२०८२, मंसिर १८ गते

Dec 04 2025 | २०८२, मंसिर १८ गते

कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा राकेश यादव निर्णायकको भूमिकामा

बिहिवार , मंसिर १८, २०८२

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, १८ मंसिर । मंसिर १५ गतेदेखि सुरु भइ २० गतेसम्म सञ्चालन हुने १३ औं कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका अन्तर्राष्ट्रिय निर्णायक राकेश यादव निर्णायकको भूमिकामा रहनुभएको छ ।

    रुपन्देहीको ओमसतिया गाउँपालिका स्थायी ठेगाना भएका यादवले वि.सं २०५६ देखि तेक्वान्दो खेलमा आबद्ध भइ विभिन्न तेक्वान्दो प्रतियोगितामा खेलाडी प्रशिक्षक हुँदै सन् २०२४ देखि अन्तर्राष्ट्रिय निर्णायकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । 
    भैरहवामा क्रियटिभ तेक्वान्दो डोजाङ समेत सञ्चालन गरिरहनुभएका यादव नेपाल  तेक्वान्दोका छैठौं डान हुनुहुन्छ ।

    यादव कृषि विकास बैंक लिमिटेडका कर्मचारी समेत रही बैंकिङ क्षेत्रमा व्यस्त हुनुहुन्छ । उहाँले खेल यात्रालाई सफलता साथ अगाडि बढाएको देखेर युवा माझ प्रेरणाको स्रोत बन्न सफल हुनुभएको खेलाडीहरु बताउँछन् ।

    नेपालस्थित दक्षिण कोरियाली दुताबास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा सातदोबाटो, ललितपुरस्थित तेक्वान्दो एकेडेमी भवनमा १३ औं तेक्वान्दो प्रतियोगिता-२०२५ को आयोजना भएको हो ।

    नेपाल तेक्वान्दो संघ र दक्षिण कोरियाली दुताबासको संयुक्त आयोजनामा सन् २००३ मा प्रथम कोरियन एम्बेसडर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता उत्साहका साथ आयोजना भएको थियो । 

    प्रत्येक दुई वर्षमा हुने यस प्रतियोगिताका विगतका सबै संस्करणहरुमा उत्साहजनक सहभागीता र सफलताका साथ सम्पन्न भएको थियो । विगतका प्रतियोगिताहरुको राष्ट्रपतिलगायत अतिविशिष्ट व्यक्तित्वबाट उद्घाटन तथा अवलोकन भएको थियो । 

    प्रथम संस्करणदेखि नै खेलाडीबीच निकै लोकप्रिय र सर्वाधिक रुचाइएको प्रतियोगिताका रुपमा स्थापित हुन सफल भएको यो प्रतियोगितामा छिमेकी मुलुकबाट पनि सहभागीताका लागि बारम्बार अनुरोध भएकाले सोहीबमोजिम आसन्न १३ औं कोरियन एम्बेसडर तेक्वान्दो प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश र भुटानका टीमहरु पनि सहभागी हुनेछन् ।

    नेपाल लगायत पाँच मुलुकको सहभागीता रहेको यस प्रतियोगितामा नेपालका ७ वटै प्रदेश, ३ वटै विभागीय टीम र  छिमेकी मुलुक समेत गरी जम्मा १ हजार ५ सय ३० जना ग्यरोगी, पुम्से तथा पारा तेक्वान्दो विधाका खेलाडीहरुका सहभागीता रहेको छ । प्रतियोगिता ३ वटा एरिनामा सञ्चालन गरिनेछ ।