२०८२, पौष ३ गते

Dec 18 2025 | २०८२, पौष ३ गते

प्रवासी नेपाली एकता समाज युएईले पृथ्वी जयन्ती मनाउँदै

बिहिवार , पौष ३, २०८२

  • 499
    Shares
  • 499
    Shares
  • भैरहवा, ३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भातृ संगठन प्रवासी नेपाली एकता समाज युएईले पृथ्वी जयन्ती मनाउने भएको छ । समाजले यही पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाउने राप्रपाका केन्द्रीय सदस्य तोयानाथ लम्सालले बताउनुभयो ।

    नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस प्रत्येक वर्ष नेपाली मन–मस्तिष्कमा विशेष महत्वका साथ स्मरण गरिदै आएको लम्सालले बताउनुभयो । ‘यही गौरवमय अवसरमा प्रवासी नेपाली एकता समाज युएईले यस वर्ष पनि संयुक्त अरब इमिरेट्स (दुबई) मा रहनुभएका सम्पूर्ण नेपालीलाई एकताबद्ध गर्दै श्रद्धा, सम्मान र राष्ट्रिय चेतनासहित जन्मजयन्ती तथा एकता दिवस मनाउने निर्णय गरेको छ, ’उहाँले भन्नुभयो ।

    युएईमा रहेका हजारौं नेपाली श्रमिक, व्यवसायी, पेशाकर्मी तथा बुद्धिजीवीहरूका लागि पृथ्वीनारायण शाहको जन्मजयन्ती केवल औपचारिक कार्यक्रम मात्र नभइ आफ्नो पहिचान, गौरव र एकताको स्मरण गर्ने अवसर भएको उहाँको भनाइ छ । यही भावनालाई आत्मसात गर्दै प्रवासी नेपाली एकता समाज युएईले यस दिवसलाई अझ अर्थपूर्ण बनाउने उद्देश्य लिएको लम्सालले बताउनुभयो ।

    केन्द्रीय सदस्य लम्सालका अनुसार कार्यक्रममार्फत पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सहयोगको सन्देश प्रवाह गरिनेछ । विभिन्न वक्ताहरूले पृथ्वीनारायण शाहको जीवन, योगदान र आजको सन्दर्भमा उहाँका उपदेशहरूको महत्वमाथि प्रकाश पार्ने उहाँले बताउनुभयो । साथै प्रवासी नेपाली समुदायबीच आपसी समझदारी, एकता र सहकार्यलाई थप मजबुत बनाउने संकल्प व्यक्त गरिने उहाँले बताउनुभयो ।

    प्रवासी नेपाली एकता समाज युएई सधैं नेपालीहरूको हक–हित, पहिचान र संस्कृतिको संरक्षणमा क्रियाशील रहँदै आएको लम्सालले बताउनुभयो । 

    प्रवासी नेपाली एकता समाज युएईद्वारा आयोजना गरिने यस कार्यक्रमले नेपालप्रतिको माया, जिम्मेवारी र एकताको भावना अझ प्रगाढ बनाउने विश्वास लिइएको उहाँले बताउनुभयो । ‘मातृभूमिबाट टाढा रहे पनि राष्ट्रनिर्माताको आदर्शलाई हृदयमा राख्दै एकताबद्ध भएर अघि बढ्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ, ’उहाँले भन्नुभयो । कार्यक्रममा उपस्थित भइदिन युएईमा रहेका सम्पूर्ण नेपालीलाई समाजले आग्रह गरेको छ ।

    कार्यक्रम २०८२ पुस २७ (११ जनवरी २०२६) मा सिल्भर स्पोन रेष्टुरेण्ट सभा हलm वर दुबईमा दिउँसो ४ बजेदेखि सुरु हुने आयोजकले जनाएका छन् ।