२०८२, पौष २३ गते

Jan 07 2026 | २०८२, पौष २३ गते

हाटीवनगाई खानेपानी संस्थामा नयाँ नेतृत्व, अध्यक्षमा बन्जाडे सर्वसम्मत

मंगलवार , पौष २२, २०८२

  • 562
    Shares
  • 562
    Shares
  • भैरहवा, २२ पुस । रुपन्देहीको मायादेवी गाउँपालिका–८ बसडिलवा (लालीगुराँस पथ) स्थित हाटीवनगाई खानेपानी उपभोक्ता तथा सरसफाई संस्था (वडा नम्बर ३, ४ र ५) को प्रथम साधारण सभा तथा प्रथम अधिवेशनबाट सम्पन्न भएको छ । 

    सोमबार खानेपानी संस्थाको प्रांगणमा भएको साधारण सभा तथा अधिवेशनले गोपाल बन्जाडेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संस्थाको उपाध्यक्षमा सरस्वती जि.सी., सचिवमा प्रदीप कुमार गुरुङ, कोषाध्यक्षमा दिपक रेग्मी र सह–सचिवमा नरहरि सुवेदी चयन हुनुभएको छ ।

    त्यसै गरी सदस्यहरूमा विक्रम सुनार, विष्णु जि.सी., गंगा जि.सी., प्रशान्त कुँवर, ज्ञानेश्वर चौधरी, तारा प्रसाद जैसी र दिपक देवकोटा चयन हुनुभएको छ ।

    कार्यक्रममा संस्थाका अध्यक्ष शंकर प्रसाद ज्ञवालीले प्रतिवेदन प्रस्तुत गर्दै खानेपानी आयोजनाका चुनौतीबारे जानकारी गराउनुभयो । उहाँले उपभोक्ताहरू पानी अभावका कारण संस्था समक्ष आउन नपरेको अवस्था उल्लेख गर्नुभयो । अध्यक्ष ज्ञवालीले खानेपानी ट्यांकी निर्माणमा टेण्डर प्रक्रिया भए पनि ट्यांकी निर्माण कार्य ५–७ वर्षसम्म अल्झिँदा समस्या जटिल बनेको बताउनुभयो । ‘लामो समयसम्म आयोजना अघि नबढ्दा करिब १३ किलोमिटर पाइपलाइन ध्वस्त भएको छ, उहाँले भन्नुभयो–‘अहिले निर्माण सम्पन्न भइसकेकाले सबै उपभोक्तालाई नियमित रूपमा खानेपानी प्रयोग गर्न म आग्रह गर्दछु ।’

    कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीले स्वच्छ खानेपानी मानव जीवनको आधार भएको उल्लेख गर्नुभयो । उहाँले पानीको उचित संरक्षण, सदुपयोग र दिगो व्यवस्थापनमा सबै उपभोक्ताको साझा दायित्व रहने बताउनुभयो । उनले खानेपानीको पहुँचले स्वास्थ्य, सरसफाइ र समग्र जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने भएकाले यस किसिमका संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

    त्यस्तै मायादेवी गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरीले गाउँपालिकाले खानेपानी तथा सरसफाई क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले उपभोक्ता संस्थासँग सहकार्य गर्दै सेवा विस्तार र सुधारमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष चौधरीले संस्थाको पहिलो साधारण सभा तथा अधिवेशन सफलतापूर्वक सम्पन्न हुनु सुखद पक्ष भएको बताउनुभयो ।

    मायादेवी गाउँपालिका–८ का वडाअध्यक्ष चोक बहादुर थापाले खानेपानी संस्थालाई यहाँसम्म ल्याउन योगदान गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले आफू पनि विगतमा यो संस्थामा रहेको र अहिले जनप्रतिनिधिको भूमिकामा रहेको बताउनुभयो ।
    कार्यक्रममा संस्थाको कोषाध्यक्ष सरस्वती पौडेल लगायतले बोल्नुभएको थियो ।

    संस्थाका अध्यक्ष शंकर प्रसाद ज्ञवालीको अध्यक्षता तथा सचिव जगन्नाथ न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उपभोक्ता, समाजसेवी तथा सरोकारवालाहरूको उपस्थिति थियो ।