२०८२, पौष ७ गते

Dec 22 2025 | २०८२, पौष ७ गते

‘ध्यानले सकारात्मक सोचको विकास गर्छ’

सोमवार , पौष ७, २०८२

  • 331
    Shares
  • 331
    Shares
  • भैरहवा, ७ पुस । मानिस खुसी हुने एउटै उपाय ध्यान नै भएको एक कार्यक्रमका सहभागीले बताएका छन् । उनीहरुले योग/ध्यान गर्दा मन शान्ति र खुसी हुने बताएका हुन् ।

    विश्व ध्यान दिवसको अवसरमा द आर्ट अफ लिभिङ्ग आश्रम भैरहवा, रुपन्देहीले आइतबार सिद्धार्थनगर नगरपालिका–९ स्थित नेपाल नालन्दा आवासीय माध्यमिक विद्यालयमा आयोजना गरेको सामूहिक ध्यान कार्यक्रममा सहभागीले ध्यान गर्ने व्यक्तिहरु खुसी हुने र खुसी व्यक्तिले समाजमा समस्याको सिर्जना नगर्ने बताए ।

    कार्यक्रममा बोल्नुहुँदै लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले ध्यानका माध्यमबाट ज्ञान प्राप्त सकिने बताउनुभयो । उहाँले मनलाई एकाग्र नगराइकन कुनै पनि क्षेत्रमा सफल हुन नसकिने धारणा राख्नुभयो । मन्त्री पाण्डेयले सबै कुरा हुँदाहुँदै मानिस डिप्रेसनमा जानुको कारण मनलाई एकाग्र बनाउन नसक्नु रहेको बताउनुभयो । उहाँले लक्ष्य प्राप्त गर्न एकाग्र हुनुपर्नेमा जोड दिनुभयो । ‘जन्मिदै हाम्रो डाईरेक्सन तय भएको छ । तर, कहाँसम्म जाने हो त्यो ध्यान, एकाग्रताले लक्ष्य प्राप्त गर्न सक्छौं । आफ्नो पेशामा पनि एकाग्रता आवश्यक छ । मन विचलित गर्नुहुँदैन ।’

    त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले योग/ध्यानले सबैलाई फाइदा पुग्ने बताउनुभयो । उहाँले ध्यानले सकारात्मक सोचको विकास गर्ने बताउनुभयो । नगरप्रमुख खाँले पढाइमा केन्द्रीत हुन विद्यार्थीलाई योग÷ध्यानको अझ धेरै महत्व रहेको बताउनुभयो ।

    नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलिप भट्टराईले मनको शान्तिका लागि ध्यान आवश्यक रहेको बताउनुभयो । ‘हामी जति एकाग्र हुन्छौं र ध्यान गर्छौं, त्यति नै ईश्वरको स्वरुपलाई नजिक पाउँछौं, ’उहाँले भन्नुभयो ।’

    स्वामी देवदत्त बह्माचार्यले मानिस खुसी हुने एउटै उपाय ध्यान भएको बताउनुभयो । उहाँले ध्यान गर्ने मानिस खुसी हुने र खुसी मानिसले समस्याको सिर्जना नगर्ने बताउनुभयो । ‘जति ध्यान गर्छौं, हामी त्यति खुसी हुन्छौं, खुसी हुनु छ भने ध्यान गर्नुस्, ’उहाँले भन्नुभयो । विश्वमा सबै समस्याको समाधान ध्यान भएको उहाँले दावी गर्नुभयो ।

    नेपाल नालन्दा आवासीय माध्यमिक विद्यालयका प्राचार्य युवराज पोख्रेलले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

    IMG_3063.JPG

    कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षकशिक्षिका, स्थानीय, उद्योगी–व्यवसायी तथा सर्वसाधारण गरी एकहजार जनाको सहभागीता रहेको कार्यक्रम संयोजक दीपेन्द्र प्रधानले बताउनुभयो ।

    कार्यक्रममा भारतको बैंग्लोरबाट आउनुभएका स्वामी देवदत्त बह्माचार्यले ध्यान गराउनुभएको प्रशिक्षक मंगल भण्डारीले बताउनुभयो । वर्तमान समयमा युवाहरुमा भविष्यप्रतिको बढ्दो नैराश्यता एवं नकारात्मक सोचलाई सकारात्मकतातर्फ अगाडी बढाउन ध्यान नै सशक्त माध्यम हुनेछ भन्ने अभिप्रायले ‘वैश्विक शान्ति र सद्भावका लागि ध्यान’ भन्ने नाराका साथ कार्यक्रम गरिएको भण्डारीले बताउनुभयो । नेपाल ध्यान तथा अध्यात्मको उद्गमस्थल भएको उहाँको भनाइ छ ।