मंगलवार , पौष २९, २०८२
भैरहवा, २९ पुस । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ अन्तर्गत मंगलबारदेखि टी–ट्वान्टी सिरिज सुरु भएको छ । सिरिजको पहिलो खेलमा रुपन्देही–११ विजयी भएको छ ।
रुपन्देहीले त्रिभुवन आर्मी क्लब ‘ए’ लाई २६ रनले पराजित गरेको हो । यसअघि रुपन्देहीले आर्मीविरुद्ध दुईदिवसीय टेष्ट र एकदिवसीय सिरिज क्लिनस्वीप गरिसकेको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको रुपन्देहीले ९ विकेट गुमाएर १ सय ९ रन बनायो । उसका लागि सुमन पाण्डेले २१, आकाश त्रिपाठीले १७, विष्णु कटरियाले १४, विजय प्रजापति र सन्दीप रजालीले समान १२ तथा इकलाख अहमदले ११ रन जोडे । बलिङमा आर्मीका जितेन्द्र सिंह ठकुरीले ३, पवन कार्कीले ३ तथा पारस सिंह धामी र प्रेम गुरुङले १–१ विकेट लिए ।
१ सय १० रनको लक्ष्य पछ्याएको आर्मीले १६ ओभर ५ बलमा अलआउट हुँदै जम्मा ८३ रनमात्रै जोड्यो । आर्मीलाई सस्तैमा रोक्न रुपन्देहीका विष्णु कटरियाले ४ ओभरमा २ मेर्डनसहित ६ रन खर्चेर ५ विकेट हात पारे । यस्तै, सन्दीप मौर्यले ३ तथा रमेश कुर्मी र आकाश त्रिपाठीले १–१ विकेट हात पारे । आर्मीका पवन कार्कीले ३७, प्रदीपसिंह चाइसिरले १५ र जितेन्द्र सिंह ठकुरीले १३ रन बनाए पनि अन्य ब्याटर नचल्दा टीमले हार व्यहोर्यो । खेलमा रुपन्देहीका विष्णु कटरिया प्लेयर अफ द म्याच भइ २ हजार रुपैयाँ प्राप्त गरे ।
नेपालमै पहिलोपटक तीनवटा फम्र्याटमा दुई टीमबीच प्रतिष्पर्धा भइरहेको हो । दुईदिवसीय टेष्ट र एकदिवसीय सिरिज सकिएसँगै टि–ट्वान्टी सिरिज सुरु भएको प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए । प्रतियोगितालाई भैरहवाका व्यवसायी हरिष सेठिया र सुनिल सेठियाले आफ्ना बुवा स्वर्गीय पवन कुमार सेठियाको स्मृतिमा मुख्य प्रायोजन गरेका छन् ।
प्रतियोगितामा विजेता टीमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यी दुवै पुरस्कार लुम्बिनी नेत्रालय प्रा.लि. भैरहवाले प्रायोजन गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij