सोमवार , पौष २८, २०८२
बुटवल, २८ पुस । रुपन्देहीको बुटवलमा ११ औं जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । एभरेष्ट इङलिस मावि बुटवलको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगितामा जिल्लाभरीका डेढ दर्जन सामूदायिक र संस्थागत विद्यालयका टीमहरुको सहभागीता रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा न्यू होराईजन र आयोजक एभरेष्ट मावि विजयी भएका छन् । पहिलो उद्घाटन खेलमा देवदह इङलिस बोर्डिङ स्कुललाई सोझो सेटमा हराउँदै होराइजन मावि बुटवलले अघिल्लो चरणमा प्रवेश गरेको छ ।
त्यस्तै सोमबार नै भएको दोस्रो खेलमा अक्सफोड मावि बुटवललाई सोझै सेटमै पराजित गर्दै आयोजक एभरेष्ट इङलिस माविले अघिल्लो चरणको यात्रालाई सुरक्षित गरेको खेल संयोजक अर्जुन घिमिरेले जानकारी दिनुभयो । त्यसै गरी सोमबार नै भएको तेस्रो खेलमा ग्रीन प्लान्ट मावि देवदह, चौथो खेल र पाँचौ खेलमा देवदह बुद्ध पब्लिक विजयी भएका हुन् । प्रतियोगिताका अन्य खेलहरु मंगलबार र बुधबार हुने तथा फाइनल खेल बुधबार हुने उहाँले बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाई, रुपन्देहीका प्रमुख विष्णु प्रसाद पन्थीले खेलकुदले विद्यार्थीको चौतर्फी विकास गर्ने उल्लेख गर्नुभयो । उहाँले संस्थागत विद्यालयहरुले शैक्षिकसँगै खेलकुदको क्षेत्रमा ठुलो लगानी गरेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष टीकाराम न्यौपाने, हिसानका केन्द्रीय सदस्य दिनेश भुसाल, अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, प्याब्सनका रुपन्देही अध्यक्ष दीपक खनाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, विद्यालयका सह–प्राचार्य भिमसेन गौतमलगायतले खेलकुदको विकासमा निजी विद्यालयहरुको भुमिका महत्वपूर्ण रहदै आएको उल्लेख गर्दै सहभागि टीमलाई विजयको शुभकामना दिनुभयो ।

कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण न्यौपानले विद्यालयले शैक्षिकसँगै आन्तरिक, नगर र जिल्लास्तरीय विभिन्न कार्यक्रमहरु निरन्तर आयोजना हुँदै आएको बताउनुभयो । शिक्षक माधव पौडेलको सञ्चालनमा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रमको अवसर पारेर विद्यालयले खेलकुद सप्ताहको पनि शुभारम्भ गरेको छ । कक्षा १ देखि मावि तहका विद्यार्थीहरुले विभिन्न विधामा प्रतिष्पर्धा गर्ने सप्ताहमा भलिबल, स्कीपिङ रेश, टायर रेश, बुक रेश, हाइजम्प, लगजम्प, ब्यालुन ब्लाष्ट, म्युजिकल चियरलगायतका प्रतिष्पर्धाहरु हुनेछन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij