शनिवार , पौष १९, २०८२
भैरहवा, १९ पुस । रुपन्देही क्रिकेट संघको आयोजनामा पुस २० गते आइतबार (भोली) देखि भैरहवामा ‘पवन कुमार सेठिया स्मृति मैत्रीपूर्ण क्रिकेट सिरिज–२०८२’ हुने भएको छ ।
सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा माघ १ गतेसम्म हुने प्रतियोगितामा दुईवटा टीमको सहभागीता रहने प्रतियोगिताका संयोजक प्रथम पराजुलीले जानकारी दिनुभयो । संयोजक पराजुलीका अनुसार प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ‘ए’ र रुपन्देही जिल्ला क्रिकेट टीमबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख खर्च लाग्ने उहाँले बताउनुभयो । आयोजकका अनुसार प्रतियोगिता अवधिभर ९० ओभरका एउटा, एकदिवसीय तीनवटा र टी–२० तीनवटा खेल हुनेछन् । पुस २० र २१ गते टेष्ट, २३, २५ र २७ गते ओडीआई, २९, ३० र माघ १ गते टी–२० क्रिकेट हुने पराजुलीले जानकारी दिनुभयो ।
भैरहवा निवासी हरिश सेठिया र सुनिल सेठियाले आफ्ना बुवा स्वर्गीय पवन कुमार सेठियाको स्मृतिमा प्रतियोगिताको प्रमुख प्रायोजन गर्नुभएको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले जानकारी दिनुभयो । अध्यक्ष थापाका अनुसार प्रतियोगितामा म्यान अफ द सिरिजलाई ५ हजार रुपैयाँका साथै ट्रफी, प्रत्येक खेलको म्यान अफ द म्याचलाई २ हजार रुपैयाँका साथै ट्रफी र विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । म्यान अफ द सिरिज र म्यान अफ म्याच पुरस्कारको प्रायोजन लुम्बिनी नेत्रालय भैरहवाले गरेको छ ।
‘सम्भवतः यस्तो प्रतियोगिता नेपालमै पहिलोपटक आयोजना गर्दैछौं । यो नौलो प्रयास हो, ’उहाँले भन्नुभयो । खेलाडीको प्रतिभा प्रस्फुटन गर्ने र आत्मविश्वास बढाउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको उहाँले बताउनुभयो ।
नेपाल क्रिकेट संघ (क्यान) का निवर्तमान कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले रुपन्देही क्रिकेट संघले पहिलोपटक आयोजना गर्न लागेको यो प्रतियोगिता ऐतिहासिक भएको बताउनुभयो ।
त्रिभुवन आर्मी क्लब ‘ए’ टीमका कप्तान जितेन्द्र सिंह ठकुरीले यस्ता प्रतियोगिताले खेलाडीको विकासमा मद्दत पुग्ने बताउनुभयो । ‘खेलाडी जति खेल्छ उसको खेलमा त्यति नै सुधार हुन्छ भन्ने हाम्रो बुझाइ हो, ’उहाँले भन्नुभयो ।
त्यस्तै रुपन्देही जिल्ला क्रिकेट टीमका कप्तान देव खनालले यस्तो प्रतियोगिताले खेलाडीलाई खेलमै व्यस्त बनाउने बताउनुभयो । उहाँले रुपन्देही जस्तै भविष्यमा अन्य जिल्लाहरुमा पनि यस्ता सिरिज हुने विश्वास व्यक्त गर्नुभयो । ...
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij