२०८२, पौष २१ गते

Jan 05 2026 | २०८२, पौष २१ गते

रुपन्देही विद्युतीय व्यवसायी संघको अध्यक्षमा केशव सिंह

आइतवार , पौष २०, २०८२

  • 571
    Shares
  • 571
    Shares
  • बुटवल, २० पुस । रुपन्देही विद्युतीय व्यवसायी संघको १४ औं साधारण सभा एवं आठौं अधिवेशन बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी वक्ताहरुले विद्युतीय सामग्री उद्योग तथा ब्व्यसायमा उत्पन्न समस्या समाधानका लागि आवश्यक कदम चाल्न सरकारसँग आग्रह गर्दै अस्वस्थ प्रतिष्पर्धा, खुल्ला सिमाना र चोरीपैठारीबाट आउने भारतीय सामग्री मुख्य समस्या रहेको बताएका छन् । 

    कार्यक्रमको उद्घाटन गर्दै नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष दिलिप कुमार अग्रवालले विद्युतीय सामग्रीको व्यवसायलाई संस्थागत, मर्यादित, गुणस्तरप्य र दिगो बनाउन सम्पूर्ण व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । संघले व्यवसायीहरुको हकहित संरक्षण र पेशागत इमान्दारितालाई आफ्नो मुख्य कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष अग्रवालले यसका लागि सम्पूर्ण व्यवसायीहरु एकताबद्ध हुनु आवश्यक रहेको बताउनुभयो । 

    रुपन्देही विद्युतीय व्यवसायी संघका संस्थापक अध्यक्ष अनन्तमान थैवले गुणस्तरीय स्वदेशी सामग्रीको उत्पादन तथा विक्रीवितरणलाई प्राथमिकतामा राख्न जोड दिनुभयो । उहाँले गुणस्तरहीन विद्युतीय सामग्रीको आयातलाई प्रतिस्थापन गर्नु मुख्य चुनौती रहेको बताउनुभयो । 

    बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्ति अधिकारीले राज्यको झण्झटिलो कर प्रणाली र व्यवसायी तर्साउने कर नीतिलगायतका कारण व्यवसायीहरु उत्साहित हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । 

    निवर्तमान अध्यक्ष रेश्म देवकोटाले अस्थिर राजनीतिका कारण उद्योग–व्यवसाय र समग्र देश नै समस्यामा पर्ने गरेको र राजनीतिक स्थिरता, पारदर्शीता, आपसी एकता जस्ता विषयमा महत्व दिन आवश्यक रहेको धारणा राख्नुभयो । 

    रुपन्देही विद्युतीय व्यवसायी संघका अध्यक्ष शान्ताराज खराल, पूर्वअध्यक्ष लोकनाथ पोखरेल, वरिष्ठ उपाध्यक्ष केशवकुमार सिंह, उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे, महासचिव विष्णु प्रसाद भण्डारी लगायतले विद्युतीय सामग्री व्यवसाय क्षेत्रका समस्या र समाधानका उपायहरुबारे चर्चा गर्नुभएको थियो । 

    अधिवेशनले केशव कुमार सिंह (सुजित) को अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा विष्णु भण्डारी, प्रथम उपाध्यक्षमा भिमलाल अधिकारी, द्वितीय उपाध्यक्षमा रमा क्षेत्री, महासचिवमा चिरञ्जिवी गैरे, कोषाध्यक्षमा गणेश पन्त, सचिवमा जीवन प्रसाद उपाध्याय, सह–कोषाध्यक्षमा वसन्तदेव पौडेल, लेखा समितिको संयोजकमा अनिल सुजन कुंवर, सदस्यहरुमा विष्णु प्रसाद पाण्डे, उमाशंकर कुसाहा, अर्जुन भारती, विमल पौडेल, हुमनाथ पराजुली, मिलन अर्याल र विकास जिसी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।