बुधवार , पौष २३, २०८२
रुपन्देही, २३ पुष । धार्मिक, आध्यात्मिक पर्यटनका साथसाथै पर्या पर्यटनमार्फत लुम्बिनीको प्रबद्धन गर्ने उद्धेश्य अनुरुप नेपाल बर्ड फेयर हुन लागेको छ । पोखरा पंछी समाजको आयोजना तथा ग्रिन युथ लुम्बिनीको सहआयोजना बुद्ध जन्मस्थल लुम्बिनीमा आउदो माघ १२ र १३ गते तेस्रो नेपाल बर्ड फेयर हुन लागेको हो । बुद्ध जन्मस्थल लुम्बिनीमा हुने नेपाल बर्ड फेयरको आबश्यक तयारी थालिएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
नेपाल बर्ड फेयर कमिटीका संयोजक तथा पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले नेपालका चरा प्रजाति, जैविक विविधता तथा चराको वासस्थान रहेका सिमसार र वन क्षेत्र लगाएतको संरक्षणबारे जनचेतना विस्तार गर्न कार्यक्रम गर्न लागिएको बताउनु भयो । उहाँले स्वदेशी तथा विदेशी चराविद्, विज्ञ, गणक र चरासँग सरोकार राख्ने सरोकारवालाई एकै ठाउँमा सहभागी बनाएर बर्ड फेयर गर्न लागिएको बताउनु भयो ।
लुम्बिनी सांस्कृतिक नगरपालिका र नेपाल पर्यटन वोर्डको प्रवद्र्धन तथा नेपाल पंछी संरक्षण संघ, लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा बर्ड फेयर हुन लागेको हो ।
कार्यक्रम पूर्व माघ ७ र ८ गते स्थानीय २५ देखि ३० विद्यालयहरुमा चरा, तिनीहरुको महत्व, तिनका वासस्थान, संकट हुनुका कारण, संरक्षण आवश्यकता र प्रयासहरुका वारेमा जानकारी दिनइने छ । त्यसैगरि माघ ९ र १० गते लुम्बिनीमा रहेका स्थानीय ३० जना पथप्रर्दशकहरुलाई चराको पहिचान सम्बन्धी तालिम दिइने अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
‘यसका साथै विद्यार्थी, स्थानीय समुदाय, गाइड, अनुसन्धानकर्ता, सरकारी निकाय र संरक्षण संस्थाबीच ज्ञान–आदानप्रदान, सहकार्य र नेटवर्किङ मजबुत बनाउँदै पंछी–पर्यटन तथा प्रकृति–आधारित दिगो पर्यटनको प्रवद्र्धन गर्नु हाम्रो लक्ष्य हो’, उहाँले भन्नुभयो ।
कार्यक्रम उद्घाटन सत्र पछि मुख्य वक्ताको प्रस्तुति रहेनछ । यस्तै, ७ प्रकारका विषयमा बर्ड सिम्पोसियम (सम्मेलन), ई–बर्ड फोरम, बर्ड ब्रेन फोरम, एशियन पानीचरा गणना फोरम, सारस फोरम, भल्चर फोरम हुनेछन् ।
‘यी गतिविधिहरू लुम्बिनी बौद्ध विश्वविद्यालय परिसरभित्र सञ्चालन हुनेछन् । यसैगरी सारसको यस बर्षको अनुगमन लुम्बिनी फार्मल्याण्डमा गरिनेछ भने बर्ड रेस लुम्बिनी परिसर तथा आसपासका विभिन्न सिमसार र खेतबारीमा आयोजना हुनेछ’, घिमिरेले भन्नुभयो ।
आयोजकका अनुसार कार्यक्रमका अवसरमा चरा, तिनका बासस्थान साथै जैविक विविधता एबम् स्थानीय उत्पादनका स्टल प्रदर्शनी तथा बिभिन्न चराहरुका तस्बिर प्रदर्शनी गरिनेछ । ‘यी कार्यक्रम लुम्बिनी विकास कोष अन्तर्गतको थाई भिजिटर सेन्टर र लिटिल बुद्ध परिसरमा हुनेछ । साथै उक्त कार्यक्रम विजनेस टु विजनेस समेत आयोजना गरिनेछ’, उहाँले भन्नुभयो ।
चराविद् हटन चौधरीले चरा चिन्ने तरिका र गणनाबारे कार्यक्रममा सहभागीहरुलाई सिकाइने उल्लेख गर्नुभयो । चरा र पर्यटकनलाई जोडेर अघि बढेमा पर्यटकीय विकासमा समेत योगदान पुग्ने उहाँको भनाई छ ।
लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले कार्यक्रम सफल पार्न कोषले हातेमालो गर्ने जनाउनु भयो । उहाँले कार्यक्रमले लुम्बिनीको प्रबद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यबाहक प्रमुख कल्पना हरिजनले लुम्बिनी र यस आसपास धेरै सिमसार क्षेत्र रहेको जनाउँदै कार्यक्रमले ती क्षेत्रको प्रवद्र्धन र चरा संरक्षणमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
ग्रिन युथ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मीले चरा संरक्षणमा सबैले भूमिका खेल्नुपर्छ भन्ने सन्देश दिन कार्यक्रम गर्न लागिएको जनाउनु भयो । उहाँले कार्यक्रमका अवसरमा स्थानीय र लुम्बिनी क्षेत्रको प्रबद्र्धन समेत गरिने जानकारी दिनुभयो ।
बर्ड फेयरमा नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका पंछीविद, अनुसन्धानकर्ता, संरक्षणकर्मी तथा जैविक विविधता प्रेमीहरूको सहभागिता रहने आयोजकको भनाई छ । साथै भारत, भुटान, श्रीलंका, ताइवान, फिलिपिन्स, सिंगापुर र हङकङबाट चरा संरक्षणमा क्रियाशील संघसंस्था तथा टूर लिडरहरूको समेत सहभागिता रहनेछ ।
कार्यक्रममा डब्लुडब्लु एफ नेपाल, जेठएसएल नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, हिमालयन नेचर, टाइगर माउन्टेन पोखरा लजको पार्टनरसीप रहने छ भने प्रकृतिका क्षेत्रका विज्ञ, नेपाल पंछीविद संघ, बड्र्स नेपाल, बायोकोस नेपाल र वाइल्डकेयर नेपाल साझेदार संस्थाका रूपमा छन् । त्यसैगरी हिमालयन ट्रेल्स ट्रेकिङ एण्ड क्लाइम्बिङ प्रालि, नेपाल नेचर ट्रेक्स एण्ड ट्राभल्स प्रालि, शेर्पा सोसाइटी प्रालि, शेर्पालय ट्रेक्स एण्ड एक्सपेडिसन प्रालि, नर्थ पोइन्ट मल र एयर डाइनेस्टी हेली प्रालि सर्भिस कर्पोरेट पार्टनरको रुपमा रहने छन् । लुम्बिनी बुद्ध गार्डे, ग्रिन पार्क चितवन, होटेल मुनलाइट प्रालि, सारस लुम्बिनी टूर, ब्रिथ नेपाल ट्रेकिङ प्रालि, आरोमा ट्रेक्स एन्ड एक्स्पिडिसन प्रालि कार्यक्रमका हस्पिटालिटी पार्टनरका साथै अप्टिसान अप्टिक पार्टनरमा रहनेछन् ।
यस बर्ड फेयरमा नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका पंछीविद, अनुसन्धानकर्ता, संरक्षणकर्मी तथा जैविक विविधता प्रेमीहरूको सहभागिता रहनेछ । साथै भारत, भुटान, श्रीलंका, ताइवान, फिलिपिन्स, सिंगापुर र हङकङबाट चरा संरक्षणमा क्रियाशील संघसंस्था तथा टूर लिडरहरूको समेत सहभागिता रहनेछ । दुई सय जनाको प्रस्तुति हुने कार्यक्रम करिब ३० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । कार्यक्रम सम्पन्न गर्न ३१ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij