शनिवार , मंसिर २७, २०८२
भैरहवा, २७ मंसिर । जनता समाजवादी पार्टी (जसपा), नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा दुईदिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पार्टीको स्कूल तथा प्रशिक्षण विभागको सहकार्यमा बिहीबार र शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनीमा कार्यक्रम भएको जसपा नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम अवतार यादवले बताउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, जिल्ला समिति अध्यक्ष, पदाधिकारी, जनवर्गीय संगठनका अध्यक्ष, युवाहरु लगायतको सहभागीता थियो ।
राष्ट्रिय राजनीतिक र आर्थिक दर्शन, सिद्वान्त र अभ्यास सम्बन्धी विस्तृत जानकारी प्रदान, राष्ट्रिय सन्दर्भसँग तुलना गर्दै पार्टीको आदर्श, नीति तथा कार्यक्रममाथि विश्लेषणात्मक छलफल, नेतृत्व र संचार सीपको विकास र आगामी निर्वाचनलाई प्रभावकारी बनाउन ज्ञान र सीप अभिवृद्धि गर्नु कार्यक्रमको उद्देश्य रहेको जसपा नेपालले जनाएको छ ।
‘यो कार्यक्रम निर्वाचन लक्षित र नेता–कार्यकर्ताको क्षमता अभिवृद्धि केन्द्रीत थियो, प्रदेश अध्यक्ष यादवले भन्नुभयो–‘पार्टीको भावी रणनीति बनाउने विषयमा पनि केन्द्रीत रहेको थियो ।’ जनताका मुद्दालाई कसरी स्थापित गर्ने र देशमा व्याप्त विकृति, विसंगति कसरी हटाउन सकिन्छ भन्ने विषयमा पनि छलफल भएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
यो प्रशिक्षणले सशक्त र वैचारिक हिसाबमा प्रभाव पार्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । मधेश विद्रोहदेखि अहिलेसम्म भएका उपलब्धी र गर्न बाँकी कार्यहरुबारे जनतामाझ पुर्याइने उहाँको भनाइ छ ।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, पार्टीको स्कूल तथा प्रशिक्षण विभाग प्रमुख सुरेश मण्डल, सचिव चन्देश्वर सदा र विभाग सदस्य भगवती सुवेदीले सहजीकरण गर्नुभएको थियो ।
प्रशिक्षणमा सहभागी जसपा नेपालका केन्द्रीय सदस्य तथा रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij