मंगलवार , मंसिर १६, २०८२
विगत तीन दशकभन्दा बढी समयदेखि नेपाली वाङ्मयको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका डा. श्यामप्रसाद न्यौपाने खेमराज न्यौपाने र कलावती न्यौपानेका दोस्रो पुत्र हुन् । उनको जन्म वि.सं. २०२४ कार्तिक २५ गते स्याङ्जा जिल्ला, गल्याङ नगरपालिका–४, कुरुम्चेमा भएको हो र नवलपरासीको सुनवल नगरपालिका–१२, भुमहीलाई कर्मथलो बनाई लामो समयदेखि बसोबास गर्दै आएका छन् । नेपाली विषयमा स्नातकोत्तर र भाषा विज्ञान विषयमा विद्यावारिधि उपाधि हासिल गरेका न्यौपानेले एक दर्जनभन्दा बढी कीर्तिहरू प्रकाशन गराई नेपाली साहित्यिक फाँटमा दह्रो पाइला जमाएका छन् । गजल, मुक्तक, खण्डकाव्य, कविता, समीक्षा, लघुकथा र ताङका जस्ता साहित्यका विभिन्न विधा तथा उपविधामा कलम चलाउँदै आएका न्यौपानेले २०४६ सालमा सूर्यमुखी पत्रिकामा ‘स्वतन्त्रता’ शीर्षकमा निबन्ध छपाएर औपचारिक साहित्यिक यात्रा आरम्भ गर्दै २०५९ मा ‘बोली गजबको’ (गजलसङ्ग्रह), २०६२ मा ‘सोह्र दुनी आठ’ (मुक्तकसङग्रह), २०६३ मा ‘झाँसीकी रानी’ (खण्डकाव्य) र ‘फेरि पनि अचम्मको बात’ (गजलसङ्ग्रह), २०६४ सालमा ‘भक्ति थापा’ (खण्डकाव्य) र ‘जोन अफ आर्क’ (खण्डकाव्य), २०६५ मा ‘काँडा र खुर्पाहरू’ (कवितासङ्ग्रह), २०६६ मा ‘कोही सुरक्षित छैन’ (मुक्तकसङ्ग्रह), २०६८ मा ‘रात पुरानै’ (गजलसङ्ग्रह), २०७५ मा ‘आगोका फिलिङ्गाहरू’ (मुक्तकसङ्ग्रह), २०७६ मा ‘समीक्षा कतिपय’ (समालोचनासङ्ग्रह), २०७७ मा ‘माल्विका’ (लघुकथासङ्ग्रह), २०७८ मा ‘हो कि झैँ अलका’ (कवितासङ्ग्रह) र २०० मा ‘अहो ! गान्धारी’ ताङ्का शतकसङ्ग्रह) लोकार्पित भइसकेका छन् । ‘अहो ! गान्धारी’ उनका पछिल्लो समयमा प्रकाशित कीर्ति हो । जापानी साहित्यबाट नेपाली साहित्यमा आयातित कविताको उपविधामा पर्ने पाँच हरफको एक श्लोक हुने ताङ्कामा पहिलो र तेस्रो हरफमा ५÷५ तथा दोस्रो, चौथो र पाँचौं हरफमा ७÷७ अक्षरसहित जम्मा ३१ अक्षरको सूत्रात्मक संरचना हुन्छ । १० ओटा सङ्ग्रहित ताङकाहरू समेटिएको यो लघुकारको कीर्तिको आदिभाग, मूलभाग, अन्तभाग र विचार गरी निष्कर्षसहित अध्ययन गरिएको छ ।
कीर्तिको आदि (अग्र) भागमा कभरपृष्ठसहित २६ ओटा पृष्ठ रहेको छ । कभरपृष्ठको अग्रभागमा कीर्तिको शीर्षक र शीर्षकसँग मेलखाने पौराणिक झलकसहितको तस्बिर दिइएको छ । महाभारतका प्रसिद्ध पात्र धृष्ठराष्ट्रकी पत्नी गान्धारीको चित्र र युद्धको दौरान प्रयोग भएका रथ, तीर आदिको विभत्स दृश्य दिइएको छ । आँखामा पट्टी बाँधिएकी गान्धारी एक राजनीतिक पात्र हुन् जो आफ्नै देशमा भइरहेको अन्याय, अत्याचार, विभेद आदिको प्रतिफलस्वरूप युद्धावस्था देख्न सकेकी छैनन् । यो रङ्गीन दृश्यले राजनीतिक वितण्डा र विकृत रूपलाई प्रतिविम्बित गरेको छ । कभर पृष्ठभित्र शीर्षक र शीर्षकीय चित्रको पुनरावृत्ति, कीर्तिको परिचय, प्रकाशकीय र डा. धनपति कोइरालाद्वारा लिखित भूमिका रहेको छ । पारम्परिक रूपमा लेखिने कीर्तिकारको आफ्नो विचार रहेको छैन । साहित्य परिषद्, नवलपरासीद्वारा वि. स. २०८० मा प्रकाशित यो कीर्तिको मूल्य रु. १५० कीर्तिको आकार र प्रकारअनुसार सुहाउँदो रहेको छ ।
कीर्तिको मूलभागमा विभिन्न विषयहरू प्रस्फुटन हुने गरी १०८ ओटा ताङ्काहरू रहेका छन् । नेपालको राजनीतिक क्षेत्रमा रहेका विकृतिहरू, नेपाली लोकपरम्परा, पौराणिक प्रसंग, श्रृङ्गारिक उद्गार, नेपाली वीरगाथा तथा स्वाभिमान, अध्यात्मिक चिन्तन, सन्देशमूलक व्यवहारिक ज्ञान, सामाजिक विसङ्गति, मातृभूमिप्रतिको प्रेम, कला साहित्यको गुणगान, बेरोजगारीको समस्या, सङ्घर्षमय जीवन, जीवनलीला, अति महत्वाकांक्षी अभिलाषा, सँस्कृतिको संरक्षण, ऐतिहासिक प्रशंसनीय कार्य, प्रकृतिको गुणगान, जलवायु परिवर्तनप्रति चिन्ता, सामन्तविरुद्धमा उद्घोष, राष्ट्रभक्तिपूर्ण भावना, बुद्ध दर्शनको महत्व, भौगोलिक विशेषता, परिश्रमप्रतिको सकारात्मक चिन्तन आदि विषयवस्तुहरूलाई ताङ्काकारले बडो कुशलतापूर्वक शब्दजालमा उनेका छन् ।
कीर्तिको अन्तिम कभरपृष्ठमा स्रस्टाको सङ्क्षिप्त परिचय, उनका प्रकाशित १४ ओटा पुस्तकको शीर्षक तथा प्रकाशन वर्ष र डा. धनपति कोइरालाद्वारा लिखित भूमिकाबाट बधाई ज्ञापनसहितको सानो टिप्पणी साभार गरी राखिएको छ ।
सत्ताप्रातिको लागि जननेता कहलाउँदाहरूले आन्दोलनका नाममा मुलाझैं काटेर जनताको रगत चुस्ने, वस्तुझैं किनबेच भइ राजनीतिक भाँडभैलो गरी देशको स्वतन्त्रतालाई दाउँमा लगाउने, झूठा आश्वासन दिने, आफ्नै दुष्कर्मका कारणले जुत्ताको माला भिर्नुपर्ने, प्रशंसाको भोको अहङ्कारी बानी भएको, जनताको कर दुरूपयोग गरेको, स्वार्थपूर्तिका लागि अविश्वासको खेती गर्ने, राजनीतिबाट अकूत सम्पत्ति कमाएका, राष्ट्रनिर्माण गर्नेलाई अपमान र स्वार्थपूर्ति कार्यमा साथ दिनेलाई सम्मान गर्ने, कुर्सीकै लागि गैरजिम्मेवारी तरिकाले राजनीति गर्दै देशमा युवा शक्तिलाई विदेश पलायन गर्न बाध्य गर्ने, चम्चागिरी गर्नेहरूलाई मात्र प्रश्रय दिने, भ्रमित पारी आमजनतालाई विभिन्न तरिकाले पिर्ने र पुरानो शासकीय प्रणाली परिवर्तन भए पनि बानीबेहोरा ब्वाँसातुल्य भएका देशका शासक तथा राजनेताहरूमाथि ताङ्काकारले शब्दबाणले बेजोड रूपमा प्रहार गरेका छन् । साकेला पर्वमा नाच्ने र आनन्द लिने, संस्कृतिको संरक्षण गर्ने, झाम्रे र ख्याली गाएर गीत घन्काउने आदि प्रसंगहरूको उल्लेख गरी नेपाली लोकपरम्पराको विशेषताहरू ताङ्काकारले यी ताङ्काहरूमा झल्काउने काम गरेका छन् । कृष्णले कालियाको सत्यानाश गरी न्याय गरेको, हनुमान र सुग्रीम जस्तै रामभक्त हुनुपर्ने, षड्यन्त्रकारी शकुनि मामासँग सङ्गत गर्दा कष्ट भोग्नुपर्ने, महत्वाकांक्षी धृतराष्ट्रको स्वभावले छोरालाई नरोक्दा कौरव वंशको नाश भएको, दधिचितुल्य बन्नुपर्ने, शिवको लीलाले दक्षपुत्री सतीले वियोग भोग्नुपर्ने, द्रौपदीको बेइज्जत हुँदा पनि भीष्मजस्तो प्रण लिनु उचित नभएको, भस्मासुर र कंशजस्तो बन्न नहुने आदि पौराणिक मिथक मार्फत अन्यायअत्याचारको विरोध र धार्मिक तथा सत्यमार्गमा हिड्नुपर्ने सन्देश विभिन्न ताङ्काहरुमा ताङ्काकारले कुशलतापूर्वक परिपाकमा पु¥याएका छन् । पृथ्वीनारायण शाह, दामोदर पाण्डे र अभिमानसिंह बस्न्यातले नेपालको एकीकरणमा गरेको योगदान, पुख्र्यौली पुरुषार्थले हाम्रो अस्तित्व उँचो भएको आदि नेपाली वीरगाथाको प्रशंशा ताङ्काकारले विभिन्न ताङ्काहरूमा गरेका छन् ।
मानवमा हुनुपर्ने शान्ति र सद्भाव जस्तो सकारात्मक प्रवृति डाइनोसरझैं विलोप भइरहेको, धर्म संस्कृति भ्रष्ट भइरहेको, चाकरी गर्ने र स्वाभिमानी भएको झूठो गफ हाँक्ने, स्वार्थपूर्ति गर्ने गन्तव्यतिर स्वार्थी साथीहरू लागेको, सामाजिक मूल्य र मान्यता बिर्सेर मानिसहरूले झैंझगडा गर्दै गरेको, अरुको खुट्टा तान्दैमा सफलता प्रात गर्न नसक्ने, मित्रवत् व्यवहारमा झूठोको कुनै स्थान नभएको, नङ र मासु जस्तो सम्बन्ध नभए पहिरोझैं सम्बन्ध भत्किने, वाणी नौनीझैं तर व्यवहार ढुङ्गोजस्तो कठोर कुर्सी तथा शक्तिवालाको भएको, साली र भिनाजुको चञ्चले बानी र व्यवहारले दिदी शङ्कामा बाँच्नुपरेको, जवानीमा ख्याल नगरे खोलामा फस्नुपर्ने, भन्दा एक थोक गर्दा अर्को बेइमानको षड्यन्त्र, गलत गरेपनि नजिककालाई संरक्षण गर्ने, निकृष्ट व्यवहार भएका व्यक्तिलाई साथी बनाउन नहुने, अभावको जीवन पीडादायी हुने, हरेक व्यक्तिको अगाडि पीडा पोख्दा मजाकको पात्र हुनुपर्ने, दीनदुःखीका सपना कहिल्यै पूरा नहुने आदि जस्तै सामाजिक विसङ्गतिहरूप्रति ताङ्काकारले विभिन्न ताङकाहरूमा व्यङ्ग्य कसेका छन् । युवावस्थामा प्रेम हुनु स्वाभाविक भएको, बाँसुरी बजाइ कृष्णले ग्वालिनीहरूलाई आकर्षित गरेकोमा राधा चिन्तित भएकी, जवान भएकी युवतीको आसपासमा युवाहरू झुम्मिनु स्वाभाविक भएको, प्रेमिकासँग भेट नहुँदा प्रेमीमा चिन्ता, मायाप्रेममा कृत्रिमता भएको, यौनास्थामा विपरीत लिङ्गप्रतिको आकर्षण स्वाभाविक भएको आदि विषयवस्तुहरू पौराणिक मिथक, बिम्ब तथा प्रतीकहरू मार्फत ताङ्काकारले आफ्ना ताङ्काहरूमा रसानुभूति गराएका छन् ।
अर्काको विचार बोकी दासत्व जीवन बाँच्नुभन्दा स्वविचारसहित स्वाभिमानी जीवन बाँच्नुपर्ने, करुणा, शान्ति, दया, प्रेम जस्ता बुद्ध दर्शनका आध्यात्मिक चिन्तन जीवनमा अवलम्बन गर्नुपर्ने, आवश्यक परेको बेलामा बोल्ने र देखेर सिक्ने, गरीबीमा आकाशमूनी सडकमा सुत्नेको व्यवस्था हुन नसकेको, अति महत्वाकांक्षी हुँदा सोचेजस्तो नहुने, ज्ञान र विज्ञानको क्षेत्रमा कलाको छुट्टै पहिचान रहेको, कुराको मात्रै खेती गरेर सम्पन्न हुन नसक्ने, जीवनका हरेक रहर पूरा नहुने, जीवन सधैं आफ्नै तरिकाले बगिरहेको, अति महत्वाकांक्षी स्वभावले पौराणिक पात्र मिदासले दुःख पाएको, अभिलेखको सुरक्षाले नै हाम्रो स्वाभिमानी अस्तित्वको रक्षा हुने, व्यर्थको घमण्डमा आफैंले आफ्नै खुट्टामा बन्चरोले नहान्नुहुने, सङ्घर्षको प्रतिफल मिठो भएको, सामथ्र्य हुँदा पनि जानेर निदाएकाहरू जाग्नुपर्ने, हरियो जङ्गलको विनाश गरी मानिसले आफ्नै विनाशको लीला रचेको, मुलुकको सम्झना बोकी विदेशमा काम गर्न बाध्य भएको, प्रकृतिमा रमाउँदा आनन्द नै अर्कै हुने, प्राकृतिक सौन्दर्य हेरेर कविले कवितामा रमाएको, हिमालको चिसो हावाले पुर्खाको गौरव सम्झना गराएको, सङ्घर्षरूपी जीवनमा सुनामी आँउदा पनि पछि नहट्नुपर्ने, पानीको थोपा जस्तै जीवन रहेको आदि विविध जीवन र प्रकृतिका पक्षहरूलाई सामल बनाएर आफ्ना विभिन्न ताङ्काहरूमा ताङ्काकारले बडो कुशलताका साथमा पस्कने कार्य गरेका छन् ।
ताङ्काकारका यी ताङ्काहरूले राजनीतिक र सामाजिक विसङ्गति र विकृतिहरूलाई प्रतीक र बिम्ब आदिकामार्फत् अलाङ्कारिक तरिकाले उजागर गर्दै आम पाठकहरूलाई स्वच्छ र स्वस्थ राजनीतिक एवम् सामाजिक क्रियाकलापहरू अवलम्बन गरी आदर्श समाज र नैतिकताले परिपूर्ण राजनीति स्थापित गर्न आदर्शोन्मुख सन्देश राजनीतिक एवम् समाजिक व्यक्तित्वहरूलाई दिएका छन् । गौरवमय नेपाली लोकपरम्पराको अवलम्बन गरी संरक्षण एवम् संवद्र्धन गर्नुपर्ने, नेपाली वीरगाथामाथि गर्व गर्दै वीरहरूको योगदानलाई स्मरण गर्दै तिनीहरूले बनाएका बाटोमा हिंड्नुपर्ने र पौराणिक पात्रहरूको सकारात्मक पक्षहरूलाई व्यवहारिक जीवनमा आदर्श बनाउनुपर्ने नीति र सिद्धान्त अनुसरण गर्नुपर्ने जस्ता ताङ्काकारका विविध विचारहरूले पाठकहरूलाई मार्गदर्शन दिएका छन् ।
विवेच्य कीर्तिमा कीर्तिकारले प्रचुर मात्रामा प्रतीक तथा बिम्बहरू प्रयोग गरी ताङ्काहरूलाई बेजोड र सबल बनाएका छन् । समुचित तरिकाले प्रशस्त मात्रामा उपमा र रूपक अलङ्कारको प्रयोग गरी कीर्तिकारले ताङ्काहरूलाई पाठकहरूमा प्रभावशाली बनाएका छन् । प्रायः पहिलोसँग तेस्रो तथा चौथो र पाँचौं हरफका बीचमा अन्त्यानुप्रासको सजावटले ताङ्काहरू सुलालित्य र लयात्मकता प्राप्त गरेको छ । यसरी अलङ्कारका दृष्टिले विवेच्य कीर्ति निकै सबल र सशक्त बनेका छन् । प्रशस्त मात्रामा सन्तुलित रूपमा मौलिक शब्द, तत्सम शब्द, तद्भव शब्द, झर्रा शब्द र आगन्तुक शब्दहरूको प्रयोगले ताङ्काहरू सबल र अर्थपूर्ण बनेका छन् । सकरात्मकता, जीवन मूलप्रवृति र लोककल्याणकेन्द्री आचरण र व्यवहारले युक्त प्रस्तुत कीर्ति पठनीय तथा सङ्ग्रहणीय रहेको छ ।
कीर्ति: अहो ! गान्धारी
कीर्तिकार: डा. श्यामप्रसाद न्यौपाने
प्रकाशक: साहित्य परिषद्, नवलपरासी
संस्करण: प्रथम (वि. स. २०८०)
मूल्य: १५०
पृष्ठ: २२+५४
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij