२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

अब काँग्रेसको सभापति शेखर कोईराला हो : सुनिल शर्मा

सोमवार , पौष २८, २०८२

  • 355
    Shares
  • 355
    Shares
  • काठमाडौं, २८ पुस । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले जारी नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट नीति मात्रै पारित हुने दाबी गर्नुभएको छ । 

    सोमवार काठमाडौंमा डा. शेखर कोईराला पक्षधरहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । आईतवारबाट नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गर्नुभएको विशेष महाधिवेशन अहिले भृकुटीमण्डपमा जारी छ ।

    तर संस्थापन पक्षसहितका शिर्ष नेताहरु महाधिवेशनमा सहभागी छैनन् । यता डा. कोईराला पक्षधर नेताहरुले भने छुट्टै भेला गरेका छन् । उनीहरुले पार्टी फुट्न दिन नहुने भन्दै कोईरालालाई पहल गर्न आग्रह गरेका छन् ।

    सञ्चारकर्मीहरुसँगको कुराकानीमा शर्माले पार्टी नफुटोस् भन्ने सबैको चाहना रहेको बताउनु भयो । शेखर कोईरालाले आत्मसमर्पण गर्नुभयो भन्ने भ्रम फैल्याइएको भन्दै पार्टी फुट्न नदिन दुवै पक्षका नेताहरुसँग आफूले पहल गर्ने कोईरालाले बताउनुभएको जानकारी दिनुभयो । नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने माग शेखर कोईराला पक्षको रहेकाले आफूहरुको माग हाइज्याक भएको बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘पार्टी नफुटोस् भन्ने नै हो । पार्टी फुटको संघारमा रहेकाले त्यो नफुटोस् भन्ने नै हो । शेखर कोईरालाले आत्मसमर्पण गरे भन्ने ढंगले बाहिर लगिएको छ । पार्टी नफुट्ने लाइनमा सबैलाई आग्रह गर्ने कुरा भएको छ ।

    एउटा समाधान निकालेर पार्टी फुट्न नदिन आग्रह गर्ने कुरा भएको छ । हामी पार्टी फुट्न दिनु हुँदैन भन्ने लाइनमा छौँ । नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने एजेण्डा हाम्रै हो । बीचमा आइज्याक भएको हो । समयमा अधिवेशन हुनुपर्छ भनेर हाम्रो टिमले भन्दै आएको हो । अधिवेशनको एजेण्डा त हाम्रै हो नि ।’

    उहाँले डा. शेखर कोईराला काँग्रेसको सभापति बन्ने तर विशेष महाधिवेशनबाट नीति मात्रै पास हुने दाबी गर्नुभयो । वैशाख वा असारमा हुने नियमित महाधिवेशनबाट कोईराला काँग्रेसको सभापति बन्ने बताउनु भयो ।