२०८२, पौष १ गते

Dec 16 2025 | २०८२, पौष १ गते

मदिरा व्यवसायी संघ भैरहवाद्वारा रक्तदान, ३१ यूनिट रगत संकलन

मंगलवार , पौष १, २०८२

  • 916
    Shares
  • 916
    Shares
  • भैरहवा, १ पुस । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । संघले मंगलबार सिद्धार्थनगर नगरपालिका–६ स्थित गल्लामण्डी (पिपरहिया चोक)मा उक्त कार्यक्रम गरेको हो ।

    संघको साधारणसभा तथा अधिवेशनको पूर्वसंध्यामा वार्षिक कार्ययोजनाअन्तर्गत कार्यक्रम गरिएको कार्यक्रम संयोजक उमनाथ पोखरेलले बताउनुभयो । 

    नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३१ यूनिट रगत संकलन भएको मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष बाबुराम पाण्डेले बताउनुभयो । संघले व्यवसायीको हकहितसँगै सामाजिक कार्यहरु पनि गर्दै आएको उहाँले बताउनुभयो । 

    कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका कोषाध्यक्ष तथा मदिरा व्यवसायी संघ भैरहवाका वरिष्ठ सल्लाहकार खिमबहादुर खत्रीले मदिरा व्यवसायी संघले स्थापनाकालदेखि सामाजिक कार्यलाई निरन्तरता दिदै आएको बताउनुभयो । उहाँले रक्तदान जीवनदान भएकोले सबै संघ–संस्थाहरुले यस्ता कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिनुभयो ।

    स्वस्थ व्यक्तिले प्रत्येक ३–३ महिनामा रक्तदान गर्न सक्ने उहाँले बताउनुभयो । रगतको अभावमा कसैको पनि ज्यान जाने अवस्था आउन नदिन आफूले सँगै अरुलाई पनि रक्तदान गर्न प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ छ ।

    संघका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले संस्थाको स्थापनाकालदेखि राहत वितरण, रक्तदान लगायत विभिन्न कार्यक्रम गरिएको बताउनुभयो । रगतको अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । संघका महासचिव यादव पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    मदिरा व्यवसायी संघ भैरहवाको पाँचौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन यही पुस ४ गते शुक्रबार भैरहवामा हुने वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डेले जानकारी दिनुभयो ।