछि अहिले सबै समुदाय र बर्गका नागरिकले भीम अस्पतालबाट उपचार तथा स्वास्थ्य सेवा लिईरहेको अस्पतालका व्यवस्थापक सुरेन्द्र अधिकारीले जानकारी दिनुभयो ।उहाँले अस्पतालमा सेवा सुुबिधा बढ्दै गएपछि उपचारका लागि आम नागरिकको चाप पनि बढ्दै गएको छ ।
वि.सं. १९९० सालमा स्थापना भएको यो अस्पतालमा भैरहवा लगाएत रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारसहित नवलपरासी र कपिलवस्तुका बिरामी पनि उपचारको लागि आउने गरेको भीम अस्पतालले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij