२०८२, पौष ३ गते

Dec 18 2025 | २०८२, पौष ३ गते

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार पठाइयो दुईवटा हात्ती

बुधवार , पौष २, २०८२

  • 400
    Shares
  • 400
    Shares
  • भैरहवा, २ पुस । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईवटा हात्ती कतार पठाइएको छ । बुधबार कतार एयरवेजको विशेष कार्गो विमानबाट हात्ती कतारको राजधानी दोहा पठाइएको हो ।

    विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले हात्ती लिएर विमान बुधबार बेलुकी ५ः३० बजे कतारका लागि उडेको जानकारी दिनुभयो ।

    quatar cargo.jpg

    कतारका अमिर हिज हाइनेस शेख तामिम बीन हमाद बीन खलिफा अलथानीले २३–२४ अप्रिल २०२४ मा नेपालको राजकीय भ्रमण गर्नुभएको थियो । कतार सरकारले समयसमयमा गरेको औपचारिक अनुरोधलाईसमेत सम्मान गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपाली जनताकोतर्फबाट कतारका हिज हाइनेस अमिर र कतारी जनतालाई उपहारस्वरुप एक जोडी हात्ती प्रदान गर्ने घोषणा गर्नुभएको वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

    विभागका अनुसार उक्त घोषणा कार्यान्यवनका क्रममा नेपाल सरकार, मन्त्रीपरिषद्को २०८१ कार्तिक २ गतेको निर्णयअनुसार एक जोडी हात्ती कतार सरकारलाई उपहार प्रदान गरिएको हो ।

    यी हातीहरु कतारस्थित अलखोर पार्कको चिडियाखानामा रहनेछन् । नेपालकोतर्फबाट एक प्राविधिक टोलीले अलखोर पार्कमा हात्ती राख्ने स्थल र अन्य व्यवस्थापकीय पक्षहरुको अध्ययन गरी प्राप्त प्रतिवेदन एवं नेपाल पक्षराष्ट्र रहेका सम्बन्धित अन्तर्राष्ट्रिय अभिसन्धी र राष्ट्रिय कानूनहरुको परिधिभित्र रही उक्त हातीहरु हस्तान्तरण गरिएको विभागले जनाएको छ ।

    हस्तान्तरण गरिएका हात्तीहरु खगेन्द्र प्रसाद (६ वर्षको भाले हात्ती) र रुद्रकली (७ वर्षको पोथी हात्ती) चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको खोरसोरस्थित हात्ती प्रजनन् केन्द्रमा जन्मिएका थिए । हात्तीहरुको साथमा दुईजना माहुत र एकजना पशु प्राविधिक समेत कतार गएका छन् । उनीहरुले करिब एक महिनासम्म हात्तीहरुको खानपान र स्याहारसुसारको विषयमा अलखोर चिडियाखानामा रही काम गर्नेछन् ।

    वन्यजन्तु सम्बन्धी अन्तर्राष्ट्रिय कानून एवं नेपालको प्रचलित कानूनबमोजिम साइटिस प्रमाणपत्र, स्वास्थ्य सम्बन्धी प्रमाणपत्र जारी गर्ने लगायतका आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी कतार पठाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बुधबार जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

    पराराष्ट्र मन्त्रालयका सह–सचिव रामकाजी खड्काले नेपाल र कतारबीच सुमधुर सम्बन्ध कायम रहीआएको बताउनुभयो । उहाँले नेपाल–कतारबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र विश्वसनीय बनाउने सिलसिलामा उपहार प्रदान गरिएको बताउनुभयो । कतारले बिहीबार आफ्नो राष्ट्रिय दिवस मनाइरहेको र उक्त दिवस समारोहमा नेपालबाट लगिएका हात्ती त्यहाँ रहेका नेपालीले पनि हेर्न पाउने बताउनुभयो । हात्ती इतिहास, संस्कृति र इको–सिस्टमको महत्वपूर्ण पाटो भएको उहाँको भनाइ छ ।

    नेपाल सरकारका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले हात्ती नेपाली नागरिकका लागि मुटुको टुक्रा जस्तै भएको बताउनुभयो । नेपालले इतिहासमा पहिलोपटक हात्ती उपहार प्रदान गरेको उहाँले बताउनुभयो ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलले दुईवटा हात्तीले नयाँ घर (कतार) मा अझ हेरचाह पाउने विश्वास व्यक्त गर्नुभयो ।

    हात्ती हस्तान्तरण कार्यक्रममा पराष्ट्र मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाली सेना, नेपालस्थित कतारको राजदूतावासका प्रतिनिधि, चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, प्राकृतिक विज्ञान संग्रहालय, रुपन्देही जिल्लाका सरकारी अधिकारी लगायतको उपस्थिति थियो । कार्यक्रमका वक्ताहरुले हात्ती जस्तै नेपाल–कतारको सम्बन्ध बलियो भएको बताउनुभएको थियो ।