२०८२, पौष २९ गते

Jan 13 2026 | २०८२, पौष २९ गते

महाधिवेशनमा हारे पनि एमालेमै रहन्छौँ : ईश्वर पोखरेल

बुधवार , मंसिर २४, २०८२

  • 934
    Shares
  • 934
    Shares
  • काठमाडौं, २४ मंसिर । नेकपा (एमाले)का वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टी महाधिवेशनमा पराजित भएपनि आफूहरु सधैं एमाले भएर रहिरहने बताउनुभएको छ । 
    पार्टीको आसन्न ११ औं महाधिवेशनमा अध्यक्षको उम्मेदवार घोषणा गर्नुभएका उहाँले प्रतिष्पर्धामा जानेहरुले पराजयलाई पनि स्विकार गरेर अघि बढ्ने मानसिकता बनाउनुपर्ने कुरामा आफूहरु सचेत रहेको समेत स्पष्ट पार्नुभयो ।

    बुधवार आफ्नो समूहको तर्फबाट आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आफूहरुले पराजय भोग्नुपरे पनि माधव नेपाल, भीम रावलहरुको जस्तो नयाँ छुट्टै पार्टी खोलेर जाने दृष्टान्त लागू नहुने समेत बताउनु भयो । उहाँले महाधिवेशनमा आफूहरु विजय हुने विश्वास व्यक्त गर्दै पराजय भएपनि एमाले नै भएर काम गर्ने कुरामा किञ्चित तलमाथि नहुने बताउनु भयो । 

    वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, एउटा समस्या हामीमा के छ भने प्रतिष्पर्धा गर्न तत्पर हुने तर प्रतिष्पर्धाबाट प्राप्त हुने परिणामलाई स्वीकार गर्न नसक्ने । यो राजनीतिक संस्कारका रहेको कमजोरी हो । हामी दृढतापूर्वक के कुरामा उभिन्छौँ भने प्रतिष्पर्धा गरिन्छ भने त्यसको परिणामलाई स्वीकार गरिन्छ । हामी जित्दा मात्रै खुशी हुने होइन ।

    जित्न नसक्दा पनि त्यसलाई स्वीकार गर्नुपर्छ । प्रतिस्पर्धामा जानेहरुले यो मानसिकता बनाउनु पर्दछ भन्ने कुरामा हामी सचेत छौँ । त्यसकारण यसमा के हुन्छ होला । एउटा दृष्टान्त बनेको छ भीम रावल जी र माधव नेपालजीको कुरा । त्यस्तो दृष्टान्त हाम्रो हकमा लागू हुँदैन । हामी प्रतिस्पर्धा गर्छौ ।

    प्रतिस्पर्धा गरेर विजय प्राप्त गछौ भन्ने हाम्रो विश्वास छ । यदि त्यस्तो कुरा भएन भने पनि हामी नेकपा एमाले भएर नेकपा एमालेको पक्षमा नेकपा एमाले भएर सधैं रहिरहन्छौ । यसमा किञ्चित पनि तलमाथि हुँदैन ।’

    वरिष्ठ नेता पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व भन्दा पनि कार्यशैलीप्रति आफूहरुको प्रश्न रहेको पनि बताउनु भयो ।