२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

चालू पूँजी कर्जामा राष्ट्र बैंक लचिलो बन्नुपर्नेमा जोड

शुक्रवार , पौष ४, २०८२

  • 766
    Shares
  • 766
    Shares
  • भैरहवा, ४ पुस । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले भैरहवामा लुम्बिनी प्रदेशमा चालू पूँजी कर्जाको प्रभावकारिता विषयमा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

    छलफल तथा अन्तरक्रिया कार्यक्रममा उद्योग–व्यवसायीका प्रतिनिधि, चालू पूँजी कर्जा उपभोग गरेका व्यवसायी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी तथा लेखापरीक्षकहरुको सहभागीता रहेको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाले जनाएको छ ।

    कार्यक्रममा राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक रमेश आचार्यले चालू कर्जा पूँजी लगानी मार्गदर्शनमा व्यवसायीहरु गुनासाहरुका विषयमा छलफल तथा सुझाव संकलन गर्ने कार्य भएको बताउनुभयो । उहाँले चालू पूँजी कर्जा लगानीको उपभोग र थप प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया गरिएको जानकारी दिनुभयो । छलफलले नेपाल राष्ट्र बैंकलाई नीतिगत कार्यमा समेत सहयोग पुर्याउने निर्देशक आचार्यको भनाइ थियो ।

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले चालू पूँजी कर्जालाई लचिलो बनाउनुपर्ने भन्दै व्यवसायीहरुको पक्षमा नीतिगत निर्णय गर्न आग्रह गर्नुभयो । उहाँले बैंकहरुको नीतिगत अस्पष्टताका कारण उद्योगी–व्यवसायीहरु, पर्यटन तथा  होटल र उत्पादन क्षेत्रका उद्योगहरुले सहज कर्जा प्राप्त नगर्दा अर्थतन्त्र सुस्ताउँदै गएको बताउनुभयो। देशको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी–व्यवसायीहरुलाई सहज कर्जा प्रभाव गरी आर्थिक समृद्धिका राष्ट्र बैंकले भुमिका खेल्नुपर्ने अध्यक्ष शर्माले सुझाव दिनुभयो ।  

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले नेपाल राष्ट्र बैंकको चालू पूँजी कर्जा लगानीमा कडाइ गर्दा उद्योगी–व्यवसायी धरापमा परेको भन्दै यसलाई सरल बनाउनुपर्ने बताउनुभयो । उहाँले देशले खोजेको र उद्योगी–व्यवसायीको पक्षमा सकारात्मक सहयोग पुग्ने प्रकारले चालू पूँजी कर्जा लगानी मार्गदर्शनलाई संशोधन गर्न सुझाव दिनुभयो ।

    संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले नेपालको अर्थतन्त्र शिथिल बताउनमा नेपाल राष्ट्र बैंकको चालू पूँजी कर्जा लगानी मार्गदर्शनले अवरोध गरेको बताउनुभयो । राष्ट्र बैंकको कर्जा प्रवाहमा जटिलता हुँदा देशमा अहिले १ लाख ५० हजार भन्दा बढी उद्योगी, व्यवसायी कालोसूचीमा परेको उहाँको गुनासो छ । उहाँले चालू पूँजी कर्जा लगानी मार्गदर्शनलाई व्यापक रुपमा संशोधन गर्नुपर्ने भन्दै यसैका कारण धेरै उद्योगी–व्यवसायी तनावमा भएको बताउनुभयो । 

    ‘चालू पूँजी कर्जा लगानी मार्गदर्शन हाम्रो माटो सुहाउँदो हुनुपर्छ । श्रेष्ठले भन्नुभयो–‘नेपाल राष्ट्र बैंक कर्जा प्रवाह सम्बन्धी परिभाषालाई बैंकहरुले आफूअनुकुल फरक–फरक व्याख्या गर्दा उद्योगी–व्यवसायी समस्या परेका छन् ।’ 

    बैंकहरुले उद्योगी–व्यवसायीलाई फकाई–फकाई कर्जा प्रदान गर्ने र पछि विभिन्न बहाना बनाएर तनाव दिने प्रवृत्ति नेपालमा रहेको भन्दै यसका अन्त्य हुनुपर्ने माग श्रेष्ठको माग छ ।

    नेपालमा पछिल्लो समय चालु पूँजी कर्जा लगानी मार्गदर्शनका कारण देशमा अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव परेपछि उद्योगी–व्यवसायी तथा अर्थविदहरुले विरोध जनाउँदै आएका छन् । यसको संशोधन र लगानीमैत्री हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।