शनिवार , पौष ५, २०८२
दीपक घिमिरे
रुपन्देही, ५ पुस । सरकारले बनाएको कानुनलाई अटेर गर्दै कपिलबस्तुका केहि इटा उद्योगले इटा पोल्न थालेका छन्।
औद्योगिक तथा लगानी प्रबद्र्धन बोर्डले ईट्टा उद्योगबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण तथा कामदारको स्वास्थ्यलाई ध्यानमा राख्दै पुष मसान्त पछि मात्रै इटा पोल्न निर्देशन गरेपनि त्यसको उल्लघन गर्दै इटा पोल्न शुरु गरेका छन् ।
कपिलबस्तुमा रहेका एक सय १० बढी इटा उद्योग मध्ये दुईवटा उद्योगले सरकारको निर्णय विपरित इटा पोल्न शुरु गरेका हुन् । वातावरणीय प्रदुषण न्युनीकरण र कामदारको स्वास्थ्यलाई ध्यानमा राख्दै पुष मसान्तपछि मात्रै इटा पोल्न निर्देशन गरेपनि त्यसको उल्लघन गर्दै पुष शुरु हुनु पुर्व नै इटा पोल्न थालेका हुन् ।
कपिलवस्तुको महाराजगंज नगरपालिकामा रहेको एनआरएस ईट्टा उद्योग र पचेहरीमा रहेको जय महाकाली ईट्टा उद्योगले बोर्डको निर्णयको अवज्ञा गरेका हुन् ।
२०८१ कार्तिक ३० गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको अध्यक्षतामा बसेको औद्योगिक तथा लगानी प्रबद्र्धन बोर्डको २४३ औं बैठकले इटा पोल्ने कार्य पुष मसान्तपछि मात्र शुरु गर्न निर्देशन दिएको थियो ।
बोर्डले उद्योग दर्ता गर्ने निकायहरूलाई त्यस सम्बन्धी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको थियो । तर, नियामक निकायले भने कुनै चासो दिएको छैन् । कपिलबस्तुमा रहेको घरेलु तथा साना उद्योग कार्यालयले नियम विपरित उद्योग चलाउने उद्योगीलाई कार्वाही गर्न नसक्दा एकातर्फ प्रदुषण फैलेनी त्रास बढेको छ भने मजदुरको स्वास्थ्यमा असर पर्ने देखिन्छ ।
नेपाल इटा उद्योग व्यवसायी महासंघका सहसचिव बाबुराम पाठकले पुस मसान्त अघि भट्टामा आगो नलागाउने स्पष्ट नीति हुँदा पनि उक्त निर्णय अवज्ञा गर्नेहरु सरकारी स्तरबाटै दण्डित हुनुपर्ने बताउनुभयो । उहाँले सरकारको निर्णय कार्यन्वयन गराउन सबैले भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो ।
तराईका जिल्लाहरुमा जाडो याममा वायु प्रदूषणको मात्रा उच्च हुने हुँदा त्यसलाई नियन्त्रण गर्न र उद्योगका कामदारहरूको स्वास्थ्यमा जोखिम उत्पनन हुन सक्ने भन्दै पुष मसान्तपछि मात्रै इटा पोल्न निर्देशन दिएको थियो ।
एनआरएस ईट्टा उद्योगका सञ्चालक पशुपति अर्यालले नियमको पालना गर्न आफूहरू प्रतिबद्ध रहेपनि सरकारले कुनै आधिकारिक सूचना नपठाएकाले उद्योग सञ्चालन गरेको बताउनुभयो । उहाँले बैंकहरुको व्याज, मजदुरहरुको रोजीरोटी जोगाउनका लागि पुष महिनामै उद्योग सञ्चालन गर्नु परेको बताउनु भयो ।
उद्योगीहरुको अटेरीका कारण सरकारी निर्णय कार्यन्वयनमा समस्या देखिएको छ । घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका वरिष्ठ उद्योग अधिकृत सन्तोष खनालले सरकारको निर्णय उल्लंघन गर्ने उद्योगलाई तत्काल अनुगमन गरी कानुनबमोजिम कारबाही गर्ने बताउनु भयो । सरकारले दिएको निर्देशन कार्यन्वयन गर्ने हाम्रो पहिलो दाहित्व हो, खनालले भन्नुभयो –हामी निर्णय कार्यन्वयन गराउने सन्दर्भमा कठोर भएर लाग्छौं ।
उद्योगको निर्णय उल्लंघन गर्ने यस्ता उद्योगहरूलाई तत्काल अनुगमन गरी कानुन बमोजिम कारबाही गर्न सरोकारवालाहरूले समेत माग गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij