२०८२, मंसिर १८ गते

Dec 04 2025 | २०८२, मंसिर १८ गते

अन्तरविद्यालय टी–२० क्रिकेट : लुम्बिनी शिक्षा निकेतन र सिद्धार्थ मेमोरियल विजयी

बिहिवार , मंसिर १८, २०८२

  • 307
    Shares
  • 307
    Shares
  • भैरहवा, १८ मंसिर । लुम्बिनी शिक्षा निकेतन र सिद्धार्थ मेमोरियल रुपन्देहीको भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएका खेलमा विजयी भएका छन् । लुम्बिनी शिक्षा निकेतनले नयाँगाउँ सेकेन्डरी स्कूललाई ६४ रनले पराजित गर्दै जीत निकालेको हो । त्यस्तै सिद्धार्थ मेमोरियलले अक्सफोर्ड स्कूललाई २ विकेटले पराजित गरेको छ ।

    सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी शिक्षा निकेतनले ७ विकेट गुमाएर १ सय ६४ रनको बलियो योगफल बनायो । उसका लागि मोहमद आसिफ खानले ६५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै अलिउद्दिन खानले १४ र मोहमद अजाद खानले ११ रनको योगदान गरे । बलिङमा नयाँगाउँका केशव खनालले ३ तथा सागर भट्टराई र विपिन कुँवरले १–१ विकेट लिए ।

    नयाँगाउँले ८ विकेट गुमाएर एकसय रन मात्रै बनायो र हार व्यहोर्यो । उसका लागि योगेश पोखरेलले २१, विपिन कुँवरले १६, विप्सन विकले १३ र अमृत रानाले ११ रन बनाए । बलिङमा लुम्बिनी शिक्षा निकेतनका सफिउल्लाह खानले २ तथा मोहमद आसिफ खान, तौफिक अहमद, अफताब आलम, बासुदेव यादव र जावेद खानले समान १–१ विकेट हात पारे । मोहमद आसिफ खान प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

    त्यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको अक्सफोर्डले सबै विकेट गुमाउँदै ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गर्यो । उसका लागि आकाश कुमार सिंहले सर्वाधिक २६ रन बनाए । बलिङमा सिद्धार्थका अनुज भुसाल र शिसान पन्थीले ३–३ तथा आकाश आचार्यले २ विकेट हात पारे ।

    जवाफी ब्याटिङ गरेको सिद्धार्थ मेमोरियलले १४ ओभरमा ८ विकेटको नोक्सानीमा ९१ रन बनाउँदै जीत निकाल्यो । उसको जीतमा सुशान्त शाहीले १७ र दीपेश पुनले ११ रनको योगदान गरे । बलिङमा अक्सफोर्डका स्पर्श आचार्यले ३ र सार्थक न्यौपानेले २ विकेट लिए । सिशान पन्थी प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देहीका ३० वटा विद्यालयकोे सहभागीता रहेको प्रतियोगिताको विजेता टीमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक उदय कुमार मल्लिकले जानकारी दिए । त्यस्तै म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुशासित टीमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगिता पुस १ गतेसम्म चल्नेछ । प्रतियोगितालाई पर्वत ज्वेलर्स बैंकरोड, भैरहवाले प्रायोजन गरेको छ ।