२०८२, पौष ७ गते

Dec 22 2025 | २०८२, पौष ७ गते

वन्यजन्तुको अवस्था र सुशासनसम्बन्धी वडास्तरीय छलफल कार्यक्रम सम्पन्न

सोमवार , पौष ७, २०८२

  • 460
    Shares
  • 460
    Shares
  • पाल्पा, ७ पुस । पाल्पाको तिनाउ गाउँपालिकाभित्र पर्ने चुरे क्षेत्रमा रहेका सामुदायिक वन  र वन्यजन्तुको अवस्था एवम् सुशासनसम्बन्धि वडास्तरीय सप्ताहव्यापी छलफल कार्यक्रम सम्पन्न भएको छ । तिनाउ–६ स्थित डुम्रेमा रहेको वडा सम्पर्क कार्यालयमा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो । 

    कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय, पाल्पाका सिनियर डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठले सप्ताहव्यापी वडास्तरीय छलफल कार्यक्रमबाट उपभोक्ता समूहका खास समस्या एवमं चुनौतीहरु बुझ्ने र समितिका पदाधिकारीहरुसँग समन्वय, सहकार्यका लागि परिचित हुने अवसर जुरेको, वन ऐन, कानून, कार्यविधि सम्बन्धि जानकारी दिनका लागि फोरम उपलब्ध भएको बताउँदै वनलाई सम्पदाका रुपमा मात्र नभइ स्रोतका रुपमा पनि प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

    वनमा डढेलो लगाउने कार्य अवाञ्छित रहेको हुँदा समितिले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो । डढेलो लाग्दा वन, वन्यजन्तु, बहुमूल्य जडिबुटी विनास हुने भएको हुँदा कसैले पनि डढेलो लगाउन नहुने कुरामा समूहले प्रचारप्रसार गर्नुपर्नेमा उहाँको जोड थियो । 

    कार्यक्रममा वडाध्यक्ष टोमबहादुर पुनले आफ्नो वडाभित्रका सावउसहरुलाई संस्थागत विकास र सशक्तिकरण सम्बन्धि तालिम र प्रशिक्षण दिनका निम्ति डिभिजन वन कार्यालय र समन्वय समितिसँग अनुरोध गर्नुभयो ।

    वातावरण विद् एवम् पर्या–साहित्य सर्जक विजय हितानले वनसँगै पानीको संरक्षण र सरसफाईमा ध्यान दिनुपर्ने बताउँदै बेलायतमा गरिएका संरक्षणमुखी अभियान र प्राप्त अनुभवहरु प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा तिनाउ सब–डिभिजन वन कार्यालय, तिनाउका वरिष्ठ अधिकृत प्रेम चौधरीले सहभागीहरुबाट आएका समस्याहरुका बारेमा आफ्नो कार्यालयको तर्फबाट गर्न सकिने सहयोगका सन्दर्भमा प्रष्ट्याउनुभएको थियो । 

    सामुदायिक वन समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङले तिनाउका ६ वटै वडाका सावउसहरुसँग वडास्तरीय छलफल कार्यक्रमबाट समूहको ऐना हेर्ने अवसर जुटेको बताउनुभयो । उहाँले समितिका पदाधिकारीहरुबाट उठाइएका सवालहरु र समाधानका लागि अपनाउनुपर्ने विषयमा समीक्षा प्रस्तुत गर्नुभएको बताउनुभयो ।

    वन जोगाउँदै सही सदुपयोग गर्न समूहरुले पहल गर्नुपर्नेमा जोड दिदै सामुदायिक वनहरुले वैकल्पिक आम्दानीका बाटाहरु खोज्नुपर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन समन्वय समितिका महासचिव गणेश रास्कोटीले गर्नुभएको थियो ।