शुक्रवार , मंसिर १९, २०८२
भैरहवा, १९ मंसिर । रुपन्देहीको मायादेवी गाउँपालिका–१ स्थित भानुभक्त कृषि सहकारी संस्थाले मल वितरणमा अनियमितता गरेको भन्दै कृषकहरुले गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।
संस्थाले मल वितरण कार्यमा गरेको कमीकमजोरीबारे जानकारी गराउँदै आश्यक कारवाहीको माग राख्दै स्थानीय किसानहरुले मंगलबार गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीलाई ज्ञापनपत्र बझाएका हुन् ।
स्थानीय युवा किसान रामअवतार यादवले सहकारी संस्थाले सामानहरुले मल वितरण नगरी आफुखुसी व्यक्ति अनुसारको मल वितरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सहकारी संस्थालाई जिम्मेवारी दिइएको टोलमा कहिलेकाही मात्र मल वितरण गरेको छ । वितरण गर्दा पनि आफ्ना नजिक तथा नातागोतामा वितरण गरेको छ । गाउँपालिकाले निर्धारण गरेको मूल्यभन्दा बढी लिएको छ ।’
संंस्थाले गाउँपालिकाको नियम उल्लंघन गरी किसानहरुबाट बढी मूल्य असुल गर्ने उक्त सहकारीलाई कारवाहीको समेत माग गरिएको छ । ५७ जनाले संयुक्त हस्ताक्षर गरिएको उक्त ज्ञापनपत्रमा गाउँपालिकाबाट निर्धारण गरिएको मूल्यभन्दा १ सय ५० रुपैयाप्रति बोराले बढी रकम उठाएको छ ।
गाउँपालिकाले निर्धारण गरेको युरियाको मूल्य ८ सय ५० रुपैयाँ हो । तर, संस्थाले १ हजार रकम उठाई ९ सयको मात्र रसिद दिएको पत्रमा उल्लेख छ । त्यसै गरी डिएपीको लागि गाउँपालिकाले २३ सय रुपैयाँ निर्धारण गरे पनि संस्थाले २ हजार ५ सय रुपैयाँसम्म किसानहरुबाट असुल गरेको पत्रमा उल्लेख छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij