२०८२, पौष १४ गते

Dec 29 2025 | २०८२, पौष १४ गते

लुम्बिनी न्यूज फेस्टिबल : १५ बुँदे घोषणापत्र जारी

सोमवार , पौष १४, २०८२

  • 514
    Shares
  • 514
    Shares
  • भैरहवा, १४ पुस । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित तीन दिवसीय तेस्रो लुम्बिनी न्यूज फेस्टिबल १५ बुँदे लुम्बिनी घोषणा पत्र–२०८२ जारी गर्दै सम्पन्न भएको छ । 

    पुस १२ गतेदेखि सुरु फेस्टिबल सोमबार घोषणापत्र जारी गर्दै सम्पन्न भएको कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले जानकारी दिनुभयो ।

    घोषणापत्रमा मोफसलको पत्रकारितालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसको केन्द्रमा स्थापित गर्न लुम्बिनी न्यूज फेस्टिबललाई नियमित र दिगो प्लेटफर्मका रूपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरिएको क्लबका अध्यक्ष कमल रायमाझीले बताउनुभयो ।

    त्यस्तै तथ्यमा आधारित, जिम्मेवार र सकारात्मक पत्रकारितामार्फत् नेपाल–भारत सीमापार सम्बन्धलाई सुदृढ बनाउने विषयमा सञ्चारकर्मीको भूमिका अझ प्रभावकारी बनाउने, लुम्बिनी, कपिलवस्तु र आसपासका क्षेत्रमा हुने तथ्यबिहीन, अपुष्ट र नकारात्मक प्रचारप्रति सचेत रहँदै सत्य र सन्तुलित समाचार प्रवाहलाई प्राथमिकता दिने, बुद्ध जन्मस्थल लुम्बिनीलाई धार्मिक तीर्थस्थल मात्र नभई दक्षिण एसियासँगै विश्वभरकै महत्वपूर्ण पर्यटन, साँस्कृतिक र संवाद केन्द्रका रूपमा प्रवद्र्धन गर्न सञ्चार माध्यमले सक्रिय भूमिका खेल्ने, लुम्बिनीको पर्यटन प्रवद्र्धन, लगानी आकर्षण र आर्थिक विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार, लुम्बिनी विकास कोष, निजी क्षेत्र र सञ्चार क्षेत्रबीच सहकार्य अपरिहार्य गर्नेछन् ।

    त्यस्तै लुम्बिनी गुरुयोजना समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई जिम्मेवार बनाउँदै पारदर्शीता र जवाफदेहीता सुनिश्चित गर्न पत्रकारिताको निगरानी भूमिकालाई सशक्त बनाउने, सीमावर्ती क्षेत्रका साझा समस्या, अवसर र सहकार्यका सम्भावनालाई पत्रकारितामार्फत सन्तुलित र गहिरो ढंगले उठाउने विषयलाई प्राथमिकतामा राख्ने, मोफसलमा आधारित खोज, विश्लेषण र नीतिगत पत्रकारितालाई प्रोत्साहन गर्न तालिम, अध्ययन, अन्तरक्रिया र सहकार्य कार्यक्रम विस्तार गर्न जोड दिने, प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारको सुरक्षा र पेशागत मर्यादाको सम्मान सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, पत्रकारितामा प्रश्न गर्ने साहस, जिम्मेवारीबोध र जवाफदेहीताको संस्कृतिलाई बलियो बनाउन सम्पादकीय नेतृत्व र सञ्चार संस्थाले अग्रसरता लिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    त्यसै गरी पर्यटन, लगानी र विकाससँग जोडिएका स्थानीय मुद्दालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन डिजिटल मिडिया र नयाँ प्रविधिको प्रभावकारी प्रयोग गर्ने, नेपाल–भारत पत्रकारबीच अनुभव आदानप्रदान, सहकार्य र संयुक्त अध्ययनलाई निरन्तरता दिन क्षेत्रीय पत्रकार सञ्जाल विस्तार गर्ने, संघीय संरचनाअनुसार प्रदेश र स्थानीय तहका नीति, योजना र कार्यान्वयन प्रक्रियामा पत्रकारिताको भूमिका अझ प्रभावकारी बनाउन पहल गर्ने, लुम्बिनी न्युज फेस्टिवलमा उठाइएका बहस, सुझाव र निष्कर्षलाई कार्यान्वयनमा लैजान नियमित अनुगमन र संवादको संयन्त्र विकास गर्ने र तेस्रो लुम्बिनी न्युज फेस्टिवल सफल बनाउन सहआयोजक, सहकार्य गर्ने सरकारी तथा निजी क्षेत्र, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल, सहभागी वक्ता, पत्रकार र स्थानीय समुदायप्रति धन्यवाद ज्ञापन गर्ने घोषणा पत्रमा जनाइएको छ । 

    घोषणा पत्र लेखनको संयोजन लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले गर्नुभएको थियो । यसको सदस्यहरुमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष राम प्रसाद आचार्य, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव सीपी खनाल र लुम्बिनी प्रेस क्लबका पूर्वअध्यक्ष दीपेश पछाई रहनुभएको थियो ।