२०८२, फाल्गुण १३ गते

Feb 25 2026 | २०८२, फाल्गुण १३ गते

‘सांगठनिक समायोजन भनेर काठमाडौं गएका थियौं तर, व्यवहारमा देखिएन’

शनिवार , पौष २६, २०८२

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, २६ पुस । नागरिक उन्मुक्ति पार्टी (नाउपा), का पूर्व नेतृत्व, थरुहट–थारुवान अभियन्ता र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको समायोजन प्रक्रियाप्रति रुपन्देहीबाट असन्तुष्टी व्यक्त गरिएको छ । 

    हालै काठमाडौंस्थित राष्ट्रियसभा गृहमा भएको राजनीतिक समायोजन तथा घोषणासभाको प्रक्रियाप्रति आफूहरुको असहमति रहेको नेताहरुले बताउनुभयो । 

    नाउपा रुपन्देहीका पूर्व जिल्ला पूर्व जिल्ला अध्यक्ष तुल्सी थारुले आफूहरु रास्वपामा प्रवेश गर्ने भनेर काठमाडौं नगएको बताउनुभयो । ‘नाउपा, थरुहट–थारुवान अभियन्ताहरु रास्वपामा प्रवेश नभइ समायोजनका लागि गएका थियौं । समायोजन भनेको मिल्नु हो, मिल्नु भनेको दुईवटा तत्व, वर्ग, विचारधाराबीच एकताको कुरा हुन्छ, ’उहाँले भन्नभुयो–‘त्यसमा पनि समायोजनाको कुरा हुँदा अस्तित्वको कुरा हुन्छ ।’

    उहाँले तराई–मधेशमा भएको समस्या, मधेशी, थारु, पिछडा वर्ग, सिमान्तकृतको अस्तित्वको कुरा नदेखिएको बताउनुभयो । ‘सांगठनिक समायोजनका लागि गएका थियौं । तर, संगठनभित्र समायोजन देखिएन, ’थारुले भन्नुभयो ।
    समायोजन प्रक्रियामा मधेशी, थारु, पिछडा वर्ग र सीमान्तकृतको कुरासँगै वैचारिक एकताको कुरा आउन नसकेकोले आफूहरु धेरै असन्तुष्ट रहेको उहाँले बताउनभयो । ‘वैचारिक एकतामा आफूहरुले उपस्थिति र मुद्दालाई अगाडि ल्याउन सकेनौ भने कसरी समायोजन हुन्छ ? ’उहाँले प्रश्न गर्नुभयो । असन्ुष्टीलाई यथाशक्य चाँडो वैचारिक र सांगठनिक एकतामार्फत सम्बोधन गर्ने प्रक्रियामा जान उहाँले आग्रह गर्नुभयो ।

    आफूहरुको माग सम्बोधन नभइ अर्को बाटोतर्फ जाने उहाँले दावी गर्नुभयो । ‘मधेशी, थारु, पिछडावर्ग पहिलेदेखि संघर्षरत छौं, हामीले उठाएका माग सम्बोधन नभए रास्वपा परित्याग गरी स्वतन्त्र रुपमा अगाडि बढ्नेछौं, ’उहाँले भन्नुभयो । रास्वपाले मधेशी, थारु तथा पिछडा वर्गको समस्या समाधान गर्न नसक्ने देखिएको उहाँको भनाइ छ ।

    पार्टीका पूर्व जिल्ला उपाध्यक्ष राकेश कोइरीले रास्वपाका सभापति रवि लामिछानेलाई साथ दिन तयार भएर नै काठमाडौंमा आयोजित राजनीतिक समायोजन तथा घोषणासभामा सहभागी भएको बताउनुभयो । ‘केन्द्रमा समायोजन भनिए पनि प्रदेश र जिल्लामा समायोजन भयो ? भन्दै उहाँले प्रश्न गर्नुभयो । उहाँले दास बनेर पार्टीको सहयोग गर्न नसक्ने बताउनुभयो । दास बनेर नै काम गर्ने हो भने पूराना पार्टी र रास्वपाबीच के फरक छ भन्दै उहाँले प्रश्न गर्नुभयो ।

    अनिल यादव, दिनेश यादव, अमरनाथ पाण्डे, अजय सहानी, महेश गिरी, केशव चौधरी, मन्जु चौधरी, राधा चौधरी, तारा चौधरी, कैलाश चौधरीसहित नाउपा परित्याग गरेका रुपन्देही जिल्लामा रहनुहुने नाउपाका पूर्व केन्द्रीय सदस्यहरु, प्रदेश र जिल्लास्तरीय नेताहरुको समायोजनप्रति असन्तुष्टी रहेको उहाँले बताउनुभयो ।  

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्वका साथै थरुहट, थारुवान अभियन्ताहरूबीच गत पुस २१ गते बृहत राजनीतिक समायोजन सहमति भएको थियो । काठमाडौंको राष्ट्रिय सभागृहमा भएको सभामा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, थरुहट–थारुवान अभियन्ता लक्ष्मण थारु, नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित र थरुहटथारुवान अभियन्ता सुरेन्द्र चौधरीले सहमति–पत्रमा हस्ताक्षर गर्नुभएको थियो । उहाँहरूबीच ९ बुँदे सहमति भएको छ ।